२०७८ चैत्र २४, बिहीबार ०७:३६

स्थानीय तहको चुनाव नजिकिंदै जाँदा राष्ट्रिय पार्टीहरुमा शीर्ष नेताहरुमा मधेश मोह देखिएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफु मधेशकै मान्छे रहेको अभिव्यक्ति दिएको भोलिपल्ट एमालेबाट केही महिना अघि अलग भएको एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बाल्यकालमा आफू मधेशमा भैंसी चराएको स्मरण गरेका छन् । धनुषाको मुरिवामा अहिले पनि बाल्यकालमा संगै भंैसी चराएका साथीहरु जीवितै रहेको बताउँदै अध्यक्ष नेपालले मधेश आफ्नो लागि निकै प्रिय रहेको बताए । यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफुलाई मधेश संग लभ भएको तथा १० वर्षे जनयुद्ध कालमा मधेशको धनुषामै बम बारुद बनाउन सिकेको जस्ता अभिव्यक्ति दिँदै आएका छन् । बुधवार मैथिली विकास कोषले आयोजना गरेको ‘ जनकपुर साहित्य, कला तथा नाट्य महोत्सवमा अध्यक्ष नेपालले विविध संस्कृति र भाषाभाषी मिलेर बनेको नेपाललाई समृद्ध राष्ट्र बनाउन एकताबद्ध प्रयास गर्न आवश्यक रहेको बताए । मैथिली भाषा तथा संस्कृतिको इतिहास ५ हजार वर्ष पुरानो भएकाले यसको विकासका लागि यस्ता प्रकारको महोत्सव महत््वपूर्ण रहेको बताए । अधिकारको प्राप्तिका लागि घृणा नभइ सद्भाव एवं सहकार्यको आवश्यकता रहेको बताए । अध्यक्ष नेपालले आफु प्रधानमन्त्री भएको बेलामा नै विद्यापति कोषको स्थापना गरेको बताउँदै मुलुकको विविधतालाई सही किसिमले व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले भने,‘मैथिली भाषा तथा साहित्यको संमृद्धिका लागि राज्यबाट सहयोग आवश्यक छ ।

त्यसका लागि म पहल गर्छु ।’ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेश सरकारले चाँडै भाषा, साहित्य तथा संस्कृतिको विकासका एवं संरक्षणका लागि मधेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश अध्यक्ष जितेन्द्र सोनल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, योजना आयोगका सदस्य डा. सुरेन्द्र लाभ, भाषाविद् डा. रामावतार यादव , रमेश रञ्जन झा , धीरेन्द्र प्रेमर्षि , वृषेशचन्द्रलाल ,पूर्व मन्त्री महेन्द्र यादव ,जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले मैथिली भाषा तथा साहित्यका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा २१ जना पुरुष वक्ताहरुले धारणा राखेपनि महिला वक्ता भने एक जना पनि देखिएनन् ।

जबकी सम्मेलनमा अत्यधिक सहभागिता र सक्रियता महिलाहरुकै थियो । कार्यक्रममा मैथिली विकास कोषले प्रदान गर्दै आएको डा. धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७७ भाषाविद् डा. रामावतार यादव र सलहेश सांस्कृतिक पुरस्कार २०७७ डा.आभास लाभलाई प्रदान गरिएको छ । त्यसैगरी डा.धीरेन्द्र साहित्य संस्कृति पुरस्कार २०७८ साहित्यकार महेन्द्र मिश्र र सलहेश सांस्कृतिक पुरस्कार २०७८ गायक रामा मण्डललाई प्रदान गरिएको छ । दुबै पुरस्कारको राशि५१ हजार रहेको छ । शुक्रबार सम्म चल्ने महोत्सवको पहिलो दिन विहान स्थानीय रंगभूमि मैदानबाट विभिन्न जात जातजाती तथा भाषाभाषीको झाँकी प्रदर्शन भएको थियो भने कार्यक्रममा गीत,संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

झाँकी प्रदर्शनको क्रममा सखिबहिनपा समूह, मिनाप ,एसएम स्कुल,न्यू लाईफ स्कुल लगायतका विद्यार्थीहरु,ब्रहर्षि समाज तथा ब्रह्म कुमारी योग सेवा केन्द्र ,थारु सभा सप्तरी ,गुरुंग समुदाय सहितका संघ संस्थाहरुले आ–आफ्नो कला र संस्कृति झल्किने पहिरन तथा बाजा गाजाका साथ सहभागी भएका थियो ।

Comment


Related News

Latest News

Trending News