जनकपुरधाम । जनकपुरधाम उपमहानगर पालिकाको पार्टी नगर प्रमुख समेत रहेकाका स्वतन्त्रमा उम्मेदवारी दिएका मनोज साहले मलाई पार्टीले कारवाही होइन मंैले आफै पार्टी परित्याग गरेको जिकिर गरेका छन् ।
पार्टी एवम गठबन्धनको निर्णय विरुद्ध उनले जउनपाको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसले बागी उम्मेदवारहरुले शुक्रबार सम्म उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको थियो । समयसीमा सकिए पनि मेयरका प्रत्याशी साहले भने उम्मेदवारी कायमै रहेको बताएका छन् । पार्टी सभापति शेयरबहादुर देउवाको आग्रहलाई अस्वीकार गर्दै निर्वाचन आयोगले दिएको समय सीमा सकिए पनि साहले मनोनयन फिर्ता लिएका छैनन् । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको जानकारी दिँदै साहले भने,‘मलाई पार्टीले के कारवाही गर्छ मैले त पहिला नै पार्टी परित्याग गरेको घोषणा नै गरिसकेको छुँ त्यसैले पार्टीले मलाई कारवाही गरे नगरेको कुनै अर्थ राख्दैन ।’ निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय निर्धारण गरेको थियो । तर, कांग्रेस जनकपुरधामका नगर सभापति समेत रहेका उनले आफ्नो उम्मेदवारी फिर्ता नलिएको बताएका छन् । टुडेकर्मीसंगको कुराकानीमा उनले भने,‘मेरो उम्मेदवारी कायमै छ म गठबन्धनालाई कदापि स्विकार गर्न सक्दिन ।’ उनले आफूले बैशाख ९ गते नै औपचारिक रुपले पार्टी परित्याग गरिसकेकोले गठबन्धनको निर्णयले आफूलाई केही फरक नपर्ने बताए ।
शुक्रबार बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने निर्णय गरेको थियो । गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय समेत गठबन्धनको बैठकले गरेको स्रोतले जनाएको छ ।


