उदाउँदो सूर्यलाई अर्घ दिँदै शुक्रबार चैते छठपर्व सम्पन्न हुने भएको छ । यस अघि विहीबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइएको छ ।
सूर्य उपासनाको लागि चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व मधेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ मनाइने गरिएको छ । छठ पर्व धनुषाको जनकपुरधाम स्थित गंगासागर महोत्तरीको जलेश्वरको बरुणसर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास लगायत अन्य शहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुशी नदी तथा नहरको किनारमा सन्ध्या अर्घ दिइएको छ भने शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै यो पर्व सम्पन्न हुनेछ । जलेश्वरनाथ महादेव मन्दिरका पूजारी कालीकान्त झाका अनुसार पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक छठपर्व मनाइने गरिन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन व्रतीले ‘नहा खा’ अर्थात् नुहाएर खाने गर्दछ वा जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन खर्ना विधि गर्ने चलन छ ।
खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राती छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरी राती अरवा अरबाइन (विना नुन हालेको) खानेकुरा खाएका थिए । त्यस्तै तेस्रो दिन साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलिया खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकिया लगायतका पकवान र विभिन्न फलफूल तथा मूला, गाजर, बेसार, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ् लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गरेका छन् । षष्ठीका दिन व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा छ ।
अन्तिम दिन एका बिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रमलाई निरन्तरता दिइ प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।

