राजविराज । अदालतले आदेश जारी गरेपछि घरेलु हिंसामा परेकी एक महिलालाई गृह प्रवेश गराइएको छ ।
मंगलबार राती प्रहरी, महिला अधिकारवादी तथा स्थानीयवासीको पहलमा ती पीडित महिलालाई गृह प्रवेश गराइएको हो । राजविराज नगरपालिका–६ विपिन झा कि २२ वर्षिया श्रमती ब्यूटी झाले घरमा बस्न पाउनु पर्ने भन्दै धर्नामा बसेकी थिइन् । धर्नामा बसेको दुई घण्टापछि उनलाई घरमा प्रवेश गराइएको थियो । भारत बिहार राज्यको अररिया माईती भएकी ब्यूटीसंग विपिनको २०७७ साल मंसिर २६ गते विवाह भएको थियो । केही दिनपछि परिवारका सदस्यसित परेको विवादका कारण उनलाई घरबाट धपाइएकोमा न्यायका लागि उनले सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गराएकी थिइन् । उनलाई अधिवक्ता किरण कुमारी साहले निःशुल्क कानूनी सहायता उपलब्ध गराएकी छिन् ।
उक्त मुद्दा उपर सुनुवाई गर्दै न्यायाधीश प्रमेश पोखरेलको एकल इजलासले मुद्दाको अन्तिम निर्णय नभएसम्म अन्तरिम संरक्षणात्मक आदेश जारी भएपछि उनलाई घर प्रवेश गराइएको प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए । घर प्रवेशका लागि व्यवस्था मिलाउन अधिकारकर्मी, स्थानीय भद्रभलादमी तथा प्रहरी आउन लागेको थाहा पाएपछि ब्यूटीका ससुरा बासुदेव झा, सासु शान्ति देवी, देवर विकास लगायत परिवारका सदस्यले घरको मूल गेटमा भित्रपट्टीबाट ताला लगाएर बसेका थिए । ताल्चा खोल्नका लागि २ घण्टा उनी घर बाहिर धर्नामा बसेपछि ठूलो संख्यामा सर्वसाधारणको घँुईचो लागेको थियो । धर्ना बस्दा पनि ढोका नखोलेपछि बाहिरबाट सिढी लगाएर उनलाई घरको कम्पाउण्ड भित्र छिराइएको थियो । त्यस पछि ब्यूटी र उनका सहयोगीहरुले ढोकाको ताल्चा फुटाएका थिए । तनाव बढ्दै गएपछि दुबै पक्षलाई केही समय जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि राखेर राती १० बजे ब्यूटीलाई सुरक्षितसाथ राख्ने भनी ससुरा वासुदेवलाई कबुल गराएर प्रहरी समेतको सहयोगमा उनलाई गृह प्रवेश गराउँदै कोठामा ल्याइएको थियो । आफूलाई थप दाइजो ल्याउन दबाव दिएर कुटपिट गर्ने गरेको र तीन महिनाको गर्भपतन समेत गराएको उनले आरोप लगाएकी छिन् ।

देवर विकासले आफूमाथि बलात्कारको प्रयाससम्म गरेको उनको भनाइ छ । ब्यूटीका पिता विजय झाले सुरक्षितरुपमा छोरीलाई घरमा बस्न पाउने व्यवस्थाका लागि सबैसंग याचना गरेका छन् । उनले भने “हाम्रो जातमा विवाहित छोरीको अर्काे विवाह सम्भव छैन, छोरीलाई सुरक्षितरुपमा घरमा बस्ने व्यवस्थाका लागि पहल गरिदिन सबैसंग आग्रह छ ।” उनले छोरीको विहेमा जग्गा बेचेर १५ लाख नगद र १० तोला सुनको गरगहना विपिनका परिवारले दाईजो स्वरुप लिएको दाबी पनि गरेका छन् । ब्यूटीका ससुरा वासुदेव हालै वन कार्यालयका अधिकृत पदबाट सेवा निवृत भएका छन् भने सासु शान्ति देवी बालमन्दिर राजविराजका प्रधानाध्यापक एवं मैथिली महिला परिषद सप्तरीकी अध्यक्ष हुन् । ब्यूटीलाई निःशुल्क कानूनी सहायता उपलब्ध गराउने कानून व्यवसायी अधिवक्ता किरण कुमारी साहले यो घट्ना महिला हिंसाको पराकाष्ठा भएको बताएकी छिन् । उनले बौद्धिक परिवार भनाउदा व्यक्तिहरुबाटै यस्तो अशोभनीय घट्ना हुनु निन्दनीय र लज्जास्पद भएको बताइन् । उनले पीडित महिला ब्यूटीसित कान्छी छोरीको विवाहका लागि भन्दै सासु ससुराले १२ लाख रुपैयाँ थप दाईजो स्वरुप माग गरेको बताइन । ब्यूटिले असमर्थता जनाएपछि यातना दिइ घर निकाला गरिएको उनको भनाइ छ ।
उनले घरेलु हिंसा २०६६ को संरक्षणात्मक आदेशको तहत सुरक्षित रुपमा घरमा वस्न, खान, लाउन पाउने गरी अदालतको आदेश भएको बताईन । ब्यूटिका पति विपिनले सो आरोप निराधार रहेको दाबी गरेका छन् । फोन सम्पर्क गर्दा हाल आफू काठमाण्डुमा रहेको बताउँदै उनले आफू पत्नी ब्यूटिबाटै असुरक्षित रहेको बताएका छन् । “ब्यूटिको व्यवहार नै अस्वभाविक रहने गरेको छ, विपिनले भने, पति– पत्नीकोवीचको सम्बन्ध शंकामा परेपछि कसरी संग वस्न सकिन्छ ?” उनले अहिले तत्कालै घर फर्किने माहोल नभएकाले २÷३ दिन पछि आएर कुरा गर्ने बताए । उनले दाईजो माग गरेको भनी ब्यूटिद्वारा लगाइएको आरोपमा पनि सत्यता नरहेको दाबी गरेका छन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले जनप्रतिनिधि तथा दुबै पक्षका मान्छे राखेर अदालतको आदेश अनुसार ब्यूटिलाई सुरक्षितसाथ वस्ने गरी गृह प्रवेश गराइएको बताए । दुबै पक्षबीच देखिएको आन्तरिक विवाद आपसी सहमतिमै टुङ्गयाउने प्रयास गरिएको छ, उनले भने, सो प्रयास असफल भए कानुन बमोजिम अघि बढ्ने छौं ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=4s


