मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्राकृतिक सम्पदामा धनी मुलुकको रुपमा रहेकोले जडीबुटीको क्षेत्रमा विकास गर्नसके मुलुक समृद्धितर्फ अगाडि बढ्न सकिने बताएका छन् ।
२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाद्वारा मंगलबार वनस्पति उद्यानमा आयोजित कार्यक्रममा भने, ‘मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण गर्न सकिए समग्र राष्ट्रकै समृद्धिको आधार बन्न सक्छ।’ वनस्पति र जडीबुटी मधेश प्रदेशको मात्र नभइ तराई ,पहाड र हिमाल जता ततै प्रशस्त मात्रामा पाउने भएकोले यसलाई व्यवसायिक बनाउन सकिए समृद्ध मात्र नभइ स्वस्थ्य राष्ट्रको समेत निर्माण गर्न सकिने धारणा उनले राखे । ‘वनस्पतिको संरक्षण सम्वद्र्धन गरेर आयआर्जन गर्नुका साथै विश्वमा नेपाली जडिबुटीको मागलाई दृष्टिगत गरी वनस्पतिलाई व्यवसायिक बनाउन अपरिहार्य भइसकेको उनले प्रष्ट पारे । नेपालमा पाइने जडिबुटीहरुको मांग दोस्रो मुलुक भारतमा मात्र नभइ विभिन्न मुलुकमा यहाँ उत्पादित चिया ,यार्सागुम्बा लगायतका जडिबुटीको निर्यातको तथ्याँकले प्रष्ट रहेको बताउँदै उनले भने,‘ वनस्पतिको संरक्षण हुन सक्दा यति ठूलो सम्भावना रहेको वनस्पतिहरु त्यतिकै खेर जानु दुर्भाग्यपूर्ण हो।’ मधेश प्रदेशकै एकमात्र वनस्पति उद्यानको संरक्षण आवश्यक रहेको बताउँदै उनले यसका लागि प्रदेश सरकारले यथाशक्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
धनुषाधाम संरक्षित वनक्षेत्रसंग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने सम्भावना बोकेको स्थल रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले उद्यान संघीय सरकार मातहत रहे पनि विकासमा प्रदेश सरकारले समेत सहयोग गर्ने उल्लेख गरे । वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको सक्रियतामा भएको उक्त कार्यक्रमका वक्ताहरुले धनुषाधाम वनस्पति उद्यानमा हाल २ सय ७६ प्रजातिका वनस्पतिहरु रहे्कोले यसको संरक्षण गरेर व्यवसायीकरण गर्न सकिए यस क्षेत्रको व्यक्तिहरुको आर्थिक स्तरमा सुधार हुने धारणा राखे । सो अवसरमा अवसरमा धनुषाधाम उद्यान तथा जंगल क्षेत्रमा वृक्षरोपण समेत गरिएको थियो । सो क्रममा पिपलको विरुवा रोपिएको जनाइएको छ ।

