
बाराको निजगढ नगरपालिकामा हावाहुरीबाट केरा खेतीमा क्षति पुगेको छ ।
दुई दिन अगाडि चलेको हावाहुरीमा जिल्लाका करिब १२ सय बिघामा केरा खेती गरिएको छ । सो मध्ये करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । पानीसँगै आएको हावाहुरीले करिव पाँच करोड रुपैयाँ मूल्य बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए । खरेलका अनुसार निजगढमा भर्खर पलाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढलेको छ । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका थिए । तर, बेच्ने बेला आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरू समस्यामा परेको निजगढ नपा–९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताए ।
उखुको उत्पादन गरी निराश बनेका जिल्लाका अधिकांश किसानहरुले केरा खेती गरेका थिए तर दुई दिन अघिको हावाहुरी तथा असिना पानीले केरामा ठूलो क्षति भएपछि किसानहरु चिन्तित बनेका छन् । पीडित किसानहरुले सरकारसंग उचित क्षतिपूर्तिको मागसमेत गरेका छन् ।