यही बैशाख ३० गते हुने स्थानीय तहका निर्वाचन सन्दर्भमा जनकपुरधामका उम्मेदवारहरुले व्यापकरुपमा निर्वाचन आचारसंहिताको उल्लङ्ंघन गरे पनि सम्बन्धित निकाय मौन देखिएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता २०७८’ जारी गरेको छ ।
गत बैशाख १६ गतेदेखि नै लागु भएको आचारसंहिताको यहाँका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरुले धज्जी उडाइरहेका छन् । आचारसंहितामा कुनैपनि उम्मेदवारले संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न र गराउन नपाउने स्पष्ट उल्लेख छ । तर, जनकपुरधाममा भने विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुले पनि निर्वाचन आचारसंहिताको व्यापक रुपमा धज्जी उडाइरहेको देखिएको छ । निर्वाचन आचारसंहिता २०७८ को बुँदा नम्बर ६ को खण्ड ७१ को ९झ० मा आयोगको निर्वाचन शिक्षामूलक सूचना सामग्री टाँस्न तथा प्रयोग गर्न बाहेक उम्मेदवार वा राजनीतिक दलको कुनै पनि निर्वाचन प्रचारप्रसारका सामग्री राख्न, टाँस्न वा प्रचारप्रसार गर्न नपाइने प्रष्ट रुपमा उल्लेख छ ।
सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न तथा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुनेसमेत उल्लेख रहेको छ तर जनकपुरधामको मात्र नभइ देशकै गौरवको रुपमा रहेको जानकी मन्दिर परिसरमा नेकपा एमाले लगायतका दल तथा स्वतन्त्र उम्मेदवार हरुको पर्चा टाँसिएको देखिन्छ । जनकपुरधामका अधिकांश उम्मेदवार हरुले जानकी मन्दिरका भित्ता मात्र नभइ विभिन्न ठाउँको सार्वजनिक सम्पत्तिहरुलाई कुरुप बनाएका छन् । उम्मेदवारहरुकै प्रचार सामग्री टाँसिदा नेपाल रेल्वेको जनकपुरधाम रेल्वे स्टेशनका भित्ताहरु फोहर बनेका छन् । उपमहानगरका मेयर र उपमेयरले बढीमा ५ लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने आयोगले संहिता जारी गरे पनि यहाँका उम्मेदवारहरुको एक दिनको खर्च सो भन्दा बढी रहेको पाइएको छ । त्यस्तै, १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग नगर्न र नगराउन निर्वाचन आचारसंहितामा स्पष्ट उल्लेख भए पनि प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्ने उम्मेदवारहरुको संख्या पनि त्यतिकै छ ।
नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपालसहित सबै पार्टीको चुनाव चिन्ह अंकित पोशाक लगाएर प्रचारमा हिँडेका कार्यकर्ताहरू प्रशस्तै देखिन्छन् । उम्मेदवारहरूले चुनाव जित्न व्यापक रूपमा गरिरहेको चुनावी खर्च भोलीका लागि उनीहरूले गर्ने भ्रष्टाचारको संकेत रहेको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As