जनकपुरधामका निवर्तमान मेयर लालकिशोर साहले आफ्नो कार्यकालमा गरेको उपलब्धि सार्वजनिक गरेका छन् ।
बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत साहले आफ्नो कार्यकालमा गरेको कामको उपलब्धि एवम जसपाबाट पुनः मेयर पदको लागि दिएको उम्मेदवारी प्रति आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन।
साहले प्रस्तुत गरेको उपलब्धि एवम चुनावी एज्न्डा यस प्रकार छ :
आदरणीय पत्रकार मित्रहरु
जनकपुरधामवासीको आपार सहयोग र समर्थन एवं यहाँका संचारकर्मीमित्रहरुको सदासायताले २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानरपालिकाको नगर प्रमुखमा निर्वाचित भई जनकपुरधामको सेवा गर्ने मौका प्राप्त भएकोमा सम्पूर्ण जनकपुरधामवासी, उद्योगी, व्यवसायी, किसान, मजदुर, महिला, युवा, विद्यार्थी, संचारकर्मी लगायत प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
२० वर्ष देखीको जनप्रतिनिधि विहिनताको अवस्था पछि २०७४मा निर्वाचित भए लगतै जनताको आपार आकांक्षा, विकासको पथबाट अलगिएको जनकपुरधामलाई सिमित स्रोत साधन एवं कानून अभावको अवस्थाबाट गुज्रिदै पुनः विकासको बाटो ल्याउनु कम चुनौती पूर्ण थिएन ।
सिमित स्रोत साधनको विच विगतको चार वर्षमा जनकपुरधामले विकास र समृद्धिको बाटोमा फेरेको कोल्टो कसैसामु लुकेको छैन । चार वर्ष अघिको जनकपुरधाम र अहिलेको जनकपुरको धामको अवस्थाको मुल्यांकन स्वयं जनकपुरवासीहरुले नै गर्नेमा म विश्वस्त रहेको छु । विगतमा जानकीमाताको दर्शन गर्न आउनेहरुले जनकपुरधामलाई ‘फोहोरी जनकपुर’ ‘गनाउने जनकपुर’ भन्ने गरेको यहाँहरुसामु सर्वविदित नै छ । अहिले जनकपुरले प्राप्त गरेको स्वरुपबाट तीर्थयात्री तथा पर्यटकहरुले ‘ए जनकपुर त फेरीएछ’ भन्न थालेको यहाँहरुले पक्कै पनि महसुस गर्नु भएकै छ ।
ए.डि.बी.को ऋण सहयोग तथा संघीय सरकार र जनकपुरधाम उपमहानगरको सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास परियोजना कस्तो अवस्थामा थियो ? यहाँहरुलाई अवगत नै छ । करिव चार पाँच वर्षसम्म उक्त परियोजनाले प्रगति हाँसिल नगर्दा एकीकृत सहरी विकास परियोजना खारेजी हुने चरणमा गईसकेको अवस्थामा मैले जनप्रतिनिधिको रुपमा कार्यप्रारम्भ गरेको थिएँ । उक्त परियोजनालाई खारेजी हुनबाट रोकेर काम सम्मपन्न गर्न सम्पूर्ण जनकपुरबासीहरुले गर्नु भएको सहयोग सदैव महत्वपूर्ण रहने छ । जसलेगर्दा आज हामीले जनकपुरधामको नयाँ स्वरुप निर्माण गर्न सकेका छौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापन पछि भएको पहिलो निर्वाचनबाट निर्वाचित भएको अवस्थामा आफुहरुले जनकपुरको सर्वाङ्गीण विकासमा मारेको फडको, जनकपुरधामको लागी अतिआवश्यक हुँदा हुँदै पनि गर्न नसकेका केही कामलाई मुर्त रुप दिन तथा अधुरो योजनाहरुको पूर्णताका साथ जनकपुरधामको प्राचिन गौरव गरिमालाई सुरक्षित राख्दै जनकपुरधामलाई आकर्षक एवं आधुनिक शहरको रुपमा रुपान्तरित गर्ने उद्देश्यका साथ पुनः यहाँहरुको स्नेह र आर्शिवाद प्राप्त गर्न अग्रसर भएका छौ ।
विगतको चार वर्षमा आफ्नो नेतृत्वमा जनकपुरधामको समग्र विकासको लागी भएको कामकाजहरुको लामो फेरहिस्त न्यायप्रेमी जनकपुरवासी समक्ष छरपष्ट रहेको छ , तथापी केही मुख्य मुख्य कुरा यहाँहरु मार्फत जनकपुरधामवासी समक्ष राख्ने प्रयत्न गर्नेछु । विगतको चार वर्षमा गरेका कामहरु, दृढइच्छा शक्ति हुँदै हुँदा पनि गर्न नसकेका केही काम एवं अगामी दिनमा जनकपुरधामको सार्वङ्गीण विकासका लागी आफु संग रहेको योजनाहरु नै आफनो उम्मेदवारीको मुख्य कारण रहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
