अपडेट 
२०७९ बैशाख २०, मंगलवार ०७:३७

हिन्दी भाषाका एक जना प्रगतिवादी कवि राम अवतार त्यागीले एक ठाउँमा लेखेका छन् ः

”जी रहे हो जिस कला का नाम ले ले,

कुछ पता भी है कि यह कैसे बची है ।

सभ्यता की जिस अटारी पर खडे हो,

वह हमीँ बदनाम लोगोँ ने रची है ।

हामीलाई आधुनिक र सभ्य बनाउने समग्र प्रक्रियामा शारिरिक र बौद्धिक श्रममा लागेका श्रमिकहरु प्रति तथाकथित सभ्य समाजको हेय दृष्टिकोणप्रति लक्षित हो यो चारपंक्ति । एकाबिहानैतपाँई मर्निङ्ग वाकमा भएकोबेला एकखाले श्रमिकहरु झाडू लिएर बाटाहरुसफा गरिरहेका हुन्छन् । उनिहरु नजिकै पिठ्यूमा ठूलो बोरा बोकेका केही मानिसहरु, जस्मा महिला र आठवर्षदेखी सोह्रवर्ष मुनिका बाल बालिकाहरुपनि हुन्छन्, प्लास्टिकका बोतल तथा अन्य कचराहरु टिपेर बोरामा जम्मा गरिरहेका हुन्छन् ।

झाडूलिएर शहरमा बाटा सफा गर्नेहरुलाई हामी ‘मेस्तर’ र कचराबाट प्लास्टिकको बोतल, सीसी, कपी किताब टिपेर बेच्नेहरुलाई ‘ कवारी’ भन्छौँ । कबारीहरु बिहानमात्रै होइन, दिनभरी अबेर रातीसम्म कचराबाट बेच्नसकिने बोतल, सीसी र अन्य सामानहरु टिपी रहेका हुन्छन् । यिनीहरुको कामले गर्दा शहरमा बाटाहरु, चौक चौराहा र अन्य सार्वजनिकस्थलहरु सफा देखिने गर्छ । तपाँई होटेलमा चिया, खाना, नास्ताको निम्ती गएको बेला तपाँईको टेबुलसम्म खाने पिउने सामान ल्याईदिने बेयराहरु हुने गर्छन् । होटेलमा बेयराका अतिरिक्त खाना पकाउने र भाँडाकुँडादेखी टेबुल सफा गर्नेसम्मका श्रमिकहरुको सामुहिक प्रयत्नको प्रतिफलले नै तपाँईको होटेल उपयोगलाई शानदार बनाउँछ । यतिमात्र कहाँ हो र ! शहरमा घुमघामका निम्ती प्रयोग गर्ने रिक्सा र ट्याक्सीका ड्राइभरहरुपनि तपाँईको आवश्यकता पूर्ति गर्न खटिरहेका श्रमिकहरु हुन् । तात्पर्य के हो भने जीवनका आवश्यकताहरु पूरागर्न हामी सबैले मिहनेत गरिरहेका हुन्छौँ । तर जस्ले आफ्नो श्रम ज्यालामा बेच्छ, ऊश्रमिक हो । पूँजी र बजारको विकास हुनूभन्दा पहिलेपनिश्रम थियो । मूल्यको कुनै आश नगरेर मालिक अर्थात् स्वामीको आदेशमा मालिकको इच्छा र आवश्यकतापूर्तिका निम्ती जीवनभरी खटिरहेकाहरु प्राचीनकाल र मध्यकालमा दासहरु थिए । त्यतिबेलाका राजा महाराजाका दरबारहरुमा, जमिन्दारहरुको जमिन्दारीमा, भूपति तथा धनी किसानको खेतमा कामगर्ने श्रमिकहरु दास नै थिए । यस्ता दासहरुमा पुस्तौँदेखीका दास सन्तानहरु, केही गरिबीबाट गिजोलिएर जमिन्दार र धनी किसान कहाँ बेचिन बाध्यहरु, र युद्धहरुमा पराजित भएर विजयी राजा महाराजाहरुको शक्ति र क्रूर दमन सामू बाध्य पारिएकाहरु थिए ।

