जनकपुरधाम । जनकपुरधाम उपमहनगरपालिकामा दुई जना स्वतन्त्र मेयर सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका हुन् । त्यसैगरी उपमेयरमा विश्वनाथ साह सुडिले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मेयरका दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपनि प्रमुख दलहरुको चुनावी समिकरणमा भने कुनै प्रभाव नपर्ने जानकारहरु बताउँछन् । उम्मेदवारी फिर्ता लिएका दुबै जनाको कुनै खास पार्टीसंग लगाव नभएकोले पनि त्यसको प्रत्यक्ष प्रभाव कुनै दलका उम्मेदवारलाई नपर्ने देखिन्छ । जनकपुरधाममा सत्तारुढ गठबन्धनले जसपाका लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएका छन् । सत्तारुढ गठबन्धन दलका कांग्रेसबाट जनकपुर नगरसभापति मनोज साहले बागी भइ उम्मेदवारी दिएका छन् । मनोज साह कांग्रेस पार्टी परित्याग गरी स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरीत जसपालाई जनकपुरको नेतृत्व गर्न दिएको भन्दै उनले काँग्रेस परित्याग गरेका थिए । कांग्रेसले कार्यकर्ताको भावना विपरीत गठबन्धन गरेको भन्दै आम कांग्रेसी समर्थन आफुलाई रहेको मनोज साहले दाबी गर्दै आएका छन् ।
यस्तोमा मनोज साहले उम्मेदवारी फिर्ता नलिएपछि त्यसको प्रभाव सत्तारुढ गठबन्धनमा पर्ने निश्चत छ । त्यसैगरी सत्तारुढ गठबन्धन दलले भागबण्डामा जनकपुरधामको उपमेयरमा कांग्रेसका किशोरी साहलाई उम्मेदवार बनाएको छ । त्यस्तै काँग्रेसबाट निर्मल चौधरीले उपमेयरमा उम्मेदवारी दिएका छन् । चौधरीलाई उम्मेदवारी फिर्ता गराउन प्रयास गरे पनि उनले उम्मेदवारी फिर्ता गरेका छैनन् । चौधरी विहीबार साँझ कांग्रेस परित्यागको घोषणा गरेका थिए । मारवाडी समुदायका चौधरी लामो समयदेखि कांग्रेसमा सक्रिय छन् । यस्तोमा उनी वागी भएपछि सत्तारुढ गठबन्धन चुनावी अभियानमा प्रभाव पर्ने निश्चत देखिन्छ । नेकपा एमालेबाट पनि मेयर र उपमेयरमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । एमालेले मेयरमा शिवशंकर साह हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको छ । लामो समयदेखि कम्युनिष्ट पार्टीमा सक्रिय रहेका रामकेवल साहले मेयर र उमेश चौधरी उपमेयरमा बागि उम्मेदवारी दिएका छन् । पार्टीका शीर्ष नेताहरुले यि दुबैलाई उम्मेदवारी फिर्ता गराउन खासै पहल गर्न सकेका छैन । एमालेका मेयरका उम्मेदवार हिराले एमालेको दुबै जना बागी लामो समयदेखि पार्टीमा निस्क्रिय रहेकाले उनीहरुको उम्मेदवारीले आफूहरुलाई खासै प्रभाव नपर्ने दाबी गरेका छन् ।
त्यसैगरी लोसपा परित्याग गरी केही दिन अघि मेयरको टिकट पाउने आशमा एमालेमा प्रवेश गरेका जनकपुर– ७ का निर्वतमान वडाध्यक्ष जानकी राम साह टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । तर टिकटकै लागि आएका साहले टिकट नपाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएपछि नेकपा एमालेको चुनावी अभियानमा कुनै फरक नपार्ने हिराको दावि छ । तर जानकी राम साहले भने आफुलाई एमालेको साथै लोकतान्त्रिक समाजवादी पार्टीका अधिकांश कार्यकर्ताहरुको सर्मथन रहेको दावि गरेका छन् । त्यस्तोमा जानकी राम साह एमाले र लोसपा दुवै पार्टीका उम्मेदवारलाई प्रभाव पार्न सक्ने जानकारहरुको भनाई छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As&t=13s


