त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बम राखिएको थ्रेट आएपछि सुरक्षा सतर्कता बढाएको छ ।
शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।
विमानस्थलमा बम जस्तै शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा सतर्कता बढाएको विमानस्थल प्रहरीले जनाएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ । अहिले नेपाली सेनासहितको सुरक्षाकर्मीको टोली विमानस्थलमा खटिएको छ । सुरक्षाकर्मीहरूले शंकास्पद वस्तु खोजी गरिरहेका छन् ।
नेपाल प्रहरीका एसएसपी भीम ढकालले सर्च अप्रेशन जारी रहेको र अहिलेसम्म कुनै शंकास्पद वस्तु नभेटिएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडानहरू भने जारी रहेको विमानस्थल कार्यालयले जनाएको छ ।