स्थानीय निर्वाचन सन्दर्भमा पाँच दलीय गठबन्धन सफलतातर्फ उन्मुख भएको शीर्ष नेताको ठहर छ ।
शीर्ष नेताहरुले गठबन्धनका लागि गरिएको सैद्धान्तिक सहमति, केन्द्रदेखि जिल्लासम्म भएको टिकट बाँडफाँटकाबीच पनि करिब तीन दर्जन स्थानीय तहमा बागीको समस्या कायमै रहे पनि परिणाम सोचेजस्तो आउने दाबी गरेका छन् । निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक रामचन्द्र पौडेलले धेरै ठाउँमा गठबन्धन अनुरुप नै गतिविधि भएपनि अझै केही ठाउँमा सफल बनाउन प्रयास जारी रहेको जानकारी दिए । ‘आकांक्षा अधिक छ, त्यसकारण आफै भित्र भावनात्मक संयोजनमा समस्या छ । पाँच दलीय गठबन्धनको सहमति अनुसार त धेरै जटिलता भइराखेको छ । यति हुँदा हुँदै पनि धेरै ठाउँमा ऐक्यबद्धता छ, केही अझै समस्याक्रान्त छ,’ पौडेलले भने, ‘तर पनि समग्रमा गठबन्धनको अवस्था आशाजनक छ ।
अन्तिमसम्म गठबन्धनका सबै मत साझा उम्मेदवारलाई पार्न पहल हुन्छ र गठबन्धनका उम्मेदवार नै विजयी हुन्छन् ।’ चुनौतीको सामना गर्न सबैले इमान्दारिताको नैतिकता प्रर्दशन गर्नुपर्ने शीर्ष नेताहरुको धारणा छ । ‘हामीले लिएको ठाउँमा सबै सफल भएको छ । किनभने हामीले मेयर र उपमेयरमा मात्रै गठबन्धन गरेका थियौं । वडाहरुमा गठबन्धन गर्दा पनि हुन्छ, भएन भने मित्रवत् प्रतिस्पर्धा गरेपनि हुन्छ भनेर तल छोडिदिएका थियौं । त्यस अर्थमा अहिलेसम्म गठबन्धन सफल छ,’ जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘अव मूल सफलता चुनावको नतिजाले देखाउने हो । नतिजा निकाल्न जसपाको प्रयास जारी छ ।’ आइतबार बसेको कांग्रेस नेता पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले विभिन्न ठाउँमा देखिएका समस्या समाधान गर्न समझदारी अनुरुप काम गर्न आ–आफ्नो दलले आ– आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने पनि बैठकले निर्णय गरेको छ । गठबन्धनले मतदानपूर्वसम्म सहमतिको दायरा फराकिलो पार्ने रणनीति तय गरेको छ ।
यसका लागि गठबन्धनका साझा उम्मेदवारका विरुद्ध मनोनयन दर्ता गराएका उम्मेदवारलाई कारबाही गर्ने र समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानमा ऐक्यबद्ध गराउन दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । भरतपुर महानगरपालिका लगायतका ठाँउमा देखिएका बागीले समस्या पार्न सक्ने सम्भावना पनि शीर्ष नेताहरुले व्यक्त गरेका छन् । एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केन्द्रले सहमति गरेका महानगर र उपमहानगरमा पनि केही ठाउँमा बागी उम्मेदवार छन् । तथापि ती ठाउँमा सहमति ठिकै जस्तो देखिएको छ तर तल्लो तहमा एकआपसमा सम्मानजनक गठबन्धन नभएका कारण ती ठाउँमा परिणाम कस्तो हुन्छ भन्ने कुरा सहज नरहेको बताए । आइतबार पत्रकार सम्मेलन गरेका कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धनका पक्षमा निर्वाचनको माहोल बन्दै गएको र गठबन्धन सफल भएको बताए । स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको र कतिपय ठाउँमा स्थानीय अवस्थाका अनुसार गठबन्धनप्रति असन्तुष्टि देखिए पनि आम रूपमा हेर्दा गठबन्धन सफल भएको छ ,बागी उम्मेदवारलाई पनि पार्टी निर्णयको पक्षमा ल्याउने प्रयास जारी रहेको बताए ।
गठबन्धनले गत चैत्र १७ मा स्थानीय निर्वाचनमा ऐक्यबद्ध भइ जाने निर्णय गरेको थियो । समग्र गठबन्धन गरी जाने प्रयास भए पनि पूर्णता पाएकौ जिल्ला भने सीमित छन् । ‘कति जिल्लामा गठबन्धन भएको छ भन्ने यकिन छैन । सहमति भएका ठाउँमा गठबन्धन सफल भएर गइरहेको छ, नभएका ठाउँमा समस्या छ,’ माओवादी केन्द्रका नेता देव गुरुङ्ले बताए । गठबन्धनका शीर्ष नेताहरुले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा केन्द्रबाट प्रमुख–उपप्रमुख बाँडफाँट गरेका थिए । जिल्ला तहमा भएका सिट बाँटफाँटमा एकअर्काको सम्मान नगरिएको भन्दै जसपाका नेता बाबुराम भट्टराईले असन्तुष्टि जनाए पनि जसपा अध्यक्ष यादवले भने सहमति भएका ठाउँमा गठबन्धन सफल भएको हुँदा असन्तुष्टि नरहेको दाबी गरे ।