अपडेट 
२०७९ बैशाख २५, आईतवार ०७:५६

वि.सं.२०५३देखि नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीति प्रारम्भ गरी निरन्तर रुपमा विभिन्न आन्दोलनमा सक्रियताका साथ कार्य गर्दै आएका मनोज कुमार चौधरी तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा लागेर मधेश आन्दोलनमा अगुवा कार्यकर्ता भइ तन मन धन लगाएर सक्रिय रहँदै आएका तथा तीन कार्यकाल सम्म जनकपुरधाम अञ्चल बस व्यवसायी संघको अध्यक्ष भइ समेत काम गरिसकेका छन् । राष्ट्रिय जनता पार्टी हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका लागि उम्मेदवार बनेका छन् । उम्मेदवार चौधरीसंग टुडेकर्मी ध्रुब कुमार झाले गरेको कुराकानीको केही अंश ।

– जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा तपाईको उम्मेदवारी किन ?

— मेरो उम्मेदवारी जनकपुरधामलाई सफा सुग्घर,हरियो जनकपुरधाम बनाउनका लागि हो । मेरो उम्मेदवारी जनकपुरधामको दिन प्रतिदिन खस्किंदै गएको जनकपुरधामको शिक्षाको स्तर उकास्नका लागि हो । जनकपुरधामको स्वास्थ्य व्यवस्था उकास्नका लागि हो । यहाँको सबै भन्दा ठूलो समस्या र चुनौतीको रुपमा देखिएको ल्याण्डफिल साइटको व्यवस्थापन गर्नको लागि मेरो उम्मेदवारी हो । खेलुकुदको यथोचित विकास गरेर युवाहरुलाई खेलप्रति आकर्षित गरेर युवाहरुमा देखिएको विकृति विसंगतिहरुको अन्त्यका लागि हो । जनकपुरधामको विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर आन्तरिक पर्यटन प्रवद्र्धनमा मात्र नभइ वैदेशिक रोजागारीमा जानेहरुको लागि तेस्रो मुलुकसंग प्रत्यक्ष हवाइ यात्राको कनेक्टिभीटी गर्नको लागि मेरो उम्मेदवारी हो । मच्छरमुक्त जनकपुरधाम बनाउनको लागि हो र जनकपुरमा जुन चाहीँ यो नशा अभियान चलिरहेको छ त्यसलाई निर्मूल गर्नको लागि मेरो उम्मेदवारी हो । यस बाहेक हिजो मात्रै मैले मेरो घोषणापत्र सार्वजनिक गरेको छु । त्यसमा धेरै कुरोहरु मैले लेखेर प्रतिवद्धता जाहिर गर्दछु । त्यो सबै पूरा गर्न मेरो उम्मेदवारी हो । जनकपुरधामवासीको सेवा गर्न मेरो उम्मेदवारी हो । भ्रष्टाचारमुक्त पालिका निर्माण गर्दै जनकपुरधामलाई मधेशकै शानको रुपमा स्थापित गर्न नमुना पालिका निर्माणको लागि मेरो उम्मेदवारी हो ।

– राजपा विभक्त भएको अवस्थामा अन्य मधेशवादी दलका उम्मेदवारहरुबाट के कस्तो सहयोग पाउनु भएको छ ?

— जब राजपाबाट विभाजित भएर लोसपा बन्यो । यो सिट भनेको अर्थात् जनकपुरधाम उपमहानगरपालिका भनेको पहिला पनि साइकलकै थियो अहिले पनि साइकल कै छ पछिल्लो २०७४को निर्वाचनमा मेयर उपमेयर सहित १२ वटा वडाध्यक्ष हामीले जितेका थियौं । र अहिले पनि जसपा र लोसपा हुँदा पनि ७४ जना मध्ये ७१ जनाले लोसपा नै रोजेको छ । यसले प्रष्ट रुपमा के दर्शाउँछ भने जनकपुरधाम नगरपालिका हिजो पनि साइकलकै थियो । आज पनि साइकलकै हो र भोली पनि साइकलकै रहनेछ भन्ने देखिन्छ । यसलाई अझै प्रष्ट रुपमा भन्नु पर्दा विगतको निर्वाचनमा अधिकारवादी शक्तिकै कारणले जनकपुरधाममा मेयर उपमेयर निर्वाचित भए त्यस्तै यस पाली पनि मधेशवादी शक्ति भनेको साइकल छाप नै हो र विगतमा राष्ट्रिय राजनीतिमा देखिएको दृश्यहरुले जसपा र अन्य मधेशवादी दलको नियत प्रष्ट भइसकेको छ । सत्तामा जान मरिहत्ते गर्नेहरु मात्रै राजपाबाट छुट्टिएर अलग दल बनाएका छन् यसले मधेशको मुद्दा होस कि जनकपुरधाम उपमहानगरपालिका लोसपाको लागि महत्वपूर्ण छ । जनकपुरधाम मधेश आन्दोलनको उद्गम भूमि हो र यो आन्दोलनबाट जन्मेका पूर्व मेयर उपमेयर लगायत वार्ड अध्यक्ष ,हाम्रो प्रदेश विधायक ,संघीय विधायक आउन सफल भएको छ । मधेशको अधिकारकै लागि लड्ने लोसपाले नै यहाँ जित्छ भन्नेमा मेरो विश्वास छ । किनकी मधेशवादी दलबाट उठ्ने उम्मेदवारहरुलाई यहाँको मतदाताहरुले अवश्य माया स्नेह दिनेछन् ।

