गरुडा । रौतहट क्षेत्र नं १ मा रहेको पाँच पालिका मध्ये चारवटा पालिकामा जनता समाजवादी पार्टी नेपालले गठबन्धन नगर्ने निर्णय गरेको छ ।
जसपा नेपालका क्षेत्र नं १ का केन्द्रीय सदस्य सहितका नेताहरुको शनिबार बसेको बैठकले आसन्न निर्वाचनामा चार वटा पालिकामा गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको हो । दुर्गाभगवती गाउंपालिका १ मा रहेको सामुदायिक भवनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा निर्णय लिनका लागि जसपाका नेताहरुको बसेको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । बैठकले रौतहट क्षेत्र नं १ को पाँचवटा पालिकाहरु मध्ये गौर नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गाभगवती गाउँपालिका र यमुनामाई गाउँपालिकामा जसपाले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी सहित कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य रेवन्त झाले जानकारी दिए । यी चारवटा पालिकामा जसपा एक्लै चुनाव लड्न सक्षम रहेकोले यहाँ कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको बताउँदै नेता झाले राजदेवी नगरपालिकामा गठबन्धनमा आवद्ध दलसँग तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको बताए ।
बैठकले राजदेवी नगरपालिकामा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरे पनि भागबण्डामा मेयर, उपमेयर, वडा अध्यक्ष कति कुन दलले लिने भने प्रष्ट भएको छैन । रौतहटमा १८ वटा स्थानीय तहहरु रहेकोमा मौलापुर नगरपालिकामा कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी र जसपा नेपालबीच गठबन्धन गरेर अगाडि बढ्ने निर्णय भएको छ । पूर्व मन्त्री एवं नेकपा एमाले नेता प्रभु साहको श्रीमति रिना देवी साह नगर प्रमुख रहेको मौलापुर नगरपालिकामा यी चार दलबीच गठबन्धन गरेर अगाडि बढ्ने निर्णय भएपनि भागबण्डामा मेयर, उपमेयर, वडा अध्यक्ष कुन दलले लिने भन्ने बारेमा अझै प्रष्ट भएको छैन । मौलापुर, कटहरिया र राजदेवी नगरपालिका बाहेकका पालिकाहरुमा जसपाको राम्रो पकड रहेकोले अन्य पालिकाहरुमा जसपा नेपालले गठबन्धन गर्ने पक्षमा नरहेको तर पार्टीले गठबन्धन गर्न बाध्य बनाएको अवस्थामा आवश्यकता र औचित्यको आधारमा तालमेल हुन सक्ने जनाइएको छ ।

