अपडेट 
२०७९ बैशाख २३, शुक्रबार ०७:४३

विद्यार्थीकाल देखि नै निरन्तर राजनीतिमा लागे । पटक पटक जेल पुगे पनि आफ्नो लक्ष्य पाउनका लागि उहाँ एक कदम पनि पछाडि पारेन् । राजतन्त्रको विरुद्ध लड्न उहाँ अलिकता पनि हिचकिचाएन् । विद्यार्थीकालमा पढाईसंगै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरे । राम स्वरुप राम सागर बहुमुखी, जनकपुरधामको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा पनि निर्वाचित भए । पछि ट्रेड युनियनको सभापति हुँदै तत्कालीन जनकपुर नगरपालिकाको मेयरमा पनि निर्वाचित भए । गत स्थानीय तहको निर्वाचनमा उनी जनकपुरधाम उप–महानगरपालिकाका मेयरमा विजयी भए र साढे चार बर्षको कार्यकालमा जनकपुरलाई जनकपुरधाम बनाउने देिख लिएर दुईपटकको कोरोना महामारीमा समेत जनकपुरधामबासीलाई बिच्चलीमा पर्न दिएन् । उहाँ निर्वाचित भएर आएपछि लथालिङ्ग परेको एडिवि परियोजना कार्यान्वयन देखि लिएर जनकपुरधामको सौन्दर्यकरण, विकास निर्माणसमेतले तीव्रता पायो । कहिले कर्मचारी लगाएर त कहिले आफै झाडुलिएर सडकमा उत्रे । विरोधीहरु विरोध गर्दैगर्दा समेत उहाँ निरन्तर जनताले दिएको म्याण्डेटलाई पूरा गर्न लागि परे । जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान मेयर तथा पाँचदलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहसंग जनकपुर टुडेकालागि संजीवकुमार झाले गरेको कुराकानीको सम्पादित अंश :

प्र. फेरि निर्वाचनमा भाग लिनु भो कस्तो छ अवस्था ?

– मैले भनेर अवस्था राम्रो वा खराव हुने त होइन् । जनताको हातमा छ । जनता जे चाहन्छ त्यो हुन्छ ।

प्र. रुष्ट छन् जनता तपाई बाट, जनताले चाहेका कुराहरु गर्न सक्नु भएन्, फेरि तपाईलाई नै किन मत हाल्छ त ?

– म यो मुद्दा लिएर नै जनता समक्ष छु । जनताले चाहेका यस्ता कुन काम छ जो मैले गर्न सकेन् ? हो केही व्यक्तिले चाहेका कुरा गर्न सकिएन् । ती व्यक्तिहरुले मलाई अपराधी सावित गर्न आतुर छन् । उनलाई ठेक्का परेन,त्यस कारण उनलाई उप–महानगरवाट हुने काममा सहभागी गराउन सकिन त्यसैले उनीहरु रुष्ट छन् तर, ९० प्रतिशत जनताले चाहेका काम मैले पूरा गरेर दिएको छु । हामी जितेर आउँदाको अवस्था र अहिलेको अवस्थामा जनकपुरधाममा व्यापक परिवर्तन भइसक्दा पनि ती १० प्रतिशत व्यक्ति ९० प्रतिशतमाथि हावी हुनु चिन्ताको बिषय छ ।

प्र. जनता भन्छन्–‘लालकिशोर साहको बोली र व्यवहारमा समेत फरक आइ सक्यो’ त्यस्तो हो ?