– मेयरका उम्मेदवार मध्यै तीन उम्मेदवार मधेशवादी छन् यस्तोमा मत विभाजित भएको छ, तपाइलाई कसरी विश्वास छ कि जित्नुहुनेछ ?

— तीन सय प्रतिशत हाम्रो पार्टी यहाँ जित्न गइरहेको छ । तपाई हेर्नुहोला जनकुपरधामको भोटको सिनारियो जहिले पनि एक नम्बर र दुई नम्बरमा लडाइ हुन्छ तीनदेखि तलको स्थान हुँदैन र अन्त्य अन्त्यमा जनकपुरधामलाई समावेशीको हिसाबले सबैलाई समेटेर लैजाने मेयरको आवश्यकता छ । त्यसकारण निश्चय पनि जुन मेरो व्यवहार र संस्कार छ मैले तीन चोटी चौंथो कार्यकाल बस व्यवसायी संघ चलाएको छु , सबैको विश्वासको पात्र बनेर लामो समय सम्म एउटै संस्था चलाउने अनुभव पनि छ । मैलै ग्यासको अञ्चल व्यवसायी संघ पनि चलाएको थिएँ । पेट्रोलियम डिलर्समा पनि बसेको छु । उद्योग बाणिज्य संघमा पनि बसेको छु । मेरोमा समग्र जात जाति भाषा भाषीलाई समेटेर लैजाने क्षमता भएको कारणले पनि मलाई जिताउन म आग्रह गर्दछुँ । निश्चय पनि जनताले नरुचाएको भए यति लामो समय सम्म कुनै पदमा कसरी स्वीकार गर्थै त्यसले गर्दा पनि मलाई यहाँको मतदाताहरुले मलाई एक पटक मौका दिनु हुन्छ । मलाई मेरो साइकल छापमा मतदान गरेर अत्यधिक मत दिइ विजयी गराउनुहुन्छ भने मेरो विश्वास छ । म मात्र नभइ साइकल छापमा मत हालेर मेयर उपमेयरमा मात्र नभइ सम्पूर्ण वार्ड अध्यक्षदेखि सदस्य सम्म जिताएर मधेशी,दलित लगायतका पिछडिएका वर्गको उत्थानमा सहयोग गर्न मेरो आग्रह छ । अहिलेको तानाशाही जुन प्रवृति चलेको छ भ्रष्टाचारको चरम अखाडा नै बनेको छ । त्यसलाई समाप्त पारेर समावेशी ढंगले जनकपुरधाम उपमहानगरपालिकालाई विकासको मार्गमा डो¥याउनका लागि म वचनवद्ध छु।

—घरदैलोमा हुँदा मतदाताहरुलाई कस्तो आश्वासन दिइराख्नु भएको छ ?

—मतदाताहरुमा मप्रतिको उत्साह देखेर हर्षित मात्र होइन उत्साहित छु र झन जिम्मेवार बन्दै गएको अनुभूति गर्दैछु । दैनिक चारदेखि आठ किलोमिटर सम्मको पैदल यात्रा गर्दै घरदैलोमा लागिपरेको छु तर २५ वटै वार्डको घर घरमा पुग्न सकिन्छ सकिंदैन अहिले समय एकदमै कम छ म पुगे नपुगे मिडियाकै मार्फतले पनि म सबैलाई के अनुरोध गर्न चाहन्छु । र निश्चय पनि यो सानो पिरियडमा जब मैले टिकट लिएर आएँ यो भन्दा पहिले म नगर अध्यक्ष बने त्यस पछि म संगठनमा लागे । संगठन गर्ने वित्तिक्कै मैले टिकट पाएँ र निरन्तर मैले भ्याउने वार्डहरुमा भ्याइरहेको छुँ । चारचार पाँचपाँच आठ किलोमिटर क्षेत्रफलको वार्डहरु छन् सबै ठाउँ नपुग्न पनि सक्छुँ तर तपाईहरुकै मिडिया मार्फत म सबै मतदाताहरुलाई आग्रह गर्दछु कि एक पटक मलाई मौका दिनुस ।

—निर्वाचनमा आर्थिक चलखेलको प्रवृत्ति बढेर गएको छ तपाईलाई कस्तो चुनौती छ ?