हिन्दू धर्ममा भौतिक र मानसिकरुमा धार्मिक आधारमै दास बनाइएको एउटा विशाल ‘स्वेच्छिक’ समुदायपनि छ । स्वेच्छिक किन भनिएको हो भने हिन्दु धर्मसंहितामा आधारित वर्णाश्रम व्यवस्थामा शूद्र भनिने एउटा यस्तो समुदायको परिकल्पना गरेको छ, जस्को कर्तव्य नै माथिल्ला तीनवटा वर्ण (ब्राह्मण, क्षत्रीय र वैश्य)को सेवा गर्नु भनिएको छ । सेवा शुद्रको कर्तव्यमात्र होइन, धर्म नै भनिएको छ । जुन शुद्रले आफूभन्दा माथिल्लो वर्णको सेवा गर्दैन, ऊ अधार्मिक हो र उसले पुण्य प्राप्त गर्दैन । उसले स्वर्गको सुख पाउन सक्दैन । शुद्रवर्ण भित्र श्रम र सीपसंग जोडिएका अनेकौँ जातिहरु छन् ।यसमध्ये अधिकांशलाई हामी दलित र छोइने जातिको रुपमा चिन्छौँ । दासहरु त अन्य सभ्यतामापनि हुने गर्छन्, तर हिन्दुधर्ममा दासहरु जन्मजात हुने भयानक र विशिष्ट व्यवस्था गरिएको छ । यस्को तात्पर्य के हो भने तपाँई आर्थिक र कानूनीरुपमा दासत्व कर्मबाट मुक्त हुनसक्नु हुन्छ, तर तपाँई हिन्दुवर्णाश्रम भित्र हुनुहुन्छ भने जातिय दासत्वबाट मुक्त हुनसक्नु हुन्न । यो शुद्रत्व जन्मसंग शुरु हुन्छ र मृत्युसम्म कायम रहन्छ । आधुनिक चेतनाको विकास तथा निरन्तरसंघर्षको फलस्वरुप अहिले शुद्रत्व पालन गर्नैपर्ने बाध्यता केही हद्सम्म घटेको छ । तरपनि अधिकतम सयवर्ष पहिलासम्म शुद्र वर्णमा पर्ने जातिहरुले आफूभन्दा माथिल्लो जातिको निःशर्त सेवा गर्न अस्वीकार गरे शारिरिक यातना, बहिष्कार, गाउँ निकाला तथा मृत्युदण्ड जस्ता भौतिक र सामाजिक क्रूर दण्ड भोग्न बाध्य हुने गरेको उदाहरणहरु पर्याप्त पाइन्छ । नेपालमा बारा जिल्लाको अमलेखगञ्जमा राणा प्रधानमन्त्री चन्द्र शमसेरले मालिकहरु अथवा साहूहरुको ऋणतिरेर केही दासहरुलाई अमलेख (ऋणमुक्त) गरिदिएको इतिहासले सयवर्षपनि नाघेको छैन ।

त्यतिबेला चन्द्र शमसेरले दासप्रथालाई कानूनीरुपमा अन्त गरिएको घोषणा गरेपनि देशको सामन्तवादी अर्थ राजनीतिक संरचना तथा हिन्दू धर्म बहुल कट्टर जातिय संरचनाको कारण यो अल्प प्रभावित नै थियो । नेपालमा राणा शासनको पतनको बेला (वि.स.२००७ वरीपरी) शहरीक्षेत्रमा अर्थ राजनीतिक संरचना परिवर्तित हुँदै थियो । साना– ठूला उद्योग र बजारको विकासको कारण जातिय दासत्वमा तुलनात्मकरुपमा केही खुकुलोपना देखिँदै थियो । जातिय दासहरु आर्थिक श्रमिकमा परिणत हुँदैथिए । यसलाई बजार र उद्योगको आवश्यकता नै भन्नु पर्छ कि कट्टर हिन्दु समुदायभित्र मन नपरेपनि बजारमा, होटेलमा, सरकारी कार्यालयहरुमा, विद्यालयहरुमा, सिनेमाघरमा, उद्योगहरुमा कथित ठूला–साना जातिहरु एक अर्कासंग मिलेर काम गर्न थालेका थिए । यो आधुनिक चेतनाको विकास तथा समाजको अर्थराजनीतिक संरचनामा आएको परिवर्तनको प्रभाव थियो । ००७ सालको परिवर्तनपछि नेपाली समाजको पूर्ण कमान राजा र धर्मको हातमा रहेन । अब व्यापारी, उद्योगपति र राजा, जमिन्दार तथा महन्थको नियन्त्रणभन्दा बाहिरका साहूजीहरु समेत समाजमा प्रभावशाली हुँदै थिए । यसरी नै समयसंगै ठूलाभनिने जातहरु मध्येबाट पनि गरिबीमा धकेलिएको ठूलोपंक्ति श्रमिकवर्गमा सामेल भयो । ठूला जातका यी गरिब श्रमिकहरुको निम्ती गाउँमा कथित निम्नस्तरिय श्रमगर्न कठिन भएपनि नवोदित शहरहरु भने सहज थियो । शहरमा उनको परिचय सोध्ने कोही थिएन, त्यसैले शहरमा उनिहरु आर्थिक उपार्जन गर्न जुनसुकै काम गर्न सक्थे ।

