२०७८ चैत्र २८, सोमबार ०७:४६

जनकपुरधाम । मिथिला भोजन (खाना) प्रदर्शनी एवम् प्रतियोगिता जनकपुरधाममा सम्पन्न भएको छ ।

नव मिथिला फाउण्डेशनको आयोजना एवम् जनकपुर उद्योग बाणिज्य संघको सहकार्यमा आइतबार आयोजना गरिएको सो प्रतियोगितामा झापाको दमकको प्रिमियर कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरुले प्रथम स्थान हासिल गरेका छन् भने सुनसरीको ईटहरीको प्रिमियर होटर स्कुल दोस्रो स्थान र सनराइज होटल म्यानेजमेन्ट कलेज ईटहरीले तेस्रो स्थान हासिल गरेको फाउण्डेशनका महेश साहले जानकारी दिए । विभिन्न ६ वटा कलेजका विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगिता एवम् खाना प्रदर्शनीमा मिथिलाको प्रख्यात १ सय ५६ वटा व्यन्जनहरुको निर्माण गरेर मुल्याँकनकर्ता समक्ष प्रस्तुत गरिएको थियो । सो प्रतियोगितामा बीबीसी टेलिभिजनबाट प्रशारण हुने ‘मास्टर सेफ’का विजेता सेफ सन्तोष साह सहितका मूल्याँकनकर्ता रहेका थिए ।

मिथिला खानाको प्रवद्र्धन तथा प्रचार प्रसारको उद्देश्यका साथ आयोजना गरिएको यस प्रतियोगिता तथा प्रदर्शनीलाई सयौं व्यक्तिहरुले अवलोकन गरेको फाउण्डेशनका अध्यक्ष मनिष कुमार झाले बताए । उनले भने,‘यस प्रकारको आयोजनाले मिथिला खानाको प्रवर्धन मात्र नभइ यसबारे प्रचार प्रसार भए जनकपुरधाम आउने पर्यटकहरुलाई आकर्षण गर्न समेत मद्दत पुग्नेछ।’ प्रतियोगितामा मुलुकको पुर्वाञ्चल क्षेत्रका कलेजका विद्यार्थीहरुको सहभागिता रहेपनि जनकपुरधामकै कुनै कलेजको सहभागिता नहुनुले खल्लोपन देखिएको दुखेसो समेत सहभागीहरुले व्यक्त गरेका थिए । जनकपुरधाममा होटल म्यानेजमेन्ट सम्बन्धी अध्ययन अध्यापन हुनु पर्ने र सोका लागि यहाँका कलेजहरु अगाडि बढ्नु पर्ने आवश्यकतामा समेत यहाँका उद्योगी व्यवसायिहरुले औंल्याएका छन् ।

Comment


Related News

Latest News

Trending News