– लामो समयदेखी विभिन्न अवरोधहरुको कारण बाधित रहेको आइयुडिपी परियोजनालाई निर्वाचित भए लगतै सुचारु गराई जनकपुरको मुहार फेर्ने प्रयत्न गरेको छु ।
जनकपुरधामको ठुलो समस्याको रुपमा रहेको फोहर व्यवस्थापनको लागी ल्याण्डफिल साइट फुलगामामा निर्माण गर्ने निर्णय भएपनि विभिन्न राजनीति र समाजिक कारणहरुले निर्माण हुन नसकेको विषय यहाँहरुलाई अवगत नै छ । आफु निर्वाचित भए लगतै फुलगामाको विकल्प खोज्दै भोइल तथा बसविट्टीमा लैण्डफिल साइट निर्माणको पहल गरे पनि सफल हुन नसकेकोमा दुखी छु । तर लैण्डफिल साइटको आभाव भएपनि जनकपुरधामको सरसफाईको निम्त सक्दो प्रयास गर्दै जनकपुरलाई विगतको तुलनामा सफा राख्न सफल भएको छु । पछिल्लो समयमा जनकपुरधामको फोहर व्यवस्थापनको लागी सोलिड वेस्ट मेनेजमेन्टको डिपिआर तयार गरि सकेको हुँदा अगामी कार्यकालको पहिलो प्राथमिकतामा रहने विश्वास दिलाउन चाहन्छु ।
जनकपुरधामको नेतृत्वमा आएपछि आफनो नेतृत्वमा भएको विकासका कारण पाँच वर्ष अघिको आर्थिक गतिविधिमा अहिले सयौ गुणा वृद्धि भएको कुरा कसैबाट लुकेको छैन ।
आफनै कार्यकालमा जनकपुरधाममा भएको छिमेकी मुलुक भारतीय प्रधानमन्त्री सम्माननीय नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमण गराउन सफल भएकोमा आफुलाई भाग्यमानी ठानेको छु । उहाँहरुको जनकपुरधामको भ्रमणले जनकपुरधामको धार्मिक महत्व विश्वमै स्थापित भएको छ जसका कारण जनकपुरधाममा धार्मिक पर्यटकको संख्यामा कयौगुणा वृद्धि भएको छ । जसले जनकपुरधामको आर्थिक गतिविधिलाई समेत फराकिलो बनाएको छ । आज जनकपुरधामको होटेल धर्मशालाहरुमा खचाखच्च भरिको पर्यटकहरु त्यसकै एउटा कडिको रुपमा रहेको छ । यसका साथै नेपालकै इतिहासमा कुनै पनि विदेशी राष्ट्रप्रमुख सिधै काठमाण्डौ बाहिर अवतरण गर्नुले पनि जनकपुरको गरिमालाई बढाएकोमा सम्पूर्ण जनकपुरधामवासी गौरवान्वित भएको छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि प्रदेशको स्थायी राजधानी घोषणा गराउनु आफैमा चुनौती पूर्ण रहेको थियो । तर प्रदेश सरकार र प्रदेशसभा सदस्यहरुको संगको सम्वाद, सहकार्य र प्रमुख दलका शिर्ष नेताहरु संगको समन्वयमा जनकपुरधामलाई स्थायी राजधानी घोषणा गराउन सफल भएको छु । जसका लागी उपमहानगर भित्रको सवारी कर सम्बन्धि समस्याहुँदा भइ सकेको टेण्डरलाई रद्द गराएर सवारीकर छुट गराउदै राजधानी बनाउने वातावरण निर्माण गर्न सफल भयौ ।
यसका साथै जनकपुुरधामको शिक्षा, स्वास्थ्यमा समेत उपमहानगरपालिकाले खेलेको भूमिका जनकपुरधामवासी सामु छरपस्ट रहेको छ । जनकपुरधाम उमहानगर भएपछि प्रशासनीक कार्यहरुलाई व्यवस्थित गराउन सुविधासम्पन्न कार्यालय भवन तथा वडा कार्यालयहरुको निर्माण समेतलाई उपलब्धिको रुपमा लिएको छु ।
