जनकपुरधाम ।स्थानीत तह निर्वाचनको प्रचार प्रसारले तिब्रता पाइरहेको बेला तराई/मधेश केन्द्रित दलहरुका शीर्ष नेताहरु भने देखिएका छैनन् । तराई/मधेशलाई केन्द्र बनाएका जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का शीर्ष नेताहरु प्रचार प्रसारमा लागेका छैनन् । यद्यपी उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।घरदैलो र जुलुस उम्मेदवारहरुको प्राथमिकतामा परेका छन् ।
शीर्ष नेताहरुको आगमन नहुँदा कतिपय पालिकाका उम्मेदवारहरु समस्यामा देखिएका छन् ।उपमहानगर, महानगर, नगर र गाउँपालिकामा समेत विद्रोही उम्मेदवारहरु रहेकाले टिकटधारी उम्मेदवारहरुलाई उनीहरुबाट चुनौती थपिएको छ । विद्रोही उम्मेदवारहरुको व्यवस्थापन गराउन टिकटधारीहरुले शीर्ष नेताहरुलाई गुहारेका छन् ।तर शीर्ष नेताहरुले चासो नदेखाएको उनीहरुको दुखेसो छ ।कतिपय पालिकामा टिकटधारी भन्दा बिद्रोही उम्मेदवार नै भारी परेकोछ । टिकट वितरणबाट उत्पन्न आक्रोश समान्य भएपछि नेताहरु प्रचारमा उत्रने बताइएको छ ।‘आक्रोशित कार्यकर्ताहरुले अप्रिय अवस्था सृजना गर्न सक्ने भय नेताहरुमा हुन सक्छ ’लोसपाका एकजना नेताले भने, एक÷दुई दिनमा नै स्थिति समान्य हुन्छ र नेताहरु चुनावी सभामा आउने छन् ।मधेश प्रदेशमा गठबन्धन भएका दलहरुमा पनि तिब्र असन्तुष्टि रहेको छ ।गठबन्धनको अवधारणा अनुरुप संयुक्त प्रचार प्रसार समेत सुरु भएको छैन् ।गठबन्धनमा रहेका दलहरुले प्रमुख र उपप्रमुखमा टिकट पाएकाहरुमा पनि तालमेल देखिएको छैन् । जनकपुरधाम उपमहानगरपालिकामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मेयरका उम्मेदवार लालकिशोर साह दलबलका साथ थिए ।नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार किशोरी साह मात्र सहभागी थिए ।माओवादी केन्द्र र नेकपा एसका प्रतिनिधिहरु समेत देखिएन् ।
जनकपुरधाम उपमहानगरमा लोसपा, एमाले , जनमत पार्टी लगायतले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।तर समस्या ती दलहरुमा पनि देखिएको छ । नेताहरु प्रचार प्रसारमा अब चाँडै आउने लोसपा धनुषाका अध्यक्ष परमेश्वर साहले बताए ।‘स्थानीय तहको चुनावका लागि शीर्ष नेताहरु २५ गतेबाट प्रचार प्रसारमा उत्रने छन्’ उनले भने, जिल्लाको सदरमुकाम अथवा सबै पालिकाहरुको पायक पर्ने सहर बजारमा कार्यक्रम आयोजना हुनेछ । शीर्ष नेताहरुले प्रमुख सहर बजारमा चुनावी सभा गर्ने र आवश्यकता अनुसारको भेंटघाट गर्ने अध्यक्ष साहले बताए ।बैशाख ७ गते सम्म मात्र प्रचार प्रसार हुने भएकाले समयाभावको कारण नेताहरुले सबै पालिकामा सभा गर्न संभव नभएको उनले जनाए । जसपाको समस्या पनि उस्तै छ ।मधेश प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकामा सत्तासीन गठबन्धनबाट जसपाका राजेशमान सिंह मेयरका प्रत्याशी हुन् ।उम्मेदवारी दर्तामा जसपाका अध्यक्ष उपेन्द्र यादव रहेका थिए ।तर त्यसपछि सुरु भएको प्रचार प्रसारमा यादव सहितका शीर्ष नेताहरु देखिएका छैनन् ।हुनत वीरगञ्जमा प्रचार प्रसारको कमाण्ड संघीय सांसद प्रदिप यादवले सम्हालेका छन् ।
चुनावको दोस्रो चरणमा शीर्ष नेताहरु प्रचार प्रसारमा लाग्ने जसपा मधेश प्रदेशका उपाध्यक्ष शेषनारायण यादव बताउँछन् ।‘चुनाव प्रचार प्रसारको काम हाल पालिका स्तरबाट भइरहेको र प्रदेश समिति पनि लागेको छ ’उनले भने, आवश्यकता अनुसार शीर्ष नेताहरुले जिल्ला स्तरीय चुनावी सभालाई सम्बोधन गर्ने छन् ।उपमहानगर र महानगरमा शीर्ष नेताहरुले बढी ध्यान दिएको उनले बताए । ‘पालिका स्तरमा झण्डा र पर्चा पोष्टर लगाउने, घरदैलो लगायतका प्रचारात्मक कार्यक्रमहरु भइरहेको छ ’ उनले भने, स्थानीय तहको चुनावमा उम्मेदवारहरुले नै मतदाताको घरदैलोमा पुगेर मतदानका लागि आग्रह गरिरहेका छन् । वडा स्तरमा गठबन्धन नभएकाले उपमहानगर र महानगरपालिकामा समस्या देखिएको उनले बताए ।त्यसका लागि शीर्ष नेताहरुले पहल गर्ने उनको विश्वास छ ।गठबन्धनमा रहेका दलका नेताहरुले कार्यकर्तालाई निर्देशन दिएपछि हाल देखिएको समस्या समाधान हुने यादवले बताए । गठबन्धनमा रहेका नेपाली कांग्रेसमा विरोधको स्वर मत्थर भइरहेको छैन् ।कांग्रेसका समर्थकहरुले विद्रोही उम्मेदवारलाई सघाउने चिन्ता जसपाका नेताहरुमा देखिएको छ ।



