अपडेट 
२०७९ बैशाख १९, सोमबार १६:१८

निर्वाचन आयोगले पार्टी कार्यालय बाहेक अन्य स्थानमा दलको झन्डा र चुनावचिन्ह नराख्न निर्देशन दिएको छ । सोमबार आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारहरुले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य सामग्री नबजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन नगर्न निर्देशन दिएको हो ।

आयोगले आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध समेत गरेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले २५ चैत २०७८ देखि निर्वाचन आचार संहिता लागू गरिसकेको भन्दै आयोगले सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने प्रावधान रहेको स्मरण गराएको छ ।

आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न निर्देशन दिएको छ ।

सार्वजनिक स्थानमा आचार संहिता विपरीत प्रचारात्मक सामग्री राखेको पाइए स्थानीय तहको उम्मेदवारले नै सो सामग्री राखेको ठहर गरी सोही दल वा उम्मेदवारले उक्त सामग्री हटाउनु पर्ने आयोगले भनेको छ । आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना हुने आयोगले जनाएको छ ।

कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको रहेको स्मरण आयोगले गराएको छ ।

 

Comment


Related News

Latest News

Trending News