नयाँ–पुराना शहरहरुमा जुर्मुराउन थालेको उद्योग धन्दाको विकास, नयाँ नयाँ भवन, सडक, सिनेमाघर, पाठशाला तथा विभिन्न सार्वजनिक र निजी भोतिक निर्माणको प्रक्रियाले गाउँमा बसेर सामाजिक र धार्मिकरुपमा जातिय दासत्व भोगिरहेका श्रमिक समुदायहरुलाई सामाजिक विभेदबाट मुक्त हुन नयाँ विकल्प दियो । उनिहरुपनि शहरमा जम्मा भए । यस्ले नेपाली समाजमा जातिय परिचयभन्दा पर श्रमिकहरुलाई नयाँ किसिमबाट संयोजित हुने अवसर सृजना ग¥यो । यो नयाँ स्थिति समाजमा विकसित भैरहेको पूँजीवादी प्रभावको कारण थियो । तर यति हुँदापनि महादलित भनिने शुद्रको सबैभन्दा तल्लो श्रेणीमा पर्ने डोम, हलखोर, मेस्तर लगायतको सामाजिक विभेदमा परिवर्तन आएन । यिनीहरु भन्दा केही माथीका शुद्र जातिहरु मध्येका चमार (साकी, दुसाध आदि आफ्ना विभेदको निम्ती अपर्याप्त नै भएपनि आवाज उठाई रहेका छन् ; तर डोम, हलखोर जस्ता महादलितहरु भित्र प्रतिरोधी चेतनाको अत्यन्त अभाव देखिन्छ । यिनको पक्षमा काम गर्ने सामाजिक संस्थाहरुको पनि अभाव नै छ । जे होस ग्रामीण क्षेत्रको तुलनामा शहरमा श्रमिकहरुमा जातिय विभेदको प्रभाव कम देखिन्छ । श्रमिक समुदायको शोषणमा जातिय तत्वको प्रभाव देखिएपनि प्रधान तत्व आर्थिक नै हो । वस्तुतः हिन्दु समुदायको जातिय विभाजनपनि विशिष्ट प्रकारको श्रम विभाजन नै हो, जो ऐतिहासिक प्रवाहमा जन्म र जातिसंग जोडियो । त्यसैले जातिय विभेदपनि विशिष्ट प्रकारको श्रम शोषण र श्रम विभेद नै हो । यस आधारमा राज्यसत्ताको निर्माण र विभेदकारी सभ्यतामा उच्चजातिय श्रेष्ठताको दम्भ एउटा शासक समुदायले शोषित समुदायप्रति गर्ने दम्भ, पूँजीपतिले मजदूरप्रति देखाउने मालिकको दम्भ जस्तै हो ।

