२०७९ बैशाख १२, सोमबार १९:०६

वैशाख ३० गते हुने पालिका चुनावका लागि झन्डै ४८ हजार जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगलाई बेलुका ५ बजेसम्म प्राप्त भएको विवरणअनुसार ४७ हजार ६ सय १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

मेयर पदमा एक हजार ६ सय २३ जना, उपमेयरमा नौ सय ९२, गाउँपालिका अध्यक्षमा एक हजार ६ सय ६ जना र उपाध्यक्ष पदमा एक हजार ४५ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै १२ हजार एक सय ५१ जनाले वडाध्यक्ष, सात हजार पाँच सय ९९ जनाले महिला सदस्य, ६ हजार ६ सय ३७ जनाले दलित महिला सदस्य र खुला सदस्यका लागि १६ हजार चार जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला जिल्लाबाट विवरण आउने क्रम चलिरहेकाले यो सङ्ख्यामा घटबढ हुन सक्ने आयोगले जनाएको छ ।

भोलिदेखि मतपत्र ढुवानीको काम सुरु हुने, निर्वाचन सामग्री सबै जिल्लामा पुगे

यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मङ्गलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ ।

आयोगमा आज साेमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि भोलिदेखि नै मतपत्र ढुवानीको काम सुरु हुने जानकारी दिनुभयो । अहिलेसम्म ८० प्रतिशत अर्थात् ६८ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मत पत्र छपाइ सकिएको उहाँले बताउनुभयो । चुनावका लागि आयोगले जगेडासहित एक करोड ९४ लाख मतपत्र  छाप्दैछ । निर्वाचन सामग्री भने सबै जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

यसैबीच आयोगले आचारसंहिता पालना नगर्ने राजनीतिक दल र उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दोहोर्‍याएकाे छ  । आचारसंहिता विपरीत हुने गरी कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, आयोगले तोकेको साइजमा मात्रै अनुमति प्राप्त गाडीमा झण्डा राख्न, जुलुस, आमसभा, र्‍याली नगर्न आयाेगले चेतावनी दिएकाे छ ।

यस्तै चुनावमा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिता विपरीत हुने गरी सम्बन्धित दलको चुनाव चिह्न, झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टी–सर्ट, ज्याकेट, कमिज, गम्सा, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने आयोगले चेतावनी दिएको छ ।

Comment

Related News

Latest News

Trending News