– सरासर गलत आरोप हो । मेरो साढे ४ बर्षको कार्यकाल भन्दा पहिला म एउटा सामान्य राजनीतिकर्मी थिए । त्यतिवेला मलाई त्यति जिम्मेबारी थिएन् । तर, मलाई यहाँका जनताले जिम्मेबारी दिएपछि त्यो जिम्मेबारी पूरा गर्नु पर्यो कि परेन ? जिम्मेबारी पूरा गर्दागर्दै हुन सक्छ कसैको फोन उठेन वा कोही कार्यालय वा घरमा भेट्न आउँदा भेटन सकिएन । यति ठूलो उप–महानगरपालिका । २५ वटा वडा । त्यसमा पनि पुरानो नगरपालिकाको जनशक्ति । यी यथाबत कुराहरुलाई मध्यनजर गर्दा आफै झारु लिएर सडकमा उत्रनु पर्ने अवस्था । २० बर्षको कार्यालय प्रमुख विहीनको अवस्था । यस्तो अवस्थामा यदि कसैलाई यो लाग्छ कि मेरो बोली र व्यवहारमा परिवर्तन आयो भने त्यसलाई बिर्सेर जनकपुरधामको विकास कसरी गर्न सकिन्छ, यहाँका उद्यमशील व्यवसायीहरुको अवस्थामा कसरी सुधार ल्याउन सकिन्छ त्यसतिर ध्यान केन्द्रित हुनु पर्छ । जनकपुरधाम व्यवसायीहरुको ठाउँ भएको र कलकारखाना विहीनको अवस्थामा कसरी पर्यटक ल्याउन सकिन्छ त्यसतिर ध्यान केन्द्रित गर्दा उपयुक्त हुनेछ । म आज पनि खुल्ला मनले भन्न चाहन्छु कि तपाईको लालकिशोरको नत बोली नत व्यवहार केहीमा परिवर्तन आएको छैन्, तपाईले दिनु भएको जिम्मेबारी वहन गर्दागर्दै मैले पनि धेरै कुरा गुमाएको छु । हिजोको मेरा इष्टमित्रहरुसंग त्यति समय दिन नभ्याइएको अवस्था छ । पीडा मलाई पनि बोध हुन्छ त्यो पीडामा म पनि दविएको छु । तर, जनकपुरधाम बनाउने जनकपुरधामबासीको संकल्प पूरा गर्ने मेरो उत्तरदायित्व पनि हो । जुन जनताले आफ्नो घर भत्काएर सडक बनाए त्यसको ऋण चुक्ता गर्नका लागि जनकपुरधामलाई पर्यटकीय हब बनाएरनै छाड्ने प्रतिबद्धताका साथ म फेरि निर्वाचनमा आएको छु र उहाँहरुले मलाई मतदान गरी विजयी बनाउनु हुनेछ भनि आशा र अपेक्षासमेत लिएको छु ।

प्र. स्लोमोसनमा तपाईको लोकप्रियता घट्दै गयो तपाईलाई थाहा पनि भएन् ? हैन् ?

– जनकपुरधामबासीसंग मेरो आजको होइन् म सानो छदा देिखकै नाता हो । मेरो हरेक घरमा नाता छ । कोही दाई त कोही भाई, कोही काका त कोही काकी, कोही भतिजा कोही भतिजी । हुन सक्छ काम गर्दागर्दैको अवस्थामा म बाट केही चूक भएको होला । तपाई नै भन्नुस कुनै अर्का देशको प्रमुखको कामबाट जनकपुरधामबासीको चित्त त दुख्ने होइन् । चित्त त हाम्रो देशको प्रमुखले केही भन्दा केही गर्दा दुख्छ । त्यस्तै जनकपुरधामबासीको प्रमुख म थिए भने मेरो काम वा बोलीवाट चित्त दुखाउँदैन् भने कसको बोलीवाट दुखाउँछ । बुवावाट छोराछोरीको चित्त दुख्छ, छोरा छोरीको व्यवहारवाट बुवाआमाको चित्त दुख्छ । कसैलाई लाग्यो होला काका हो, कसैलाई लाग्यो होला दाई हो मेरो काम सवैभन्दा पहिला हुनु पर्छ तर, कार्यालयको काम त विधि र प्रक्रियगत हुन्छ । यस्तो अवस्थामा चित्त दुखाउनु पर्दैन् । कुरा रह्यो लोकप्रियताको । म आज पनि दाबी गर्छु कि म आफ्नो परिवारमा लोकप्रिय बन्नु भन्दा बढी सवै एक समान भएर बस्नु र सवैको समान अधिकारप्रति विश्वास राख्ने गर्दछु ।

प्र. तर जनता भन्छन् तपाई काम गर्न सक्नु भएन् ?

