२०७९ बैशाख २२, बिहीबार ०७:५८

विवेकशील साझा पार्टीका राष्ट्रीय अध्यक्ष रवीन्द्र मिश्रले गलत राजनीतिज्ञका कारण देश दिनप्रतिदिन दुर्घटनामा फँस्दै गएको बताएका छन् ।

गलत व्यक्तिको हातमा पटक–पटक देशको नेतृत्व जाँदा देश अहिंसा र अनिर्णयको भुमरीमा फसेको उनले टिप्पणी गरेका छन् । चुनावी प्रचार प्रसारको क्रममा मंगलबार राती रौतहटको गरुडा आएका विवेकशील साझा पार्टीका राष्ट्रीय अध्यक्ष मिश्रले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका दलले पटक पटक सरकारको नेतृत्व गरे पनि देशमा परिवर्तन ल्याउन नसकेकोले देशलाई निकास दिन आउँदो स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टी जित्नुको विकल्प नरहेको बताए । एमाले, कांग्रेस, माओवादी लगायतका दलले कुनै पनि हालतमा देशलाई निकास दिन नसकिने दाबी गर्दै उनले देशको विकास र परिवर्तनका लागि आउँदो चुनावपछि विवेकशील साझा पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने उनले बताए ।

उनले सत्तापक्षले सरकार छ भन्ने अनुभूति जनतालाई दिन नसकेको र प्रतिपक्ष आफ्नो भूमिकाबाट चुकेको टिप्पणी समेत गरे । परम्परागत राजनीतिक दलले मुलुकलाई गरिबी, भ्रष्टाचार र कुशासनको दुष्चक्रमा फँसाएकाले अब त्यसलाई विवेकशील साझा पार्टीले मात्र तोड्ने दाबी उनले गरे । नेपालमा वर्षौंदेखि अभ्यास गरिरहेका दलहरुले जहिले पनि शासन प्रशासनमा गएर राज्य दोहन गर्ने बाहेक अरु केही गर्न नसकेको उनले आरोप लगाए । विवेकशील साझा पार्टीका गरुडा नगरपालिकाका मेयर पदका उम्मेदवार लखिन्द्र गुप्ता लगायतका पार्टीका सबै उम्मेदवारलाई बहुमत सहित जिताउन उनले आम मतदाता संग आग्रह गरे । सार्वजनिक गरिएको घोषणा पत्रमा उनले आफु चुनाव जितेपछि नगरमा गुणस्तरीय निःशुल्क शिक्षा, स्वास्थ्य, र रोजगारीको व्यवस्था गर्नुका साथै गरुडालाई एक मदेश प्रदेशकै व्यापारिक हब बनाउने सम्मको आफनो योजना रहेको उल्लेख गरे ।

खेलमैदान, कृषिमा आधुनिकीकरण, समयमा किसानहरुलाई मलखादको उपलब्धतासहित गरुडालाई पर्यटकीय क्षेत्रको रुपमासमेत विकास गर्ने उनको घोष्णापत्रमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News