गरुडा । जनता समाजवादी पार्टी नेपालका माधवनारायण नगरपालिकाका मेयरका उम्मेदवार निवर्तमान मेयर वीरेन्द्र प्रसाद यादवले आफू फेरि निर्वाचित भए नगरपपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने बताएका छन् ।
नगरलाई स्मार्ट सिटीको रुपमा विकास, निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुकासाथै, कृषिमा आधुनिकीकरण, कृषि विजुली बिल निःशुल्क, नगरपालिकाको भवन निर्माण, बेरोजगारलाई रोजगारी लगायतलाई प्राथमिकतामा राख्ने बुधबार आयोजित चुनावीसभामा उनले बताए । पहिलो पटक मेयर हुँदा नगरमा गर्नुपर्ने काम गर्न नभ्याएकोले अधुरा कामहरु पूरा गर्नका लागि पुनः एकपटक अझै मेयरमा जिताउन उनले सबैलाई आग्रह गरे । माधवनारयण नगरपालिका ७ लौकाहा, फुलबरीया र वडा नं. ९ गढोमा आज घरदैलो गर्दै मेयरका उम्मेदवार यादवले नगरलाई समृद्ध र विकसित बनाउन जसपाका उम्मेदवारहरुलाई प्यानल सहित विजयी बनाउन मतदाता सँग अनुरोध गरे । विगतमा आफूले गरेको काम देखेर जनता फेरि आफूलाई बहुमतसहित निर्वाचित गराउन लागेकोले निर्धक्क भएर आफूलाई भोट दिइ विजयी बनाउन उनले आग्रहसमेत गरे ।
शिक्षा तर्फ नगरमा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने, अत्याधुनिक सरकारी अस्पतालको स्थापना, क्रिक्रेट र फुटबल ग्राउण्ड सहित रंगशाला निर्माण, व्यवस्थित पिकनिक पार्क निर्माण गर्ने, माधोपुर बजार क्षेत्रमा जग्गा खरिद गरी नगरपालिकाको प्रशासनिक भवन बनाउने, खेतीपाती व्यवस्थित गर्न कृषि सडक निर्माण गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । दलितहरुलाई जग्गा खरिद गरी आधुनिक एकीकृत दलित वस्तीहरु निर्माण गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन निःशुल्क रुपमा सीपमूलक तालिमको व्यवस्था गर्ने, नगरभरिका सामुदायिक विद्यालयका छात्रछात्राहरुलाई साइकलको व्यवस्था गर्ने, छात्राहरुलाई उच्च शिक्षामा पहुँच पुर्याउन एक छात्रा एक ल्यापटप कार्यक्रम सञ्चालन गर्ने, नगरका बेरोजगार युवालाई रोजगारी दिने नेता प्रतिवद्धता पनि उनले जनाए ।