जनकपुरधामको विकासको लागी विगत चार वर्षमा सिमित स्रोत साधनका विच महत्वपूर्ण कार्यहरु गर्न सफल भएपनि थुप्रै महत्वपूर्ण कार्यहरु गर्न अझै बाँकी रहेको महशुस गर्दै पुनः आफनो दावेदारी प्रस्तुत गरेको छु ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागी भएको मधेश विद्रोहका शहीदहरुको सम्मानमा जनकपुरधाम उमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशद्वारमा शहीद स्मार्क निर्माण गर्दै भगवानको श्रीरामको प्रतिमा राखि सकेको छ भने अगामी दिनमा जनकपुर–जटही सिक्स लेन अर्थात भारत बाट जनकपुरधाम प्रवेश हुने मुख्यद्वारमा शक्ति र संस्कारको अनुपम उदाहरणको रुपमा माता सिताले शिव धनुषलाई हाथमा लिई पुजा कोठा सफा गर्दै गरेको दृश्य सहितको प्रवेश द्वारा तथा जलेश्वर जनकपुर सडक खण्डमा लोकनायक सलहेस एवं दिनाभद्री लगायतको प्रतिमा सहितको प्रवेशद्वार निर्माण गरिने योजना बनाएको छु । जसको डिपिआर समेत निर्माण भई सकेको छ ।
जनकपुरधाममा अन्तराष्ट्रिय स्तरको सभागृहको आवश्यकतालाई मध्यनजर गर्दै राजा जनकको दरवारको शैलीमा आकर्षक एवं आधुनिक सुविधायुक्त सभागृह निर्माण गर्ने योजना बनाएको छु । जसको प्रारम्भिक अध्यनको काम पुरा भई सकेको हुँदा अगामी कार्यकालमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।
मिथिला संस्कृति, कला, नाटक , साहित्य , भोजनका परिकारहरुको संरक्षण , सम्वद्र्धन गर्न प्रत्येक वर्ष अन्तराष्ट्रिय मिथिला महोत्सवको आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्दछु । साथै मिथिला चित्रकलाको संरक्षण र सम्बद्र्धनको लागी नारि विकास केन्द्रको पुनरउत्थान गरिने विश्वास दिलाउन चाहन्छु ।
जनकपुरधामको धरोहरको रुपमा रहेको यहाँको मठ मन्दिर, गुठी तथा सार्वजनिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनलाई प्राथमिकतामा राख्ने छु ।
जनकपुरधामको वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पु¥याई रहेका यहाँका रिक्सा चालक (अटो रिक्सा, इरिक्सा) हरुलाई स्वास्थ्य तथा दुर्घटना विमाको व्यवस्था गर्नेछु ।
जनकपुरधामको शैक्षिक विकासको लागी श्री याज्ञवल्क्य संस्कृत न.मा.वी जनकपुरधाम ८ र गोगल प्रसाद नमुना मावि बसहिया लाई नमूना विद्यालयको रुपमा अघि सारिएको छ । जुन अहिले विद्यार्थीहरुको लागी आकर्षणको केन्द्र बनि सकेको छ भने जनकपुरधामको सबैभन्दा पुरानो विद्यालय सरस्वति मावि एवं कन्या माविलाई बुढा निलकण्ठको मोडेलमा अघि बढाउने योजना बनाई सकेको छु । बुढा निलकण्ठ संग ओएमयु गरेर अघि बढने प्रतिबद्धता व्यक्त गर्दछु ।
नेपालकै प्रतिष्ठीत क्याम्पसको रुपमा रहेको रा.रा.वको पुरानो शैक्षिक गरिमालाई पुनस्थापित गर्न त्रिभुवन विश्वविद्यालय संग समन्वय र सहकार्य गर्नेछु ।
जनकपुरधाम र अयोध्या विच रहेको भगिनी सम्बन्धलाई थप मजबुत बनाउन जनकपुरधामका साधु सन्तहरुलाई अयोध्यासम्मको निशुल्क धार्मिक भ्रमणको व्यवस्था मिलाउने छु ।
पोखरीहरुको शहरको रुपमा परिचित जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी (तालउ)हरुको वातावरणीय संरक्षण तथा सौन्दर्यीकरण गर्ने छु ।
स्वास्थ्य चौकीहरुलाई डोर टु डोर सेवाको रुपमा रुपान्तरण गर्ने छु ।
जनकपुरधाम उपमहानगरको सेवाहरुलाई जनताको घरदैलोमा पु¥याउन ऐपको निर्माण गरि सर्वसाधारणलाई सुलभ सेवा प्रदान गर्नेछु ।
पोखरीको डिल तथा खुला ठाऊहरुमा वृक्षारोपण गरि वातावरण संरक्षणका साथैै खुला व्यायामशाला निर्माणको अध्ययन भई सकेको हुँदा अगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
आधुनिक कृषि बजारको डिपिआर एवं सम्भाव्यता अध्ययन भइ सकेको हुँदा अगामी दिनमा कार्यान्वयन लगि आधुनिक सुविधा सम्पन्न बजार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
लाल किशोर साह
गठबन्धन तर्फ बाट प्रमुख पदका उम्मेदवार
जनकपुरधाम उपमहानगरपालिका
जनता समाजवादी पार्टी नेपाल

