सप्तरी जिल्लामा घर अगाडि पार्किङ गरी राखिएको एउटा बस चोरी भएको छ ।
राजविराज नगरपालिका– ८का प्रदीप कुमार जैनको घर अगाडि पार्किङ गरी राखेको ना.५ख. ४६८५ नम्बरको लक्ष्मी– गणेश ट्राभल्स कम्पनीको बस चोरी भएको हो । साइकल र मोटरसाइकल चोरीको घटना हुने गरे पनि बस चोरीको घटना भने सम्भवतः जिल्लामै पहिलो पटक भएको हो । राजविराज–काकडभिट्टा रुटमा चल्ने ४० सीट भएको उक्त बस शनिबार राती ११ बजेतिर चोरी भएको बसधनी जैनले बताए । आइतबार बिहान घरबाट केही टाढा रहेको अशोक यादवको पसलमा जडान गरिएको सीसी क्यामराको फुटेजले ११ बजेर ८ मिनेटमा उक्त बस रुपनी मार्ग तर्फ गइरहेको देखाएको छ ।
यद्यपि चोरी गरी लैजाने चालकको अनुहार सीसी क्यामरामा कैद हुन सकेको छैन् । यस्तै उक्त बस राती ११ बजेर ३४ मिनेटमा रुपनी हुँदै लहानतर्फ गइरहेको इलाका प्रहरी कार्यालय रुपनीको सीसी क्यामरा फुटेजले देखाएको छ । चोरी भएका बस विभिन्न नाकामा सीसी क्यामरामा देखिए पनि चोर र बस अहिलेसम्म पत्ता नलाग्नु अचम्मको विषय भएको सवारी धनी जैनले बताए । सीसी क्यामरा फुटेजको आधारमा चोर र बसको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले भने, ‘चोरी भएको बसको सम्पूर्ण विवरण प्रहरीका युनिटहरुमा पठाई खोजतलास व्यापक बनाएका छौं, चाँडै पता लाग्छ ।
Please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=gTbjlsup3As