गरुडा । रौतहटको गढिमाई नगरपालिकाको मेयरमा दुई पक्षीय भिडन्त हुने भएको छ ।
गढिमाई नगर प्रमुखका लागि जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल कलाम आजाद (फुलबाबु) र नेपाली कांग्रेसका श्याम प्रसाद यादवबीच मात्र प्रतिस्पर्धा हुने देखिएको छ । नगर प्रमुखका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी २३ जनाको उम्मेदवारी परेको छ । यी २३ जना मध्ये जसपाका मेयरका उम्मेदवार फुलबाबु र कांग्रेसका श्याम यादवबीच भिडन्त हुने देखिएको छ । यी दुबै जना आफैमा बलियो उम्मेदवार रहेको कारण मेयरमा कडा प्रतिस्पर्धा हुने बताइएको छ । यसअघि कांग्रेसबाटै मेयरमा निर्वाचित श्याम यादव फेरि दोश्रो कार्यकालका लागि उम्मेदवारी दिएका छन् । आफना साढे चार वर्षको कार्यकालमा श्याम यादव नगरमा उदाहरणीय विकास निर्माण लगायतका थुप्रै कामहरु गरेका कारण उनलाई जनताले फेरि यसपटक पनि साथ दिने अनुमान गरिएको छ । यस्तै प्रदेश सांसद पदबाट राजीनामा दिएर जसपाबाट फुलबाबु गढिमाई नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् ।
२०७४ सालको निर्वाचनमा स्वतन्त्रबाट प्रदेश सांसदमा निर्वाचित उनी यसपटक मेयर बन्न मैदानमा उत्रेका छन् । श्याम यादव पुरानो अनुहार हुन भने फुलबाबु नयाँ अनुहारको रुपमा चुनावी मैदानमा उत्रेका छन् । यादवलाई एकपटक मौका दिइसकेकोले आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नयाँ अनुहार फुलबाबुलाई साथ दिएर जिताउने भनी नगरमा चर्चा परिचर्चा सुरु भएको छ । शेख फुलबाबु पनि आफैमा धेरै मजबुत र ठूलो जनमत भएको नेताको रुपमा परिचित छन् । यादव र फुलबाबु बीच हुने महाभिडन्तमा कसले बाजी मार्छ भन्ने कुरा अहिले नगरमा मात्र नभइ रौतहटभरि नै चर्चाको विषय बनेको छ । अघिल्लो निर्वाचनको अङ्क गणितलाई आधार मान्ने हो भने गढिमाई नगरपालिकामा पुनः कांग्रेस नै वर्चस्व जमाउने संकेत छ । यादव र फुलबाबु दुबै जना आफैमा बलियो उम्मेदवार रहेकोले को जित्ने र को हार्ने भनी अहिले नै अनुमान लगाउन नसकिने भए पनि गत निर्वाचनमा विजय हासिल गरेका नेपाली कांग्रेसले यसपाली पनि जित्ने सम्भावना उच्च रहेको छ । फुलबाबु पनि यसअघि स्वतन्त्रबाट प्रदेश सांसदमा निर्वाचित भएका कारण उनलाई मेयरमा जित्न निकै सजिलो रहेको स्थानीयहरु बताउँछन । यता गरुडा नगरपालिकामा यसपटकको स्थानीय तहको चुनावमा मेयरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
गरुडा नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी नेपालका अनिल यादव, नेकपा एमालेका कन्थमनी प्रसाद जयसवाल र नेपाली कांग्रेसका सुनिल यादवबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कांग्रेसका सुनिल यादव र एमालेका जयसवालले यसअघिको चुनावमा मेयरमा लडेका थिए तर जसपाका उम्मेदवार अनिल यादवका बुबा हालका मेयर इनु राय यादवसँग झिनो मतले मात्र पराजित भएका थिए । २०७४ सालको चुनावमा आफनो बुबा इनु राय यादव मेयरमा जितेपछि नगरमा थुप्रै विकास निर्माणको काम गरेकोले यसपटक पनि जनताले अधुरो रहेको कामहरु पूरा गर्नका लागि आफूलाई नै जिताउने जसपाका उम्मेदवार अनिल यादवको दाबी छ तर हालका मेयर यादवले विकासको नाममा ब्रहमलुट मच्चाएको, जनताको चाहना अनुसारको काम नगरेकोले जनताहरु अनिललाई साथ नदिई आफूलाई साथ दिने एमालेका उम्मेदवार कन्थमनी जयसवालको दाबी छ । आफू पदमा नरहँदा पनि विगतका दिनमा समाजसेवा गर्दै आएकोले जनताले आफनो पक्षमा मत खसाल्न आतुर रहेको जयसवालको भनाइ छ ।
यता कांग्रेसका उम्मेदवार सुनिल यादवले पनि आफनो जित सुनिश्चित रहेको दाबी गर्छन । अनिल यादवका बुबाको कार्यकाल जनताले देखिसकेको हुँदा अब पुनः यादवलाई नै अवसर दिने पक्षमा नगरवासी नभएको स्थानीयहरु बताउँछन् । अनिल यादवका बुबाको कार्यकालदेखि अधिकांश नगरवासी असन्तुष्ट छन् । उनले सरकारी सेवा सुविधा पनि केही लिँदैन भनेर करोडौँको गाडी चढ्नु र निर्वाचन ताका गरेका प्रतिवद्धता एवम् खाएका कसमहरु बिर्सिएर जनतामा करको बोझ लादेका कारण पनि नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने नगरवासीको धारणा पाइन्छ ।