मधेश प्रदेशका १ सय ३६ स्थानीय तहमा २४ हजार १ सय ४३ जनाले प्रमुखदेखि सदस्य सम्ममा मनोनयन दर्ता गराएका छन् ।
आइतवार र सोमबार निर्वाचन आयोगले मनोनयन दर्ताको समय तोकेका थिए । सो अवधिमा प्रमुखमा १ हजार ५, अध्यक्षमा ७ सय ५४, उपप्रमुखमा ४ सय ९५, उपाध्यक्षमा ३ सय ८३, वडाध्यक्षमा ५ हजार ९ सय ६, महिला सदस्यमा ३ हजार ९ सय १८, दलित महिला सदस्यमा ३ हजार ७ सय ११, सदस्यमा ७ हजार ९ सय ७१ गरी जम्मा २४ हजार १ सय ४३ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा २१ र उपमेयर पदमा १० जनाले उम्मेदवारी दिएका छन् । राजनीतिक दलको तर्फबाट मेयर पदमा १० सहित २१ जनाले उम्मेदवारी दिएका हुन् भने उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र रुपमा उम्मेदवार छन् । उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोजकुमार चौधरी र उपमेयरमा रीता कुमारी मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी रुना झाले उम्मेदवारी दर्ता गराएकी छन् । करिब एक साताअघि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेबाट बागी उम्मेदवार बनेर उपमेयरमा सरोज कुमार मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी नेपाल जनता पार्टी नेपालबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेय उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट विद्रोह गरी तराई मधेश लोकतान्त्रिक पार्टीबाट प्रवेश गरेकी विभा ठाकुरले मेयर र ईश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । जनकपुरधामको मेयर पदमै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छन् ।
त्यस्तै मेयरमा स्वतन्त्ररुपमा काँग्रेसबाट राजीनामा दिएका मनोजकुमार साह, बलराम महतो, वैद्यनाथ साह, श्यामकिशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पँजियार र सुधीर कुमार महतोले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी उमेश चौधरी र कुमारी बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा बागी बन्दै उम्मेदवारी दर्ता गराएका छन् । धनुषामा ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहितका ३२ दलहरू दर्ता छन् । त्यस्तै जीतपुर सिमरा उपमहानगर प्रमुखमा गठबन्धनसहित ठुला–साना दलबाट १२ जनाले उम्मेदवारी दिएका छन् । वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नगर प्रमुखका लागि निवर्तमान मेयर विजय सरावगीसहित १८ जनाले उम्मेदवारी दिएका छन् । मनोनयन १८ जनाको दर्ता भए पनि मुख्य प्रतिस्पर्धा दुई गठबन्धनका उम्मेदवारबीच हुने आकलन गरिएको छ ।
सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र नेकपा एमाले नेतृत्वको गठबन्धनबाट एमालेका सरावगीबीच मुख्य प्रतिस्पर्धा हुनेछ । ०७४ सालको स्थानीय चुनावमा पनि दुवै जना मेयरका प्रतिस्पर्धी थिए । सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा थिए भने सरावगी संघीय समाजवादी फोरममा थिए। सरावगी निर्वाचित भए भने सिंह नेपाली कांग्रेसको उम्मेदवारपछि तेस्रो स्थानमा रहेका थिए । तर अहिले सरावगी र सिंह जुन पार्टीबाट मेयरको चुनाव लडेका छन्, त्यो भने दुबैको पहिलो रोजाइको दल होइन । स्थानीय चुनाव नजिकिएदेखि नै दुबै जना दल बदल्न चाहन्थे । जसपाबाट टिकट पाउने सम्भावना कमजोर भएपछि सरावगीले फेरि मेयरको टिकट पाउने गरी कांग्रेस प्रवेश गर्न चाहेका थिए । बारा । उपमहानगर प्रमुखमा १२, उपप्रमुखमा १२ सहित १८९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत टिकामणि न्यौपानेले जनाए ।
उपमहानगर प्रमुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेपाली काँग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेकपा एमालेको तर्फबाट प्रमुखमा सरस्वती चौधरी र उपप्रमुखमा भोला अधिकारीले उम्मेदवारी दिएका छन् । चौधरी जीतपुर सिमरा उपमहानगरकी निवर्तमान उपप्रमुख हुन् भने अधिकारी २०७४ को निर्वाचनमा उपमहानगरको वडा नं २ का वडा सदस्यमा पराजित उम्मेदवार हुन् । गठबन्धन र एमालेबाहेक लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) बाट संजय साह, जनता समाजवादी पार्टी (जसपा) बाट सोहन शर्मा लगायतले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी पनि परेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