–हामीले त निर्वाचन आयोगले दिएको मापदण्ड अनुसार नै प्रचार प्रसार गरिरहेका छौं । हामीलाई चुनौती छैन किनकी चुनाव जित्न पैसा भन्दा पनि समर्पित कार्यकर्ताको लगन र मतदाताको स्नेह चाहिन्छ र हामी पनि सोही सिद्धान्तमा चुनाव लड्दैछौं । हो पैसा बाँड्ने कुरो हामी पनि सुनेकै छौं र म मतदाताहरुलाई के भन्न चाहन्छुँ भने एक पैसा छुँदैछुनु हुन्न यदि लिनै पर्ने त्यस्तो बाध्यात्मक परिस्थिति आउँछ भने पैसा लिएर पनि अयोग्यलाई होइन योग्यलाई नै मतदान गर्न सक्नु पर्छ अन्यथा हामीले खोजेको परिवर्तन सम्भव छैन । अब जसले बोरा खोल्छ झोरा खोल्छ यहाँको मतदातालाई म अनुरोध गर्न चाहन्छु कि झोरा बोरा खोलेपछि पैसा आरामले लिनुस तर मत नदिनुस किनकी जसले आज तपाइको मत किन्छ उसले तपाइले नै तिरेको करको पैसाबाट भ्रष्टाचार गरेर लुट्छ । एक पटक ठगिनु भयो भने पाँच वर्ष सम्म झेल्नु पर्ने हुन्छ । अहिले तपाईहरुले भन्नु हुन्छ कि चिया खुवाएन एक गिलास पानी खुवाएन मेयरले चार घण्टा कुर्दा पनि भेंट दिएर पैसाले जिताएपछि फेरि त्यस्तै अवस्था आउनेछ भन्नेमा मतदाताहरु सचेत हुनु जरुरी रहेको छ । यदि हामी सचेत भएनौ भने फेरि पनि त्यस्तै तानाशाही आउँछ । त्यस कारण जसले पैसा खर्च गरिरहेको छ । कुनै आफ्नो खेत बेचेर ल्याएर खर्च गर्ने होइन उसले त्यो पैसा खर्च गरेर तपाइहरुबाट नै त्यो पैसा असुल उपर गर्छ । जसले अहिले भन्दैछ कि १०करोड,२० करोड,चालीस करोड,पैसाले नै यहाँको मतदातालाई किन्छु भने सोंच्नुस उसको कत्ति ठूलो अहम्ता होला । त्यस कारण त्यस्ता पैसा खर्च गर्ने व्यक्तिलाई हामी समाजबाट बहिष्कार गरौं । त्यस्ता पैसा सकभर नलिउँ यदि त्यस्तै दिन आउँछ प्रेस गर्छ भने लिने तर भोट योग्यलाई नै दिने । सबैलाई समेटेर लैजान सक्ने क्षमता भएका मेयर चुन्नु होला भन्ने मेरो आग्रह छ । छद्मभेषी व्यक्तिहरुबाट सावधान रहनुहोला किन कि ती व्यक्तिहरु भन्दै हुनुहुन्छ कि मैले यो गरेँ ,म समाजसेवी हो त्यस्तो व्यक्तिको गाउँमा गएर हेर्नुस वहाँले के समाजसेवा गर्नु भएको छ ? उहाँको ठाउँमा गएर हेर्नुस उहाँले के सेवा गर्नु भएको छ ? अहिले चुनावको बेला आएर म यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर अनि पैसा बाँडेर ठूलो समाजसेवी बन्ने छद्मभेषीहरुसंग जनकपुरधामका नगरवासी सचेत हुनै पर्छ । यदि कसैले तपाईको भोट किन्न बीस खर्च गर्छ भने उसले जितेपछि चालीस तपाईसंगै असुल गर्छ । उ विकास प्रेमी हुनै सक्दैन उ तपाइको न्याय प्रेमी हुनै सक्दैन । त्यसकारण त्यस्ता व्यक्तिहरुसंग सावधान रहन अनुरोध गर्दछु ।

–तपाईले जित्ने बित्तिक्कै कुन योजनामा काम गर्नु हुन्छ के छ तपाइको प्रतिवद्धता ?

