भोजमा बोलाएर साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको रूपनी गाउँपालिका–१ रूपनीचोकका ३८ वर्षीय मोनाजिर मियाँलाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी शनिबार पत्रकार सम्मेलन गरी मियाँलाई सार्वजनिक गरेको छ । निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाए पछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट पक्राउ गरेको हो । मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोलका ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दर्ता गरिएको थियो । महतोको शव सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा हत्याको भोलीपल्ट फेला परेको थियो । शव फेला परेपछि घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौती दिएका थिए । पक्राउ गर्न गएका प्रहरी सक्रिय भएपछि उनी फरार भइ भारतको बिहारमा लुकेर बस्दै आएका थिए ।
आरोपित मियाँ यसअघि विसं २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट एक थान पेस्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेट सहित पक्राउ परेका थिए । तत्काल पुर्पक्षका लागि कारागार चलान भएका उनी जरिवाना पश्चात नौ महिनापछि रिहा भएका थिए । जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आवद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार मियाँ अवैध लागुऔषध व्यापार गर्ने, लुकाइछिपाइ हतियार बोकी हिँड्ने र जनमानसमा डर, त्रासको वातावरण सिर्जना गर्ने अपराधिक समूहका व्यक्ति हुन् ।