सामुदायिक रेडियो प्रशारक संघ अकोराबले निर्वाचन आचारसंहिता २०७९ जारी गरेको छ ।
सोमबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, आयोगका सूचना अधिकारी शालिग्राम शर्मा पौडेल, सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरि, महासचिव किशोर जंग थापा लगायतले संयुक्त रुपमा आचारसंहिता सार्वजनिक गरेका छन् । आचारसंहिता जारी गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिताको पालना गर्न तथा गराउन रेडियोहरूको भूमिका महत्वपूर्ण हुने बताए । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनको लागि आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भन्दै उनले आचारसंहिता उल्लंघन नहुने गरी समाचार तथा विचार प्रवाह गर्न पनि आग्रह गरे । सामुदायिक रेडियोहरूले यसै पनि ग्रामीण भेगका नागरिकको विषयलाई प्राथमिकतामा राखेको , उनीहरूको सुख दुःखको बिषय उठाइरहेको भन्दै तल्लो तह सम्म निर्वाचनका सूचना तथा जानकारी दिने काम पनि गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले उल्लेख गरे । सबै पक्षको सुझाब र स्वीकृति लिएर निर्वाचन आचारसंहिता जारी गरेको भन्दै उनले यसमा कसैले पनि असहमति जनाउनु आवश्यक नरहेको जिकिर गरे । उनले आचारसंहिता उल्लङघन गरेर गरेका कार्यक्रमका दृश्य तथा फोटोहरू प्रकाशन, प्रसारण नगर्न बरू उक्त चुनावी कार्यक्रममा आचारसंहिता उल्लङ्घन भएको थियो भने जानकारी गराइ दिन पत्रकार हरूलाई आग्रह गरे ।
सामाजिक सञ्जालको उचित रूपमा प्रयोग गर्न तथा गराउने वातावरण बनाउन भूमिका खेल्नको लागि पनि उनले सञ्चार माध्यमलाई आग्रह गरे । कार्यक्रममा अकोराबका महासचिव थापाले सामुदायिक रेडियोको निर्वाचन आचारसंहिता भित्र रहेर समाचारहरू प्रशारण गर्नको लागि सामुदायिक रेडियोहरूलाई आग्रह गरे । यसअघि पनि सामुदायिक रेडियोहरूले आचारसंहिताको पालना गर्दै समाचारहरू प्रशारण गरिरहेको भन्दै अब पनि यसमा ध्यान दिने बताए । यस्तै अकोराबका अध्यक्ष अर्जुन गिरिले निर्वाचन आयोगले नै जारी गरेको आचारसंहिता भित्र रहेर आफूहरूले सामुदायिक रेडियोको लागि आचारसंहिताजारी गरेको बताए । समुदायका नागरिकको सुख दुःखका साथी सामुदायिक रेडियोहरूले निर्वाचनका समयमा स्वच्छ र तटस्थ बनेर काम गरिरहेको समेत उनले प्रष्ट पारे । यस्तै, अकोराबका उपाध्यक्ष बन्दना दनुवारले सबै सामुदायिक रेडियोलाई निर्वाचनको बेलामा तटस्थ भएर सामग्री प्रशारण गर्न आचारसंहिताले सहयोग पुग्ने धारणा राखे ।


