२०७९ बैशाख १५, बिहीबार ०७:२७

जनकपुरधाम ।स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा सत्तासीन दलहरुले गरेको गठबन्धनलाई वडा अध्यक्षका उम्मेदवारहरुबाट डर देखिएको छ ।

मेयर र उपमेयरमा गठबन्धन गरेका सत्तासीन दलहरुले वडालाई वेवास्ता गर्दा हाल त्यसको व्यवस्थापन नै जटिल बनेको छ ।वडा अध्यक्षका उम्मेदवारहरुले सम्बन्धित दलका मेयर र उपमेयरका लागि मात्र मतदान गर्ने बताउन थालेका छन् ।मेयर र उपमेयरका उम्मेदवारहरुले आ–आफ्नै दलका वडा अध्यक्षको पक्षमा प्रचार गरेका छन् । मेयर रहेका दलबाट सबै वडामा उम्मेदवार खडा गरिएकाले यस्तो समस्या आएको छ ।मेयर र उपमेयर मध्ये दुबै नपाएका दलबाट वडा अध्यक्ष लडेका उम्मेदवारले माथिल्लो पद पाएका दलहरुले वडाअध्यक्ष छाड्नु पर्ने माग गरेका छन् । मधेश प्रदेशको वीरगञ्ज महानगरपालिका, कलैया, जीतपुर सिमरा र जनकपुरधाम उपमहानगरपालिकामा वडा अध्यक्ष नै गठबन्धनका लागि घाँडो भएको छ ।गठबन्धन भएका पद बाहेकका पदहरुमा सबै दलले उम्मेदवारी दिएका छन् ।गठबन्धनका सबै चारवटै दलबाट वडामा उम्मेदवारी परेकाले सत्तासीन गठबन्धनको पक्षमा वातावरण बन्न सकेको छैन् ।गठबन्धनका लागि अब वडा अध्यक्षमा तालमेल गर्ने समय पनि घर्किन लागेको छ ।

वडाअध्यक्षमा तालमेल नभएकै कारण गठबन्धनको पक्षमा चुनावी माहोल बन्न नसकेको नेकपा एकीकृत समाजवादी(एस) बाट जनकपुरधाम उपमहानगरपालिकामा मेयरका प्रत्याशी रहेका डा.अजय कुमार झाले बताए ।‘मेयर अथवा उपमेयर र सबै वडा अध्यक्ष एउटै दलको भएका छन्’ उनले भने, तालमेल गर्दा मेयर भएको दलका सीमित वडा अध्यक्ष दिएर बढी अन्य दलहरुलाई दिनु पर्ने थियो । ‘वडामा तालमेल नहुँदा गठबन्धन नै धरापमा पर्न लागेको छ ’डा.झाले भने, मेयर जसपाको र उपमेयर कांग्रेसको र सबै वडामा पनि ती दलकै उम्मेदवारहरु छन् ।त्यसकारण गठबन्धनका मेयर र उपमेयरको पक्षमा वडा अध्यक्षहरु प्रचार गर्न तयार हुन नसकेको उनको कथन छ ।‘गठबन्धन गरेकै बेला वडामा समेत तालमेल मिलाउनु पर्ने थियो’ उनले भने, शीर्ष नेताहरुले पोखरा र चितवनमा वडासम्म गरे जस्तै मधेश प्रदेशमा पनि गर्न सक्नु पथ्र्यो । वीरगञ्ज, कलैया, जितपुरसिमरा र जनकपुरधाममा गठबन्धनकै वडा अध्यक्षका उम्मेदवारहरुबाट चुनौती थपिएको छ ।विपक्षी दलहरुको भन्दा आफ्नै सहयोगी दलका वडा अध्यक्षका उम्मेदवारहरुको भूमिकाले चुनावको परिणाम फेर्न सक्ने आशंका नेताहरुले गर्न थालेका छन् । वडा स्तरमा तालमेल नहुँदा मधेश प्रदेशमा दलहरुबीच अविश्वास उत्पन्न हुन लागेको जनता समाजवादी पार्टी(जसपा)मधेश प्रदेश समितिका उपाध्यक्ष शेषनारायण यादवले चिन्ता व्यक्त गरे ।केन्द्रीय सहमति अनुसार मेयर र उपमेयरमा गठबन्धनलाई मतदान गर्ने र वडामा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको उनले बताए । ‘मित्रवत भनिए पनि त्यसको मर्म र भावना अनुरुप उम्मेदवारहरुले काम गरेको देखिदैन्’ उनले भने, गठबन्धनबाट वडाअध्यक्षमा उम्मेदवार भएका सबै एकैसाथ मेयर र उपमेयरको पक्षमा लाग्नु पर्छ ।वडा तहमा मित्रवत प्रतिस्पर्धाबाट जो आए पनि ठिकै हुने मान्यता राख्नु पर्नेमा उनको जोड छ ।

गठबन्धनका लागि वडा अध्यक्षहरुमा तालमेल नहुनु ठूलो समस्या बन्न थालेको उनले बताए ।गठबन्धनका दलहरुबीचको तामलेललाई प्रभावकारी बनाउन सबै दलका शीर्ष नेताहरुले एकसाथ निर्देशन जारी गर्नु आवश्यक रहेको यादवले जनाए । गठबन्धनमा देखिएको समस्याबाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र नेकपा एमालेका उम्मेदवार र नेताहरु उत्साहित देखिएका छन् ।गठबन्धनमा रहेका ४ दलको संगठनात्मक मतको भन्दा धेरै पछाडि रहेका केही दलहरुले वडा तहमा देखिएको भद्रगोलबाट हौसिएका छन् । वडा स्तरमा गठबन्धन हुने संभावना अब समाप्त भइसकेको छ ।बलपूर्वक वडामा तालमेल गर्न खोजिए त्यसको परिणाम झन खतरनाक हुन सक्ने विश्लेषक प्राध्यापक परमेश्वर कापडी बताउँछन् ।‘वडामा तालमेल नगर्नु गठबन्धनमा रहेका दलहरुका लागि खतरनाक हुन सक्छ’ उनले भने, गठबन्धनमा रहेका दलहरुले वडाअध्यक्षका उम्मेदवारहरुलाई चलाउनु भन्दा उनीहरुलाई विश्वासमा लिन सक्नु उपयुक्त हुनेछ ।

Comment


Related News

Latest News

Trending News