– कसरी काम गर्न सकिएन् । तपाई आफ्नै छातीमा हात राखेर भन्नुस त काम भएको छ कि छैन् । २० वर्ष देखिको जनप्रतिनिधिविहिनको अवस्थापछि २०७४मा निर्वाचित भए लगतै जनताको अपार आकांक्षा, विकासको पथबाट टाढा भएका जनकपुरधामलाई सीमित स्रोत साधन एवं कानून अभावको अवस्थाबाट गुज्रिदै पुनः विकासको बाटोमा ल्याउनु कम चुनौतीपूर्ण थिएन । सीमित स्रोत साधनकावीच विगतको चार वर्षमा जनकपुरधामले विकास र समृद्धिको बाटोमा फेरेको कोल्टो कसै सामु लुकेको छैन । चार वर्ष अघिको जनकपुरधाम र अहिलेको जनकपुरधामको अवस्थाको मुल्यांकन स्वयं जनकपुरवासीहरुले नै गर्नेमा म विश्वस्त छु । विगतमा जानकीमाताको दर्शन गर्न आउनेहरुले जनकपुरधामलाई ‘फोहोरी जनकपुर’ ‘गनाउने जनकपुर’ भन्ने गरेको यहाँहरु सामु विदित नै छ । अहिले जनकपुरधामले प्राप्त गरेको स्वरुपबाट तीर्थयात्री तथा पर्यटकहरुले ‘ए जनकपुर त फेरिएछ’ भन्न थालेको यहाँहरुले पक्कै पनि महसुस गर्नु भएकै छ ।

प्र. कुन भिजनका साथ जनतामा जाँदै हुनुहुन्छ ?

– ए.डि.बी.को ऋण सहयोग तथा संघीय सरकार र जनकपुरधाम उपमहानगरको सहयोगमा सञ्चालन भएको एकीकृत सहरी विकास परियोजना कस्तो अवस्थामा थियो ? यहाँहरुलाई अवगत नै छ । करिव चार पाँच वर्षसम्म उक्त परियोजनाले प्रगति हासिल नगर्दा एकीकृत सहरी विकास परियोजना खारेजी हुने चरणमा गइसकेको अवस्थामा मैले जनप्रतिनिधिको रुपमा कार्य प्रारम्भ गरेको थिएँ । उक्त परियोजनालाई खारेजी हुनबाट रोकेर काम सम्पन्न गर्न सम्पूर्ण जनकपुरबासीहरुले गर्नुभएको सहयोग सदैव महत्वपूर्ण रहने छ । जसले गर्दा आज हामीले जनकपुरधामको नयाँ स्वरुप निर्माण गर्न सकेका छौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएको पहिलो निर्वाचनबाट निर्वाचित भएको अवस्थामा आफुहरुले जनकपुरधामको सर्वाङ्गीण विकासमा मारेको फडको, जनकपुरधामको लागि अतिआवश्यक हुँदाहुँदै पनि गर्न नसकेका केही कामलाई मुर्त रुप दिन तथा अधुरो योजनाहरुको पूर्णताका साथ जनकपुरधामको प्राचीन गौरव गरिमालाई सुरक्षित राख्दै जनकपुरधामलाई आकर्षक एवं आधुनिक शहरको रुपमा रुपान्तरित गर्ने उद्देश्यका साथ पुनः स्नेह र आशीर्वाद प्राप्त गर्न अग्रसर छु ।

विगतको चार वर्षमा आफ्नो नेतृत्वमा जनकपुरधामको समग्र विकासका लागि भएको कामकाजहरुको लामो अभिलेख न्यायप्रेमी जनकपुरवासी समक्ष छरपष्ट रहेको छ , तथापि केही मुख्य—मुख्य कुरा यहाँहरु मार्फत जनकपुरधामवासी समक्ष राख्ने प्रयत्न गर्नेछु । विगतको साढे चार वर्षमा गरेका कामहरु, दृढइच्छा शक्ति हुँदैहुँदा पनि गर्न नसकेका केही काम एवं आगामी दिनमा जनकपुरधामको सार्वङ्गीण विकासका लागि आफूसंग रहेका योजनाहरु नै आफनो उम्मेदवारीको मुख्य गन्तव्य र अवधारणा रहेको छ ।

प्र. यो साढे चार बर्षको उपलव्धि के त ?

