२०७९ बैशाख ८, बिहीबार ०७:२७

गौर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता गर्ने समय नजिकिदै जाँदा विभिन्न दलका उम्मेदवारहरुले आ–आफ्नो प्रचार प्रसारलाई तीव्र पारेका छन् ।

बैशाख ११ र १२ गते हुने मनोनयनका लागि सत्ता साझेदार दलले जिल्ला स्तरमा पालिकाका प्रमुख ,उपप्रमुख ,वडा अध्यक्ष तथा वडा सदस्य हरुको आधिकारिक निर्णय गरेको नभए पनि घोषित उम्मेदवारहरुले उम्मेदवारको औपचारिक पत्र पाउने पूर्ण रुपमा विश्वस्त भएर प्रचार प्रसारमा होमिएका छन् । जिल्ला सदरमुकाम गौरमा नेकपा एमाले , नेकपा एस ,नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल , लोकतान्त्रिक समाजवादी पार्टी नेपाल , जनमत पार्टीले नगर प्रमुख र उपप्रमुखका उम्मेदवारको नामावली टुंगो लगाई सकेकोले उम्मेदवारहरु मतदाता रिझाउन दिन रात कसरतमा छन् । जनता समाजवादी पार्टीको तर्फबाट मेयरको उम्मेदवार किरण ठाकुर नै रहेकोले ठाकुरले संगठन निर्माणको कार्यलाई तीव्रता दिँदै चुनावी तयारीमा लागेपछि गौर नगरपालिकामा जसपाको चुनावी चर्चा बढेको हो । राजपाबाट उपप्रमुखमा निर्वाचित भएकी ठाकुर यस पाली जसपाबाट नगर प्रमुखमा चुनाव लड्ने छिन् । उपप्रमुखमा अमरुल हकले तयारी गरे पनि पार्टीले आधिकारिकता दिन सकेको छैन । गीता कुशवाहाले उपप्रमुखको दावेदारी पेश गर्दै आफ्नो प्रचार प्रसार गरिरहेकी छिन् । वडा नम्बर २ मा जसपाबाट राकेश झा वडा अध्यक्षका उम्मेदवार हुन् ।

नेपाली कांग्रेसका नगर प्रमुख मोहन यादव , लोसपाका अजय कुमार गुप्ता र नेकपा एस का शम्भु साह बलियो उम्मेदवारको रुपमा मानिएको अवस्थामा जसपाका किरण ठाकुर पनि अहिले प्रतिस्पर्धाको दौरमा आएकी हुन् । जसपाका पार्टीका नेताहरुको दोहोरो भूमिकाको कारण जसपा रौतहट जिल्लाको १८ पालिकामा कमजोर हुन् सकिने संकेत देखिएको छ । एक अर्कालाइ पूर्ण रुपमा सहयोग नगर्ने संकेतको कारण अवस्था कमजोर बन्न सक्ने विश्लेषण हुने गरेको छ । गठबन्धन हुने र नहुने हल्लाको कारण पनि कतिपय ठाउँमा पार्टीका कार्यकर्ताहरु अन्योलताको शिकार बनेका छन् । जनता समाजवादी पार्टी नेपालको तर्फबाट गौर नगरपालिका–५ को वडा अध्यक्ष पदको उम्मेदवार युवा जुझारु नेता संजीव गुप्ताले जसपाको अवस्था बलियो हुनेमा विश्वस्त रहेको बताउँछन् । बजार ,चोक ,सार्वजनिक स्थलहरुमा सामूहिक रुपमा हुने चर्चाको अनुसार गौरमा त्रिकोणीय प्रतिस्पर्धा हुने अनुमान छ । अजय कुमार गुप्ता , शम्भु साह र मोहन यादव वीच कडा प्रतिस्पर्धा रहेको भनाइ जानकार हरुको रहेको छ ।

तीन जना बलियो उम्मेदवार रहेको विश्लेषण भइरहँदा जसपाका नगर प्रमुखका उम्मेदवार किरण ठाकुर पनि कमजोर नरहेको अनुमान गर्न थालिएको छ । अजय गुप्ता , शम्भु साह र मोहन यादवबाट असन्तुष्ट हुने मतदाता जसपातिर मतदान गर्न सकिने अवस्था रहेको जिकिर गर्न थालिएको हो ।

Comment


Related News

Latest News

Trending News