जनकपुरधाम । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहले प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेस परित्याग गरी उम्मेदवारसमेत रहेका साहले २१ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वका रंगभूमि मैदानलाई स्वच्छ, सफा, हराभरा बनाउने, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यकरण गरी रमणीय स्थलको विकास गरी पर्यटन क्षेत्रमा आमूल परिवर्तन गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । सम्मेलनमा बोल्दै उनले भने,‘ सबभन्दा पहिला उपमहानगरपालिका भित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्याण्डफिल साइट निर्माण गर्छु।’ शिक्षा, स्वास्थ्य, सार्वजनिक परिवहन, आधुनिक बस पार्क लगायतको विकासको मुद्दालाई प्राथमिकतामा राखेको जानकारी दिँदै उनले उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रुपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने प्रतिवद्धता जनाए ।
नगरमा लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्ने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता साहले व्यक्त गरे । ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक धरोहरहरूका विषयमा खोजीनीति, अध्ययन अनुसन्धान तथा तिनका विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाह गरी जनकपुरधामको आर्थिक गतिविधिका एउटा प्रमुख स्रोतका रूपमा पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने, जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्वका रंगभूमि मैदानलाई स्वच्छ, सफा, हराभरा बनाइने, विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यकरण मार्फत रमणीय ठाउँका रूपमा विकासका लागि प्रतिवद्ध भइ काम गर्ने उनले स्पष्ट पारे ।