वीरगञ्ज । स्थानीय निकायमा समावेशी जनप्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान अन्तर्गत पर्सा जिल्लाका लागि नेता श्रीमतीलाई फापेको छ । सबै भन्दा पुरानो इतिहास बोकेको नेपाली कांग्रेस,कम्युनिष्ट देखि मधेसी दलका नेताले उपमेयरको उम्मेदवारमा आफ्नै श्रीमतीलाई अगाडि सारेका छन् ।
मुख्यमन्त्री लालबाबु राउत गद्दीको पैतृक गाउं जगनाथपुर गाउंपालिकाकी उपाध्यक्ष दुई हप्ता अगाडि नेकपा माओवादीमा प्रवेश गरेकी छिन् । उपाध्यक्ष बीसमिला खातुन जसपा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्दा पार्टी छाड्नु पर्ने कारण मुख्यमन्त्री नै भएको आरोप लागएकी छिन् । जगरनाथपुर गाउँपालिकामा मुख्यमन्त्रीको श्रीमती जुलेखा खातुन उपाध्यक्ष पदको उम्मेदवार बनी सरकारी गाडी चढेर मत माग्दै हिड्न थालेपछि जसपा छोडेर माओवादीमा प्रवेश गर्न बाध्य भएकी बीसमिलाको आरोप छ । पार्टीका स्थानीय कार्यकर्ताले उचालेर श्रीमतीलाई उपाध्यक्षमा उम्मेदवार बनाएको मुख्यमन्त्री लालबाबु राउत भन्छन् । ‘ मधेशीले पाउने ठूलै ओहदा मुख्यमन्त्रीमा आफू पुगी सकेकोले उनले(श्रीमतीले) चुनाव नलडे पनि हुन्थ्यो’ बताउँदै मुख्यमन्त्री राउतले भने,‘राजनीतिमा सबै मिलेर अगाडि बढाइ दिएका छन् ,ब्याक पनि कसरी गराउने ,घरबार हेर्ने भनेको उनी नै हुन् ।’ नेतृ कम र समाजसेवी बढी भएर चिनिने नाम हो डा. सुष्मा तिवारी । नेपाली कांग्रेसबाट उपपप्रमुखका लागि टिकट पाउन सक्ने योग्य उम्मेदवारको नाम भित्र डा. तिवारीको नाम अग्रस्थानमा आउँछ ।

विद्यावारिधि गरी समाजसेवी र महिला अधिकारकर्मीको रुपमा परिचित डा. तिवारी नेपाली कांग्रेस पर्साका निवर्तमान सभापति एवम् वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी अजय कुमार द्विवेदीकी श्रीमती हुन् । खास गरेर नेपाली कांग्रेसको भातृसंगठनको रुपमा रहेको नेपाल महिला संघको गतिविधि शिथिल भएको कारणले पनि महिला नेतृत्वको कमी देखिएको छ । मधेश प्रदेशको एक मात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका पूर्व सभासद एवम् सभापति अजय द्विवेदीकी श्रीमती शुष्मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारको प्रवल दावेदार रहेकी छिन् । श्रीमान् अजय द्विवेदीसंग जोडेर आफुलाई हेर्नु गलत रहेको, उनी तर्क गर्छिन् । द्विवेदी भन्छिन,‘ पार्टीमा मेरो आफ्नै लगानी छ,म पार्टीका हरेका कार्यक्रममा सक्रिय रहँदै आएकी छु ,मधेशको महिला भए पनि पढेलेखेको छँु ,उपमेयरमा जिते भने महानगरको विकासमा ठूलो परिवर्तन ल्याउने मेरो सोच छ । नेपाली कांग्रेसबाट महानगरको उपमेयरको लागि जिल्ला सदस्य रुपा देवी श्रेष्ठ र किरण सरकारको नाम पनि चर्चामा रहेको छ । महिलाहरुको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासका निम्ति आफु लगातार काम गर्दै आएको श्रेष्ठको दाबी छ ।
किरण सरकार क्याम्पस कालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय रहेकोले आफ्नो दाबेदारी सही भएको बताउँछिन् । सत्ताधारी गठबन्धनकै अर्को दल नेपाल कम्युनिष्ट पार्टी समाजवादीको तर्फबाट पनि उपमेयरको उम्मेदवारमा अर्का आकाँंक्षी चिरंञ्जीबी आचार्यको श्रीमती सोफिया आचार्यको नाम पार्टीले अगाडि सारेको छ । चिरंञ्जीबी आचार्य एमालेको संस्थापक नेता हुन त्रिजुद्ध माध्यमिक विद्यालयमा शिक्षक रहेको आचार्य २०४६ सालको आन्दोलन पछि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । २०४७ सालको प्रतिनिधि सभाको सांसद पदमा एमालेको चुनाव लडेका थिए । गत स्थानीय चुनावमा एमालेको तर्फबाट लडेकी सोफिया आचार्य १० हजार ६ सय ६३ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेकी थिइन् । जनता समाजवादीको तर्फबाट अर्का नेताकी श्रीमती प्रबल दावेदार देखिएकी छिन् । पर्सा क्षेत्र नम्बर एकबाट जसपाकोतर्फबाट सांसद रहेका प्रदीप यादवका श्रीमती पिंकी यादवको उपमेयरमा दावेदारीको चर्चा छ । यादव यस अघि स्थानीय निर्वाचनमा उपमेयरमा लडेकी थिइन् । संघीय समाजवादी फोरम तर्फबाट मेयर पदमा विजय कुमार सरावगी जिते पनि नेपाली कांग्रेसकी उपमेयरका उम्मेदवार शान्ति कार्कीको आफ्नै लोकप्रियताको कारण यादव १ हजार ७७ मतले पराजित भएकी थिइन । सत्ताधारी दल बीच चलिरहेको गठबन्धन भङ्ग भए जसपाले पुनः यादवलाई नै चुनाव जिताउने चर्चा पार्टी भित्र रहेको एक कार्यकर्ताले बताए ।
तत्कालीन सँंघीय समाजवादी फोरमबाट उपप्रमुखका लागि उम्मेदवार दिन शिक्षण पेशाबाट राजीनामा दिएकी पिंकी पुनः यसपाली उम्मेदवारी दिने पार्टीभित्र चर्चा चलेको छ । जनता समाजवादी पार्टी (जसपा) की नेतृ यादवले यसअघिको निर्वाचनमा १८ हजार ५ सय ३० मत पाएर दोस्रो स्थानमा रहेपछि पुनः शिक्षण पेशामै फर्किएकी थिइन् । बजारमा चर्चा चलेअनुसार यसपटक पनि पुनः शिक्षण पेशाबाट राजीनामा दिएर उपप्रमुखमा उम्मेदवारी दिने यादवको तयारी छ । जिल्ला सभापति पुरुषोत्तम झाकी श्रीमती पनि लोसपाबाट वीरगन्जको उपमेयरमा उम्मेदवार बन्ने चर्चा छ । एमालेसंग गठबन्धन हुने चर्चा चलिरहेको बेला उपमेयरमा स्वयम् जिल्ला सभापति वा उनकी श्रीमती उपमेयरमा लड्ने वढी सम्भावना रहेको कार्यकर्ताहरु बताउँछन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=I1Sk_gr6Ew0


