२०७९ बैशाख २५, आईतवार ०७:२६

पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताहरुले निर्देशन दिएका छन् ।

जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित चुनावी सभामा शीर्ष नेताहरुले सो निर्देशन दिएका हुन् । सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई सहयोग नगर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने चेतावनी दिए । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रम देउवाले यस्तो चेतावनी दिदैं जनकपुरधाम उपमहानगरपालिका गठबन्धन दलबाट जसपाका मेयरमा लालकिशोर साह र उपमेयरमा कांग्रेसका किशोरी साह उम्मेदवार हुन्,‘ प्रधानमन्त्रीले देउवाले भने,‘ यी दुबै उम्मेदवारहरुको पक्षमा मतदान गर्न र मत मागौ । उनले यो पार्टीको निर्णय हो । पार्टीको निर्णय विरुद्ध जाने नेता तथा कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्नु पर्ने अवस्था नआओस् भन्दै सजग हुन आग्रह गरे । संविधान,लोकतन्त्र, संघीयताको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई स्थानीय तहमा मात्रै होईन प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्म रहने बताउँदै प्रधानमन्त्री देउवाले भने,‘जहाँ जहाँ गठबन्धन छ,त्यहाँ कुनै एक पार्टीको उम्मेदवार होईन, त्यो साझा उम्मेदवार हो । त्यसकारण ती उम्मेदवार जिताउनु नै अहिलेको आवश्यकता हो ।’

प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री ओलीले संघीयता, गणतन्त्र समाप्त गरी पूर्व राजा ज्ञानेन्द्र शाह बन्न खोजेकाले त्यसको विरुद्धमा ऐतिहासिक गठबन्धन बनेको बताए । विगतको भन्दा जनकपुरधाम उपमहानगरपालिकामा पविर्तन देखिएको बताउँदै गठबन्धन दल विजयी भयो भने यहाँको विकासले तीव्रता पाउने प्रसंग उल्लेख गर्दे उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजा बन्न बाट रोक्न गठबन्धन बनेको बताए । एक प्रसंगमा प्रधानमन्त्री देउवाले अंगीकृत नागरिकको सन्तानले छिट्टै नै नागरिकता पाउने विश्वास दिलाए । नागरिकता सम्बन्धी ऐन तयार भइसकेको छ, अदालतको आदेश अनुसार त्यसलाई संसदबाट पार गरेर मात्रै दिन सकिन्छ, प्रम देउवाले भने,‘ एमालेको अवरोधको कारण संसद चलिरहेको छैन । निर्वाचनपछि त्यस विषयलाई अगाडि बढाउँछौ ।’ कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निक्कै मिहिनेतले बनाएको गठबन्धन भत्काउन प्रतिक्रियावादी शक्तिहरु लागेको आरोप लगाए । लोकतन्त्र, संघीयताको साथ–साथै चुनावमा जित सुनिश्चतका लागि पनि यो गठबन्धन भएको हो, अध्यक्ष प्रचण्डले भने, विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न यो गठबन्धन महत्वपूर्ण छ ।’ एमालेको अवरोधको कारण लाखौ नेपालीका सन्तानले नागरिकता नपाएको अध्यक्ष प्रचण्डले आरोपसमेत लगाए । संसदमा एमाले अवरोध गरे पनि नागरिकता सम्बन्धी ऐन संसदमा लगिने बताउँदै अध्यक्ष प्रचण्डले भने,‘ तपाईहरु ढुक्क हुनुस्, तपाईहरुलाई नागरिकताबाट कसैले वञ्चित गर्न सक्दैनन् ।’ कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाम उपमहनगरपालिकाको विकास निर्माणमा उल्लेखनीय सुधार भएकोले गठबन्धन दलका मेयर र उपमेयरका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।

पाँच वर्ष अघिको जनकपुरधाम र अहिलेको जनकपुरधाममा निक्कै फरक पाइयो पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादवले भने,‘ जनकपुरमा अहिले भइरहेको विकास निर्माणको निरन्तरता दिन तथा थप विकासका नयाँ कार्यहरुको लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्नुस् ।’ कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निर्णय लिई सकेको अवस्थामा गठबन्धनका उम्मेदवार मात्रै मतदान गर्न अनुरोध गरे । कांग्रेस अन्तरघातले बदनाम भएको पार्टी हो, नेता पौडेलले भने,‘ पार्टीले निर्णय गरिसकेको अवस्थामा त्यसमा लप्पनछप्पन नगर्नुस्, गठबन्धन उम्मेदवार पनि हाम्रो उम्मेदवार हो सोचेर मतदान गर्नु होला ।’ कार्यक्रममा सत्तारुढ गठबन्धन दलका मेयर पदका उम्मेदवार लालकिशोर साहले फोहर तथा जीर्ण रहेको सडक र नालाको विकास आफ्नो महत्वपूर्ण योगदान रहेको बताए । पाँच वर्ष अघिको जनकपुरको र अहिले जनकपुरधाममा व्यापक परिवर्तन भएको दाबी गर्दै मेयर साहले भने,‘उपमहानगरपालिकाको चौतर्फी विकासमा जोड दिदै सरसफाईदेखि सडक, नाला, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरेको छु । धेरै काम सम्पन्न भइसकेको छ, केही काम हुन वाँकी नै रहेको छ । यी कामहरु सम्पन्न भएपछि जनकपुरधाममा आमूल परिवर्तन आउने निश्चत छ ।’

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह सहितको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News