२०७९ बैशाख १९, सोमबार ०७:४६

जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीले आसन्न स्थानीय तह निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार जनकपुरधाममा रहेको पार्टी अध्यक्ष वृषेशचन्द्र लालको निजी निवासमा पत्रकार सम्मेलनको आयोजना गरी तमलोपाले दुई फरक–फरक चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय जनताको आधारभूत सेवा एवं सुविधा उपलब्ध गराउन घरवारविहीन गरीब, दलित, जनजातिलाई आधारभूत आवास व्यवस्थापन, ग्रामीण बजार, बैंक, एटीएम, सहकारीको व्यवस्था, स्ट्रीट लाईटको व्यवस्था, शुद्ध पेयजलको व्यवस्था, पालिका बसोवास भित्र बाह्रै महिने सडक सञ्जाल विस्तार गरिने लगायतका प्रतिवद्धताहरु सार्वजनिक गरिएको घोषणापत्रमा उल्लेख छ । त्यसै गरी युवा शक्तिको विकासका लागि प्रत्येक वडामा खेल मैदान, ई– पुस्तकालय, इनडोर खेल सुविधा, योग ध्यान केन्द्र, रोजगारमूलक सीप प्रशिक्षणको व्यवस्था, विदेशिने प्रवृत्तिलाई निरुत्साहित गर्दै लघु उद्यम, स्वरोजगार र सामाजिक स्वयंसेवकको प्रवद्र्धन तथा आयमूलक वृत्तिलाई अनुदान, ऋण आदिको व्यवस्था र पालिका स्तरीय सीपमूलक तालिम केन्द्रको स्थापना, बेरोजगार युवहरुलाई न्यूनतम श्रम रोजगारी र आयआर्जन लगायतका व्यवस्था गरिने घोषणापत्रमा समावेश गरिएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले मधेश आन्दोलनको मर्मलाई अंगीकार गरी मधेशको मुद्दामा खडा उत्रिने एक मात्र पार्टी तमलोपा रहेको जिकिर गरे । उनले पार्टीको गठन सत्ताको लागि नभइ मधेश आन्दोलनको मुद्दालाई स्थापित गर्नका लागि भएको दाबी गरे । तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले स्थानीय स्तरमा बढदै गएको आर्थिक अनियमितता, भ्रष्टाचार र योजना खरीद बिक्रीको बढ्दै गएको विकृतिलाई निरुत्साहित गर्न तमलोपा निर्वाचनमा भाग लिँदै विभिन्न स्थानमा उम्मेदवारी दिएको बताए । सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका प्रत्याशी विभा ठाकुरले मधेश आन्दोलनको अधिकार स्थापित गर्नका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले जनकपुरधामको पर्यटकीय रुपमा विकास तथा प्रवद्र्धन, भाषा संस्कृतिको संरक्षण, नगरको सरसफाइ तथा डम्पिङ्ग साइटको व्यवस्था, शिक्षा, स्वास्थ्य, हरेक निकायमा महिलाको पहुँच, युवा शक्तिको विकास एवं विदेशिने युवाहरुलाई स्थानीयस्तरमै रोजगार तथा सहुलियत ऋणको व्यवस्था लगायतका उद्देश्यसहित आफूले मेयर पदमा उम्मेदवारी दिएको समेत उल्लेख गरिन् । सम्मेलनमा पार्टीका तर्फबाट उपमेयर पदका उम्मेदवार ईश्वर पण्डित पनि सहभागी भएका थिए । संयूक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News