अपडेट 
२०७९ बैशाख २६, सोमबार ०७:५१

जलेश्वर । नेपाली कांग्रेसका महामन्त्री गगण थापाले हावा बिनाको पन्चर साईकल मधेशी जनताको काम नलाग्ने बताएका छन् ।

महोत्तरीको औहरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार यादवको औहरी गाउंमा चुनावी सभामा आइतबार नेता थापाले नेकपा एमालेका तत्कालीन अध्यक्ष केपी ओली नेतृत्वको प्रतिगमनकारी, संघीयता, गणतन्त्र विरोधी सरकारलाई समर्थन गरेर लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले आफ्नो साख गुमाइसकेको बताए । मधेशी जनताको बलिदानी र संघर्षले प्राप्त भएको संविधान र संघीयतालाई समाप्त गर्न लोसपाका शीर्ष नेताहरु सत्ता र व्यक्तिगत स्वार्थका लागि केपी ओलीसंग हात मिलाएर मधेशी जनताको भावनासँग खेलवाड गरेको दाबी गर्दै उनले भने,‘ छेपारो जस्तो रंङ बदल्ने नेताहरुलाई पहिचान गर्ने अवसर यहि हो । तपाई सचेत भएर मतदान गर्नु होला ।’ लोसपाले मधेशी जनताको मत लिएर मधेशी जनता विरुद्ध लाग्नेसंग साँठगाठ राख्ने भएकोले आफ्ना स्वाभिमान, सम्मान, पहिचान र विकासका लागि कांग्रेस वाहेकका पार्टीलाई मतदान नगर्न उनले आग्रह गरे । कार्यक्रममा औरही नगरपालिकामा मेयर पदका उम्मेदवार सुनिल कुमार यादवले मधेशी जनतासंग मत लिएर पहाडीलाई सांसद बनाएको आरोप लगाए ।

लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारी तर्फसंकेत गर्दै उम्मेदवार यादवले भने,‘ तत्कालीन जसपाले मधेशी जनताको मत लिएर पार्टीका लागि दिन रात खट्ने नेता कार्यकर्तालाई वाईपास गरी पहाडी समुदायका निर्जला राउतलाई सांसद बनाएका हुन् । के लोसपाका मधेशी तथा कार्यकर्ता मतदान गर्न र पार्टीका झण्डा बोक्न मात्रै लागेका हुन ?’ ‘औरहीमा अल्पसंख्यक भएर पनि पछिल्लो ४० वर्षदेखि वहुसंख्यकमाथि शासन गर्ने एक व्यतिmले यहाँका जनताका लागि अहिलेसम्म के गरेका छन् ? त्यसको मूल्याङकन हामीले कहिले गर्ने ? त्यसकारण पछिल्लो ४० वर्षको हिसाब किताब गर्ने अवसर यहि हो । तपाईहरु सचेत र सतर्क रहेर मतदान गर्नु होला’ उम्मेदवार यादवले भने । आफूले साढे ४ वर्षको कार्यकालमा औरही नगरपालिकाको चौतर्फी विकास गरेको उम्मेदवार यादवले दाबी गरे । ग्रामीण क्षेत्रको नगरपालिका भएकोले आफूले शून्यबाट सुरु गरेर अहिले समृद्धि र विकासको पथमा नगरपालिकालाई अगाडि बढाउन बलियो आधार खडा गरेको बताउँदै उम्मेदवार यादवले भने,‘ एक पटक पुनः सेवा गर्ने अवसर मागिरहेको छु । तपाईहरु मेरो पछिल्लो कार्यको मूल्याङकन गरी मतदान गर्नु होला ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री महेन्द्र कुमार राय, कांग्रेसका प्रदेश सदस्य नागेन्द्र यादव, जिल्ला सचिव वीरेन्द्र यादव, कांग्रेसका नेता डा. अशोक यादव, नगरसभापति योगेन्द्र यादवसहितको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News