अपडेट 
२०७९ बैशाख २४, शनिबार ०६:५३

जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेश पछाडि परेको बताएका छन् ।

मधेशीमाथि सधंै शासन गर्ने शासक वर्गलाई परास्त नगरेसम्म मधेश र मधेशी जनताले कहिल्यै अधिकार पाउन नसक्ने भएको हुँदा आफना अधिकार एवं पहिचानका लागि आउँदो स्थानीय तहको निर्वाचनमा जसपाका उम्मेदवारहरुलाई जिताउन अध्यक्ष यादवले सबैलाई आग्रह गरे । रौतहटको माधवनारायण नगरपालिका ३ सखुअवामा शुक्रवार जसपा जिल्ला समन्वय समितिले आयोजना गरेको वृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री एवं जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले शासक वर्गले मधेशलाई सधै उपेक्षा गर्दै आएकोले मधेशमा सोचे जस्तो विकास हुन नसक्दा मधेशका जिल्लाहरु चरम गरिबी, अशिक्षा र बेरोजगारीको चपेटामा परेको बताए । शासक वर्गकै कारण रौतहट जिल्ला शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत सबै कार्यमा देशमै सबैभन्दा पछाडि पर्नु विडम्बना रहेको उनले बताए । पटक पटक सत्तामा पुगेर देशको नेतृत्व गरेका नेकपा एमाले, कांग्रेस, माओवादी लगायतका दलले कम लगानी गरेकै कारण रौतहटमा गरिवी, बेरोजगारी, अशिक्षा बढनुकासाथै आर्थिक, सामाजिक, शिक्षा र स्वास्थ्यको दृष्टिकोणले यो जिल्ला पछाडि परेको उनले बताए ।

शासक वर्गले मधेशी, जनजाति, आदिवासी, थारु, अल्पसंख्यक, मुस्लिम लगायत समुदायलाई अधिकार दिन नचाहेको र पटक पटक भेदभावसमेत गर्दै आएकोले आउँदो स्थानीय निर्वाचनमा मधेशलाई अधिकार दिन नचाहनेलाई आफ् ना अमूल्य मत नदिन उनले सबैलाई आग्रह गरे । शासक वर्गले अधिकार, विकास र समृद्धिको नाममा पटक पटक मधेशीलाई ठग्ने काम मात्र गरेकोले मधेशी जनताले उनीहरुलाई अब राम्ररी सवक सिकाउने बेला आएको उनले टिप्पणी गरे । मधेशीको भोटबाट जितेर सत्तामा पुगेपछि शासक वर्गले मधेशीको माग र मुद्दा विर्सिने गरेका कारण ती शासक वर्गलाई चुनावमा साथ नदिन उनले सबैलाई आग्रह गरे । मधेशले कहिले राजालाई त कहिले कांग्रेस, कम्युनिष्ट, राप्रपासमेतलाई विश्वास गरी जिताए तर तिनैलै नै मधेशीको हक अधिकार कुण्ठित गरेको उनले आरोप लगाए । दुधको साक्षी बिरालोलाई राख्नु नै ठूलो भुल भएको र अब सो गल्तीलाई सुधार्दै मधेश र मधेशी जनताको एक मात्र पार्टी जनता समाजवादी पार्टीलाई नै जिताउन उनले अनुरोध गरे । मधेशी जनताको हक अधिकार र पहिचानका लागि सधै लड्दै आएको एक मात्र पार्टी जसपा बाहेक अरु कुनै पनि दलले मधेशीलाई मुक्ति दिलाउन नसक्ने उनले दावी गरे । विगतमा भएका मधेश जनविद्रोहबाट मधेशी जनताले केही अधिकार प्राप्त गरेको र अझै धेरै अधिकार पाउन बाँकी नै रहेकोले बाँकी अधिकारका लागि आफूहरुको संघर्ष जारी नै रहेको उनले बताए । मधेश प्रदेश सहित रौतहटलाई समृद्ध र विकसित बनाउन तथा यहाँ व्याप्त गरिवी, बेरोजगारीलाई अन्त्य गर्न आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा जसपाका उम्मेदवार जिताउन उनले सबैलाई आग्रह गरे ।

शासक वर्गले मधेशमा कहिल्यै विकास गर्न नसक्ने दावी गर्दै उनले विकास, समृद्धि र स्थायीत्वका लागि जसपालाई बहुमत सहित विजयी बनाउन आग्रह गरे । सोही कार्यक्रममा बोल्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले पहाडी शासक वर्गले मधेशीलाई शिक्षाबाट टाढा राखी भोट बैंकको रुपमा मात्र उपयोग गरिरहेको बताएका छन । राज्य मन्त्री यादवले मधेशी जनतालाई अधिकार दिन नचाहने दलहरुको मधेशी जनताले अब पहिचान गर्नुपर्ने बेला आएको बताए । मधेशी जनतालाई शासकवर्ग अझैं दास बनाएर राख्न खोजी रहेकोले आउँदो चुनावमा मधेशीलाई भेदभाव गर्ने र दास बनाएर राख्न खोज्ने एमाले, कांग्रेस, माओवादी लगायत दललाई मधेशीले परास्त गर्नुपर्ने उनले धारणा राखे । मधेशीको अधिकार जसपाले मात्र दिलाउन सक्ने भएको हुँदा सबै मधेशीले आउँदो स्थानीय तहको चुनावमा जसपालाई मात्र साथ दिन उनले आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रेवन्त झा, चुल्हाई यादव, राजकुमार दास लगाएतले आ आफना मन्तव्य राखेका थिए भने जसपाका माधवनारायण नगरपालिकाका मेयरका उम्मेदवार वीरेन्द्र यादव, उपमेयरका उम्मेदवार निर्मला देवी रमन, सबै वडाका अध्यक्षका उम्मेदवार लगायक्तको सहभागिता रहेको थियो ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=gTbjlsup3As

Comment


Related News

Latest News

Trending News