लामो समयदेखि विभिन्न अवरोधहरुको कारण बाधित रहेको आइयुडिपी परियोजनालाई निर्वाचित भए लगतै सुचारु गराइ जनकपुरधामको मुहार फेर्ने प्रयत्न गरेको छु । जनकपुरधामको ठूलो समस्याको रुपमा रहेको फोहर व्यवस्थापनको लागि ल्याण्डफिल साइट फुलगामामा निर्माण गर्ने निर्णय भए पनि विभिन्न राजनीति र सामाजिक कारणहरुले निर्माण हुन नसकेको विषय यहाँहरुलाई अवगत नै छ । आफू निर्वाचित भए लगतै फुलगामाको विकल्प खोज्दै भोइल तथा बसविट्टीमा लैण्डफिल साइट निर्माणको पहल गरे पनि सफल हुन नसकेकोमा दुखी छु । तर लैण्डफिल साइटको अभाव भए पनि जनकपुरधामको सरसफाईको निम्ति सक्दो प्रयास गर्दै जनकपुरलाई विगतको तुलनामा सफा राख्न सफल भएको छु । पछिल्लो समयमा जनकपुरधामको फोहर व्यवस्थापनको लागि सोलिड वेस्ट मेनेजमेन्टको डिपिआर तयार गरिसकेको हुँदा आगामी कार्यकालको पहिलो प्राथमिकतामा रहने विश्वास दिलाउन चाहन्छु । जनकपुरधामको नेतृत्वमा आएपछि आफनो नेतृत्वमा भएको विकासका कारण पाँच वर्ष अघिको आर्थिक गतिविधिमा अहिले सयौ गुणा वृद्धि भएको कुरा कसैबाट लुकेको छैन ।

आफ्नै कार्यकालमा जनकपुरधाममा भएको छिमेकी मुलुक भारतीय प्रधानमन्त्री सम्माननीय नरेन्द्र मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमण गराउन सफल भएकोमा आफुलाई भाग्यमानी ठानेको छु । उहाँहरुको जनकपुरधामको भ्रमणले जनकपुरधामको धार्मिक महत्व विश्वमै स्थापित भएको छ जसका कारण जनकपुरधाममा धार्मिक पर्यटकको संख्यामा कयौ गुणा वृद्धि भएको छ । जसले जनकपुरधामको आर्थिक गतिविधिलाई समेत फराकिलो बनाएको छ । आज जनकपुरधामको होटेल धर्मशालाहरुमा खचाखच्च भरिको पर्यटकहरु त्यसकै एउटा दृष्टान्त रहेको छ । यसका साथै नेपालकै इतिहासमा कुनै पनि विदेशी राष्ट्रप्रमुख सिधै काठमाण्डौ बाहिर अवतरण गर्नुले पनि जनकपुरधामको गरिमालाई बढाएकोमा सम्पूर्ण जनकपुरधामवासी गौरवान्वित छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि प्रदेशको स्थायी राजधानी घोषणा गराउनु आफैमा चुनौतीपूर्ण रहेको थियो । तर प्रदेश सरकार र प्रदेशसभा सदस्यहसंगको संवाद, सहकार्य र प्रमुख दलका शीर्ष नेताहरुसंगको समन्वयमा जनकपुरधामलाई स्थायी राजधानी घोषणा गराउन सफल भएको छु । जसका लागि उपमहानगर भित्रको सवारीकर सम्बन्धि समस्या हुँदा भइ सकेको टेण्डरलाई रद्द गराएर सवारीकर छुट गराउदै राजधानी बनाउने वातावरण निर्माण गर्न सफल भयौ ।

यसका साथै जनकपुुरधामको शिक्षा, स्वास्थ्यसमेतमा उपमहानगरपालिकाले खेलेको भूमिका जनकपुरधामवासी सामु छरपस्ट रहेको छ । जनकपुरधाम उमहानगर भएपछि प्रशासनिक कार्यहरुलाई व्यवस्थित गराउन सुविधासम्पन्न कार्यालय भवन तथा वडा कार्यालयहरुको निर्माणसमेतलाई उपलब्धिको रुपमा लिएको छु ।

प्र. के के काम गर्नु भो के के बाँकी रह्यो ?

