अपडेट 
२०७९ बैशाख ९, शुक्रबार ०७:४९

माध्यमिक शिक्षा परीक्षा एसइइ आजदेखि शुरु हुँदैछ ।

आज बिहान ८ बजेबाट शुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना महामारीका कारण दुई वर्षपछि परीक्षा बोर्डले भौतिक उपस्थितिमा केन्द्र निर्धारण गरि प्रश्नपत्र मार्फत् नै एसइइ परीक्षा लिन लागेको हो । ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० विद्यार्थीले आवेदन भरेको एसइइ परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । काठमाडौंमा सबैभन्दा बढी ३६ हजार र सबभन्दा कम मनाङमा २९ जना परीक्षार्थी छन् । परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी गरि ७० हजार भन्दावढी जनशक्ति खटाइएका छन् ।  साधारणतर्फ ६१ र प्राविधिकतर्फ ४२ विषयको परीक्षा हुन लागेको हो । पाँचलाख विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई मर्यादित बनाउन परीक्षा बोर्डले आग्रह गरेको छ ।

विद्यालय तहको कक्षा ११ भर्ना हुनका लागि अवदेखि विद्यार्थीले कक्षा १० को हरेक विषयमा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक ल्याउनुपर्ने छ । परीक्षा बोर्डले परीक्षामा नयाँ व्यवस्था गरेको हो ।

कोरोना महामारीका कारण यसवर्ष ४ महिना मात्र भौतिक उपस्थितिमा विद्यार्थीको पठनपाठन भयो । वैकल्पिक माध्यमको पढाइ सबैको पहुँचमा नहुनु मात्र होइन भएकाको पनि प्रभावकारी छैन । जसले गर्दा विद्यार्थीको शिक्षण सिकाइ कमजोर छ । अर्कोतिर उर्तिण हुन हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने बाध्यताले यसवर्ष धेरै विद्यार्थी असफल हुनेमा शिक्षक विद्यार्थी चिन्तित छन् ।

परीक्षा बोर्डले असार मसान्तभित्र परीक्षाको नतिजा प्रकाशन गर्ने योजना बनाएको छ ।

Comment


Related News

Latest News

Trending News