अपडेट 
२०७९ बैशाख २०, मंगलवार ०७:२५

दलीय गठबन्धन र दलमा पर्ने सक्ने प्रतिकूलतालाई दृष्टिगत गरी नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विद्रोही उम्मेदवारलाई वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराउन निर्देशन दिएको छ ।

पार्टीले पाँच दलीय गठबन्धन अनुसार महानगर , उपमहानगरपालिकामा उम्मेदवारको चयनमा निष्ठावान कार्यकर्ताको उपेक्षा , रकमको चलखेल भएको भन्दै केही कार्यकर्ताले पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दर्ता गराएपछि कांग्रेसले यस्तो निर्देशन दिएको हो । पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेवारीले गठबन्धनमा नै अविश्वासको अवस्था सिर्जना भएको छ । कांग्रेसमा गुटगत उम्मेदवारको चयनले विगतमा घात र अन्तरघातका दुष्परिणाम पार्टीले व्यहोरो इतिहाससमेत साक्षी छ । मेयर र उपमेयरमा गबठबन्धन भए पनि वडा अध्यक्ष र सदस्यमा गठबन्धन नभएका कारण गठबन्धन अनुसार मत प्राप्त हुने अन्योल अवस्थामा गठबन्धन कै पार्टीबाट आधिकारिक निर्णय विरुद्ध उम्मेदवारीले जटिलता थपिएको महसुस गरी विद्रोही उम्मेवारलाई उम्मेवारी निष्क्रिय गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपरान्ह ५ बजेसम्म विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ताको समय निर्धारण गरेको थियो । आयोगको सो समयावधिमा कतिपय स्वयम्ले उम्मेदवारी फिर्ता लिएको र कतिपय उम्मेदवारी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) बमोजिम तोकिएको पदाधिकारीले फिर्ता लिन सक्ने व्यवस्था छ ।

यसअघि कांग्रेसले तोकिएको समयावधिमा विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएमा पार्टीबाट स्वतः निष्काशन हुने चेतावनी समेत दिएको थियो । सो सम्बन्धमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताका लागि केन्द्र र प्रदेश कार्य समितिबाट लेखी पठाइएकोमा कतिपय ठाउँमा प्राविधिक कारणले फिर्ता लिएका र गरिएका उम्मेदवारको नाम पनि सूचीमा कायमै रहेको देखिएको उल्लेख छ । कतिपय स्थानीय तहमा पार्टीद्वारा चयन गरिएका उम्मेदवारको सूचीमा आफू नपरेका कारण असन्तुष्टि र आवेगमा विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनुपर्ने समयावधि गुज्रिसकेको अवस्थामा कांग्रेसले पुनः यस्तो निर्देशन जारी गरेको छ । विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसले निर्देशन दिएको छ । यसका साथै पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन पनि कांग्रेसले आह्वान गरेको छ ।

Comment


Related News

Latest News

Trending News