अपडेट 
२०७९ बैशाख २०, मंगलवार ०७:४३

 मुस्लिम समुदायले आज विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउदै छन् ।

अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन यो पर्व मनाउने गर्दछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन बेलुकी चन्द्रमा देखिएपछि भोलिपल्ट इद उल फित्र मनाउने गर्दछन् ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउ अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ । इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक बकर इद र इद उल फितरमा विशेष नमाज पढ्ने गर्दछन् ।

विशेष नमाज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने चलन छ । यो आशीर्वाद लिने क्रम तीन दिनसम्म चल्छ । पाहुनालाई सेवइ र लछा खुवाइन्छ ।

इद उल फित्रको अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार मंगलबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News