अपडेट 
२०७९ बैशाख ८, बिहीबार ०७:२४

गरुडा । रौतहट जिल्लामा केरा जोन बजार सञ्जाल विकास गर्न लागिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय गरुडाले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सञ्जाल विकासबारे जानकारी दिइएको छ ।

जिल्लामा केरा खेती विस्तार तथा विकासमा देखिएका समस्या तथा ती समस्यालाई समाधान गर्न पहल सम्बन्धमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा केरा खेतीलाई कसरी विस्तार गर्ने, किसानलाई केरा उत्पादन गर्न के के समस्या छन्, ती समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल गरिएको छ । पछिल्लो समय आवश्यक सीप र ज्ञानको अभावमा जिल्लाका अधिकांश किसान केरा खेती नगरी अन्य खेती गर्न बाध्य रहेकाले किसानलाई केरा खेती गर्नेतर्फ आकर्षित गर्ने उद्देश्य समेत गोष्ठीको रहेको परियोजना गरुडा ईकाइ कार्यालय प्रमुख दीपक कुमार मिश्रले बताए । जिल्लामा बजारको उचित व्यवस्थापन नहुँदा किसानहरूले उत्पादन गरेको केरा बिक्री गर्न निकै समस्या हुने गरेको छ ।

जिल्लामा बजारीकरणको उचित व्यवस्था नहुँदा किसानहरूले आ–आफ्नो खेतमा उत्पादन गर्ने गरेको केरा सर्लाही, बारा, पर्सा लगायत जिल्लाको बजारहरुमा लगेर बिक्री गर्न बाध्य छन् । गोष्ठीमा जिल्लामा केराको उत्पादनको अनुपातमा बिक्री नहुँदा किसानहरू केरा खेतीबाट पलायन समेत हुन थालेका छन् । केरा खेती तर्फ किसानहरुको आकर्षणमा कमी आउंदै गरेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका थिए । केरा खेतीलाई कसरी विस्तार र विकास गर्न सकिन्छ,किसानलाई केरा खेती गर्नेतर्फ आकर्षित गरी केराको उत्पादन कसरी बढाउन सकिन्छ भन्ने बारेमा गोष्ठीमा व्यापक छलफल भएको गोष्ठीमा प्रमुख मिश्रले बताए । नेपालका धेरैजसो तराई तथा भित्री मधेशमा राम्रोसंग खेती गर्न सकिने उच्चमूल्यका बालीहरु मध्ये केरा खेती पनि एउटा गतिलो आयमूलक बाली हो ।

यसलाई कम लागत तथा छोटो समयावधिमा नै सन्तोषजनकरुपमा उत्पादन लिन सकिने भएबाट यसको खेती दिनानुदिन बढ्दै जानुले सट्टा घट्दै जानुले किसानहरुको चिन्ता थपेको छ । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय पर्साका प्रमुख दीपेन्द्र मनोहर चौधरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका केरा जोन प्रमुख इन्द्र ढुंगाना, हेल्भेटास नेपालका मधेश प्रदेश प्रमुख कृणलाल कर्ण, उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधि दीपेन्द्र झा, कृषि ज्ञान केन्द्र गौरका कृषि विकास अधिकृत अशोक सिंह, नेपाल केरा उत्पादक महासंघका केन्द्रीय सदस्य हिरा सरु मगर लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Comment


Related News

Latest News

Trending News