– जनकपुरधामको विकासका लागि विगत चार वर्षमा सीमित स्रोत साधनवीच महत्वपूर्ण कार्यहरु गर्न सफल भए पनि थुप्रै महत्वपूर्ण कार्यहरु गर्न अझै बाँकी रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको मधेश विद्रोहका शहीदहरुको सम्मानमा जनकपुरधाम उमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशद्वारमा शहीद स्मारक निर्माण गर्दै भगवान श्रीरामको प्रतिमा राखिसकेको छ भने आगामी दिनमा जनकपुर–जटही सिक्स लेन अर्थात् भारत बाट जनकपुरधाम प्रवेश हुने मुख्यद्वारमा शक्ति र संस्कारको अनुपम उदाहरणको रुपमा माता सीताले शिव धनुषलाई हाथमा लिई पूजा कोठा सफा गर्दै गरेको दृश्यसहितको प्रवेश द्वार तथा जलेश्वर जनकपुर सडक खण्डमा लोकनायक सलहेस एवं दिनाभद्री लगायतको प्रतिमासहितको प्रवेशद्वार निर्माण गरिने योजना बनाएको छु । जसको डिपिआरसमेत निर्माण भइसकेको छ ।

जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको सभागृहको आवश्यकतालाई मध्यनजर गर्दै राजा जनकको दरवारको शैलीमा आकर्षक एवं आधुनिक सुविधायुक्त सभागृह निर्माण गर्ने योजना बनाएको छु । जसको प्रारम्भिक अध्ययनको काम पूरा भइसकेको हुँदा आगामी कार्यकालमा कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।

मिथिला संस्कृति, कला, नाटक , साहित्य , भोजनका परिकारहरुको संरक्षण , सम्वद्र्धन गर्न प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मिथिला महोत्सवको आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्दछु । साथै मिथिला चित्रकलाको संरक्षण र सम्बद्र्धनका लागि नारी विकास केन्द्रको पुनरउत्थान गरिने विश्वास दिलाउन चाहन्छु । जनकपुरधामको धरोहरको रुपमा रहेको यहाँको मठ मन्दिर, गुठी तथा सार्वजनिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धनलाई प्राथमिकतामा राखेको छु ।

जनकपुरधामको वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पु¥याई रहेका यहाँका रिक्सा चालक (अटो रिक्सा, इ रिक्सा) हरुलाई स्वास्थ्य तथा दुर्घटना वीमाको व्यवस्था गर्नेछु । जनकपुरधामको शैक्षिक विकासका लागि श्री याज्ञवल्क्य संस्कृत न.मा.वि जनकपुरधाम ८ र गोगलप्रसाद नमुना मावि बसहिया लाई नमुना विद्यालयको रुपमा अघि सारिएको छ । जुन अहिले विद्यार्थीहरुका लागि आकर्षणको केन्द्र बनिसकेको छ भने जनकपुरधामको सबैभन्दा पुरानो विद्यालय सरस्वती मावि एवं कन्या माविलाई बुढा नीलकण्ठको मोडेलमा अघि बढाउने योजना बनाइ सकेको छु । बुढा नीलकण्ठ संग ओएमयु गरेर अघि बढने प्रतिबद्धता व्यक्त गर्दछु । नेपालकै प्रतिष्ठित क्याम्पसको रुपमा रहेको रा.रा.व क्याम्पसको पुरानो शैक्षिक गरिमालाई पुनस्र्थापित गर्न त्रिभुवन विश्वविद्यालयसंग समन्वय र सहकार्य गर्नेछु ।

जनकपुरधाम र अयोध्यावीच रहेको भगिनी सम्बन्धलाई थप मजबुत बनाउन जनकपुरधामका साधु सन्तहरुलाई अयोध्यासम्मको निशुल्क धार्मिक भ्रमणको व्यवस्था मिलाउने छु । पोखरीहरुको शहरको रुपमा परिचित जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी (तलाउ)हरुको वातावरणीय संंरक्षण तथा सौन्दर्यकरण गर्ने छु । स्वास्थ्य चौकीहरुलाई डोर टु डोर सेवाको रुपमा रुपान्तरण गर्ने छु । जनकपुरधाम उपमहानगरको सेवाहरुलाई जनताको घरदैलोमा पु¥याउन ऐपको निर्माण गरी सर्वसाधारणलाई सुलभ सेवा प्रदान गराउने छु । पोखरीको डिल तथा खुला ठाउँहरुमा वृक्षरोपण गरी वातावरण संरक्षणका साथैै खुला व्यायामशाला निर्माणको अध्ययन भइसकेको हुँदा आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । आधुनिक कृषि बजारको डिपिआर एवं सम्भाव्यता अध्ययन भइसकेको हुँदा आगामी दिनमा कार्यान्वयनका लागि आधुनिक सुविधा सम्पन्न बजार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News