—म जित्ने बित्तिक्कै दुई वर्ष भित्रमै ल्याण्डफिल साइटको स्थापना गराउने छु त्यस पछि मच्छरमुक्त जनकपुरधाम निर्माणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्ने गरी संगठनको विज्ञहरुसंग सर सल्लाह सुझाव लिइ मच्छरमुक्त नगर बनाउन म प्रयास गर्नेछु । सडक नालाहरु जुन छ यो भन्दा पूर्वमा निर्माण भएको रोड नालामा चरम भ्रष्टाचार गरेर गुणस्तरीयतालाई ध्यान दिइएको छैन त्यसको मरम्मत सम्भारको साथै नगरको गल्ली गल्लीमा पक्की सडक निर्माण गर्ने मेरो प्रतिवद्धता छ । यस्तो कामहरुलाई सुधार गर्न चुनौतीपूर्ण छ जुन हामी गर्न प्रतिवद्ध छौं । विज्ञ टोलीको निर्माण गरेर वहाँहरुको सल्लाह सुझाव अनुसार अगाडि बढने छु । त्यस्तै खेलकुद,शिक्षा,लगायतको हरेक क्षेत्रका विज्ञहरुसंग सुझाव संकलन गरी काम गर्नेछु । शिक्षामा नगर भित्रका सामुदायिक र निजी विद्यालय बीच प्रतिस्पर्धाको वातावरण कसरी निर्माण गर्न सकिन्छ । जनकपुरधामको ध्वस्त हुँदै गएको शिक्षालाई कसरी जोगाउने त्यसका लागि सेवा निवृत्तदेखि अनुसन्धान गरेर शिक्षामा आमूल परिवर्तन ल्याउने वाचा मेरो छ ।

–पालिकाको चुनाव दलमुक्त हुनु पर्ने चर्चा चलिरहँदा पालिकाको चुनावमा पनि ठुल ठूला दलहरुले गठबन्धन गरेका छन् तपाईले यसलाई कसरी हेर्नुहुन्छ ?

– यो गठबन्धन होइन ,ठगबन्धन हो किनभने गठबन्धनको उम्मेदवारहरु अहिले छँदैछ । अहिले पनि त कांग्रेसका उम्मेदवार मनोज साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उपमेयरमा निर्मल चौधरी स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस कारण यो गठबन्धन हुँदै होइन यो ठकबन्धन हो । गठबन्धनको हावामा तपाईहरु नपर्नु होला । सक्षम,योग्य व्यक्तिलाई चयन गर्नु होला ।

–ऐतिहासिक धार्मिक नगरी जनकपुरधामको पर्यटकीय विकासका लागि के योजना छ ?

—मैले पहिला पनि प्रष्ट रुपमा भन्दै आएको छु हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरलाई पर्यटन प्रवद्र्धनको विकास गर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले तीन वटा बस किन्ने छ रेल्वे स्टेशन,एयरपोर्ट र बसपार्कबाट आउने यात्रीहरुको लागि दर्शन गर्ने भक्तजनहरुलाई निःशुल्क जानकी मन्दिर सम्मको यात्रा गराउने लक्ष्य लिएको छु । यसले पर्यटन प्रवद्र्धनको विकासमा एक पाइला थप्ने छ । तर यतिले मात्र होइन हामीले यहाँका सम्पूर्ण पोखरी सरोवर तलाउहरुको सौन्दर्यकरणका लागि विशेष योजना ल्याउने र आन्तरिक तथा वाह्य पर्यटकहरुको बसाइ लम्ब्याउने तर्फ काम गर्नेछौं ।

–अन्त्यमा के भन्न चाहनुहुन्छ जनकपुरधामवासीलाई ?

— अन्त्यमा मैले मतदाताहरु समक्ष के आग्रह गर्न चाहन्छु भने आउने निर्वाचनमा म लगायत हाम्रा टीमका सम्पूर्ण उम्मेदवारहरुलाई साइकल छापमा मतदान गरी जिताउनुस । गुनासो सुनिन्छ कि सबैले चुनावको बेला यसरी नै वाचा गर्छन पछि बदलिन्छन तपाई ढुक्क रहनुस एकचोटी अनेकौं चोटी तपाई ठगाउनु भएको छ । एक चोटी अझै ठगाउनुस । यसको अर्थ यो हो कि मनोज चौधरी तपाईको चाहना अनुसार यदि खडा उत्रिन सकेन भने त्यसपछि मनोज चौधरी राजनीतिबाट सन्यास लिन्छ । यो विश्वास दिलाउँदै म बैशाख ३० गतेको निर्वाचनमा साइकल छापमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन अनुरोध गर्दछु ।

Comment


Related News

Latest News

Trending News