जनकपुरधाम । इस्लाम धर्मावलम्बीहरुले मंगलवार महान चाड ईद उल फित्र (ईद) मनाउने भएको छ ।
खाडी मुलुक सउदी, कतार लगायतका देशहरुमा सोमबार नै ईद पर्व मनाउने सूचना सार्वजनिक भएपछि नेपाल, भारत, पाकिस्तान, बंगलादेश लगायतका देशका मुस्लिमहरु मंगलबार मात्रै ईद पर्व मनाइने जनाएको छ । ३० दिन अर्थात एक महिना रोजा बस्नु पर्ने ईस्लामिक धर्म ग्रन्थ कुरान सरिफमा उल्लेख भए अनुसार सोमबार साँझ चन्द्रमा नदेखिए पनि ३० वटा रोजा पूरा गरेर यहाँ मुस्लिम समुदायले ईद पर्व मनाउने मौलना अहमद हुसैनले जानकारी दिए । ईदमा सेवइ, खीर तथा अन्य मिठो परिकार पकाएर खानपानसाथै सामूहिक रुपमा भोजको आयोजना गर्ने परम्परा रहिआएको छ । त्यस्तै ईदका दिन परिवारको हरेक सदस्यको लागि नयाँ लुगा फाटो खरिद गर्ने गरिन्छ ।
जनकपुरधाम उपमाहनगरपलिकाका पूर्व उपमेयर असगर अलिले भने,‘ईदको नमाज पढ्नु पूर्व घरका प्रत्येक सदस्यका लागि नयाँ लुगाकपडा लगाउनु जरुरी छ र त्यसका लागि गरिब, असहायलाई मनकारीहरुले सहयोग गर्ने गरेका छन् । ईदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ (सफा) भइ नयाँ कपडामा नजिकका ईदगाह नमाज पढ्ने स्थानमा सामूहिक रुपमा नमाज अदा गर्ने (पढ्ने) परम्परा समेत रहिआएको छ । सो अवसरमा नमाज(प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा ईद मुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् । ईदको नमाज पढ्नु भन्दापूर्व रोजामा भएको त्रुटि वा रोजामा शुद्धताका लागि प्रत्येक व्यक्तिले २ किलो ४५ ग्रामको दरले गहुँ परिवारका सबै सदस्यहरुले फितराको रुपमा वा त्यति बराबरको रकम अनिवार्य रुपमा मदरसा तथा गरिबलाई दान गर्नुपर्ने हुन्छ । इस्लामिक महिना सवाण समाप्त भएपछि ३० दिन अघि रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखेपछि रोजा ( व्रत ) बस्ने क्रम शुरु भएको थियो । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारिपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउनसक्ने अनुमान गर्न सकिन्छ ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्ने काम गर्वकासाथ गर्ने गर्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्धजन्य पदार्थ, मासुका परिकार, फलफूल आदि खाने प्रचलन छ । रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौं महिना हो । इस्लाम धर्मका ५ वटा आधार स्तम्भ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रो नम्बरको हो । यसैबीच ईदको अवसरमा मंगलबार प्रदेश २ सरकारले सार्वजनिक विदाको दिएको छ ।