जसरी पूजीवादीपक्षीय कानूनले पूँजपतिहरुले मजदूरप्रति गर्ने शोषणलाई अनेक धुत्र्ततापूर्ण शब्दावलीमा कानूनी औचित्यता प्रदान गर्छ, हिन्दू धर्मलेपनि शुद्रप्रति गरिने भेदभावलाई धार्मिक तर्कको आधारमा औचित्यपूर्ण बनाउँछ । सामन्तवाद विरुद्धको संघर्षमा विकसित भएको पूँजीवाद शुरुमा प्रगतिशील थियो । आफ्नु विस्तार र असीमित नाफाको निम्ती पूँजीपतिलाई धेरैभन्दा धेरै श्रमिक चाहिएको थियो । त्यसैले शुरुमा उस्ले श्रमप्रति धर्म र जातिय भेदभाव र असमानताको विरोध ग¥यो । जातिय श्रमिकहरुलाई पारम्परिक अन्धविश्वासी बन्धनबाट मनोवैज्ञानिकरुपमा मुक्त गराएर उद्योग र बजारमा एकत्रित हुने अवसर श्रृजना ग¥यो । तर श्रमिक समुदायमा राजनैतिक चेतना तथा अधिकारको निम्ती संघर्ष चेतनामा वृद्धि हुँदैगएपछि त्यही पूँजीवाद धर्मसंग गठबन्धन गरेर विविधवर्णी धार्मिक र जातिय विभेदलाई नयाँ किसिमबाट महिमामण्डन गरिरहको छ । यसैकारण, श्रमिक अधिकार तथा शोषणमुक्तिको निम्ती आर्थिक तथा राजनैतिक समझदारीको आधारमा एकजूट हुनूपर्ने श्रमिकवर्ग भित्रजातिय, क्षत्रीय र धार्मिक आधारमा विभाजनको स्थिति सिर्जना हुँदैछ । राज्यसत्तामा नौकरशाही तथा दलालपूँजीपतिवर्गको प्रभूत्वको कारण पूँजीपति र धर्मको यस गठबन्धनमा राज्यसत्ता संरक्षकको भूमिकामा देखिन्छ । गाउँका खेतिहर मजदूर लगायतका ग्रामीण श्रमिकहरु तथा शहरमा रिक्सा, मोची र दैनिक ज्याला मजदूर लगायतका असंगठित मजदूरहरु परिदृश्यमा पूर्णतः बाहिर छन् । उनिहरुको हित र अधिकारको बहस नै हुँदैन ।

उद्योगधन्दा लगायतका व्यवावसायिक प्रतिष्ठानहरुमा ट्रेड युनियन जस्ता संगठन भएका संगठित मजदूरहरुको अवस्थापनि राम्रो छैन । उद्योगधन्दामा मालिक र मजदूरको विवादमा ट्रेड युनियन लगायतका मजदूरनेताहरु मालिकपक्षधर नै बढी देखिन्छन् । यस्तोमा हरेक पटकको सम्झौतामा मजदूरहरुले पाउनुपर्ने श्रममूल्यभन्दा घटीमा नै चित्त बुझाउनु पर्छ । यो स्थिति लगभग सत प्रतिशत विवादमा देखिन्छ । यसकारण प्रायः सबै मजदूरसंगठनहरु र मजदूर नेताहरुमा पूँजीपतिहरु प्रतिको दलाली प्रवृत्ति बढदो छ । हुन त, सम्पूर्ण उत्पीडितवर्ग र उत्पीडित समुदायलाई साथ लिएर मजदूरवर्गले सम्पूर्ण सत्ता कब्जा नगरेसम्म समाजको आमूल परिवर्तन सम्भव छैन । तर तत्कालकै निम्ती भएपनि वर्तमान राज्यसत्तामा मजदूरहरुको समानुपातिक भागीदारी नहुन्जेल उसको निम्ती बोलिदिने कोहीपनि हुनेछैन । वर्तमान समाजको सभ्यता र समृद्धिको महल श्रमिकवर्गकै काँधमा टिकेको छ । तरपनि श्रमिकवर्ग आर्थिक शोषणका साथै विविध प्रकारको विभेद भोग्न बाध्य छ । कवि राम अवतार त्यागीले यसै मर्मलाई शब्द दिएका छन् ः

“सभ्यता की जिस अटारी पर खडे हो, वह हमीँ बदनाम लोगोँ ने रची है ।”

देशमा स्थानीय निकायको निर्वाचनको तापमान बढेको छ । मतदाता लोभ्याउन राजनीतिक दलहरुले अनेक प्रकारको घोषणापत्र जारी गरिरहेका छन्, देशैभरी । तर तपाँईले ती घोषणापत्रलाई ध्यान दिएर हेर्नु भयो भने त्यहाँपनि मजदूरवर्ग छैन ।

धेरैको मतमा मजदूरको समस्या आर्थिक विषय हो । यथार्थमा मजदूरको समस्या आर्थिक संगसंगै मूलरुपमा राजनैतिक अर्थात् अर्थराजनैतिक प्रश्न हो । यो भनेको मजदूरलाई ज्याला अर्थात् श्रमको मूल्यमात्र होइन, मजदूरवर्गीय राज्य नै चाहिन्छ । यसैकारण सबैप्रकारका असमझदारी र असहिष्णुताबाट माथी उठेर वर्गीय आधारमा एकता तथा मजदूरवर्गीय राज्यको निम्ती राजनीतिक संघर्षको विकल्प छैन ।

Comment


Related News

Latest News

Trending News