अपडेट 
२०७९ बैशाख १३, मंगलवार ०७:५०

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको तर्फबाट गौर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएकी निवर्तमान उपमेयर किरण कुमारी ठाकुरले आफ्नो उम्मेदवारी गौरको जनताको विकासका लागि भएको बताएकी छन् ।

सोमबार मनोनयनपत्र दर्तापछि संचारकर्मीहरुसंगको कुराकानीमा उनले जनता समाजवादी पार्टी मधेशी जनताको हक अधिकारका लागि सधै संघर्षशील रहँदै आएकोले राजपा त्याग गरी जसपाबाट नगर प्रमुख पदमा उम्मेदवारी दिएको उल्लेख गरिन् । निर्वाचित भएको अवधिमा विभेदको शिकार तथा चेपुवामा परेकोले सोचे जस्तो कार्य गर्न नसकेको स्वीकार गर्दै गर्न नसकेको कार्यलाई गरेर देखाउने साहसका साथ नगर प्रमुखमा दावेदारी दिएको प्रष्ट पारे । गौर नगरपालिकामा नगर प्रमुख हावी भएको कारण आफू विभेदको शिकार भएको गुनासो समेत उनले पोखिन् । नयाँ नेपालमा महिलाको अधिकार कानूनी रुपमा सुरक्षित गरिएको भए पनि व्यवहारिक रुपमा दमन शोषण , विभेदीकरण कायमै रहेको गुनासो समेत पोखिन् ।

महिलाहरुको सामाजिक, राजनीतिक, आर्थिक , पारिवारिक पीडाबारे आफू परिचित रहेकोले निर्वाचित भएपछि शोषणमा परेकी महिला ,बाल बालिकाको अधिकार ,न्याय , शिक्षामा सुधार , महिलाहरुको आर्थिक समृद्धिका लागि रोजगारी ,उद्यमशील बनाउनेतर्फ लाग्ने प्रतिवद्धता व्यक्त गरिन् । मेयर प्रत्याशी ठाकुरले भने महिलाहरुलाई पुरुषहरुले कहिल्यै पनि अघि बढ्न नदिने सोचमा रहेको अनुभूति गरेको चर्चा गर्दे राजनीतिक रुपमा झन् विभेद रहेको उल्लेख गरे । आफू महिलाहरुको पक्षमा रहेकोले महिलाहरुले निर्वाचित गराउने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News