अपडेट 
२०७८ चैत्र २६, शनिबार ०७:४५

जनकपुरधाम । प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएको विरोधमा स्वास्थ्यकर्मी, कर्मचारी, जनकपुर नर्सिंग कलेजका विद्यार्थीहरुले जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार स्वास्थ्यकर्मी,कर्मचारी एवम् नर्सिंग कलेजका विद्यार्थीहरुले प्रादेशिक अस्पताललाई अलगै राख्नु पर्ने माग गर्दै मधेश प्रदेशसभा अगाडि सरकार विरुद्ध चर्को नाराबाजी गरेका छन् । यस अघि उनीहरुले विहीबार अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए । प्रादेशिक अस्पतालबाट निस्केको जुलुश नगरको विभिन्न भागको परिक्रमा गर्दै प्रदेशसभा भवन अगाडि धर्ना दिएका थिए । सरकारी चिकित्सक संघ नेपालको अगुवाईमा भएको जुलुश प्रदर्शन गर्नुका साथै प्रदेशसभा एवम् प्रदेश सरकारको ध्यानाकर्षण गराउन तीन सुत्रीय ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्र प्रदेशसभाका सभामुख सरोज कुमार यादव समक्ष बुझाइएको हो । प्रादेशिक अस्पताल जनकपुर र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्टाछुट्टै कायम गर्नु पर्ने तथा प्रतिष्ठानको स्वयम्को अस्पताल नबनुन्जेलसम्मका लागि प्रादेशिक अस्पताल जनकपुरलाई प्रयोगतात्मक कक्षा पठनपाठनका लागि प्रयोग गर्नु पर्ने माग ज्ञापन पत्र मार्फत अघि बढाइएको छ । ज्ञापनपत्र पत्र मार्फत भनिएको छ,‘प्रादेशिक अस्पताल मातहत रहेको जनकपुर नर्सिंग क्याम्पसलाई चरणवद्ध रुपमा जनकपुर बाहिर लग्नका लागि केही तत्वहरु लागिपरेको सामाचार प्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।

जनकपुर नर्सिंग क्याम्पस जनकपुरधामको शानको रुपमा रहिआएको र यसलाई अन्यत्र सार्न नहुने हाम्रो ठहर छ।’ त्यस्तै ज्ञापन पत्र मार्फत संघ,प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि दुर्गमकै मापदण्डको कारणले उच्च शिक्षा तथा स्तरवृद्धिका लागि बाधा नपर्ने संघीय सेवा ऐनको व्यवस्था बमोजिम प्रदेश निजामती सेवा ऐनमा समेत व्यवस्था गरी वृतिविकास सुनश्चित गर्नु पर्ने माग समेत संघले अघि सारेको छ । हाल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय प्रादेशिक अस्पताल परिसरमा नै राखिएको छ । मुजेलियामा प्रतिष्ठानले करोडौंको लागतमा विशिष्टिकृत अस्पताल बनाएको दावी गरेको छ । त्यसमा विशिष्ट किसिमको उपचार हुने दाबी गरिएको छ । तर हाल सम्म कोभिड– १९का केही सामान्य बिरामीलाई गत वर्ष भर्ना गरिएको बाहेक कुनै काम भएको छैन् । प्रतिष्ठानमा रहँदा अस्पताल र जनकपुर नर्सिँग क्याम्पसको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गर्दै कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरुले बाध्यतावश आन्दोलन गर्नु परेको बताए । उनीहरुले तत्काल नै प्रतिष्ठानको मातहतबाट अस्पताललाई मुक्त गर्न नागरिक समाजलाई समेत गुहार लगाएका छन् ।

बागमती प्रदेशको मकवानपुरमा रहेको प्रादेशिक अस्पताललाई मदनभण्डारी प्रतिष्ठानबाट हटाउने निर्णय प्रदेश सरकारले गरेको नजीर समेत स्थापित भइसकेको आन्दोलित कर्मचारीहरु बताउँछन् । त्यहाँ पनि प्रतिष्ठानमा प्रादेशिक अस्पताललाई गाभिएको थियो । अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिए सम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने उनीहरुले जनाएका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=hd4sIgvcOh8

Comment


Related News

Latest News

Trending News