तराई मधेशमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्व अन्तरगत विहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ ।
भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न हुनेछ । सूर्यलाई अर्घ दिएर ब्रतालुले आफ्ना परिवारको सुख, समृद्धि, शान्ति र दीर्घायुको कामना गरेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित भगवती, कल्टु, तुरन्ती, पूर्णी लगायतका पोखरीमा सय भन्दा बढी बनाइएका छठ घाटमा व्रतालुले सूर्यलाई अर्घ दिए । उक्त पूजा घाटहरु श्रृंगारिएर छठी मैयाका गीतले गुन्जिएका छन् । कतिपय व्रतालु अस्ताउँदो सूर्यलाई अर्घ दिन घरबाट घिस्रिएर पूजा घाटसम्म पुगेका थिए । राजविराज ६ की गीता राउत र मुन्नी साह विहीबार घरबाट करिब १ घण्टा दण्ड प्रणाम गर्दै छठ पूजाको घाटसम्म पुगेकी थिइन् ।
सडकमा सुतेर हातले चिनो लगाउँदै गरिने धार्मिक कार्यलाई दण्ड प्रणाम भनिन्छ । राउत र साहले छठी मैयासँग परिवारको सुख, शान्ति र समृद्धिका लागि कामना गर्दै दण्ड प्रणाम सहित पूजाघाट पुगेको सुनाइन् ।कात्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कात्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दै गएको छ । चार दिवसीय चैती छठ पर्वको धार्मिक विधि मंगलबार बाटै सुरु भएको थियो । जसअन्तरगत नहाय खाय, दोश्रो दिन उपवास बसेर राती सखरमा पकाइएको खीर खाएर खर्ना र तेश्रो दिन उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने पूजा विधि सम्पन्न भएको छ ।
चाँैथो दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व विधिवत रुपमा सम्पन्न हुनेछ ।

