वीरगञ्ज । ‘एक तरफ कुआ, दुसरा तरफ खाइ’ यो भोजपुरी उखान आर्थिक महानगरी वीरगञ्जको चुनावमा धेरैको थेगो बनेको छ । वितृष्णा हुने गरी चुनाव अगाडि भएको दलीय टुटफुट, पार्टी प्रवेश र गठबन्धनको नाटकपछि एकजना पनि राम्रो उम्मेदवार नपरेकाले होला अहिले यहाँका हरेक चियापसल र पान पसलमा यही उखान प्रयोग गरिन्छ। चुनावको मुखमा दल चहार्दै हिँडेका दलबदलुहरू र आफ्ना उम्मेदवार नभएकाले नवप्रवेशीलाई नै उम्मेदवार बनाएका दलहरूका कारण राजनीतिमा अलिकति पनि नैतिकता बाँकी नरहेको यहाँका बुद्धिजीवीहरूको टिप्पणी छ ।
ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक ललन द्विवेदीले आस्था र सिद्धान्तका कुरा नेता र दल दुबैमा ह्रास हुँदै गएको छ । उनी भन्छन्,‘स्थानीय निकायमा विकास, समृद्धिको प्रतिस्पर्धा भन्दा पनि जसरी हुन्छ चुनाव जित्ने होड छ, जुन लोकतन्त्रको लागि राम्रो सूचक होइन।’ अधिवक्ता एंव पत्रकार रामनारायण कुर्मी सामाजिक सञ्जालमा ध्वनि प्रदूषणको बिरोध गर्दै लेख्छन् , ‘चर्को आवाजमा लाउड स्पीकर बजाउँदै भोट माग्ने उम्मेदवारलाई मत नदिने मेरो विचार छ ।’ उनको स्टाटसमा प्रतिक्रिया दिदै प्रदीप साह लेख्छन्– ‘चर्को लाउडस्पीकर बजाएर भोट माग्ने काम हुनु गलत प्रवृत्ति संस्थागत हुँदै जानु हो, प्रशासनले यसलाई तत्काल रोक्नसक्नु पर्छ ।’ यता पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले ध्वनि प्रदूषण गरेका दल वा उमेदवार विरुद्ध कसैले लिखित जाहेरी दिए प्रहरीले तत्कालै कारवाही गर्ने बताए । वीरगञ्जमा अहिले एक लाख २४ हजार ६ सय ४७ मतदाता छन् । अघिल्लो चुनावमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका सरावगी १९ हजार ३ सय ९३ मत ल्याएर विजयी भएका थिए । त्यतिबेलाको राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका राजेशमानले १२ हजार १ सय ६५ मत पाएका थिए । चुनावी सरगर्मी बढेसँगै मुख्यतः जसपाका नेता राजेशमान सिंह र निवर्तमान मेयर विजयकुमार सरावगीको बीचको चुनावी जोड घटाउ बढेको छ । यतिबेला राजेशमानका सारथी मधेश आन्दोलनका प्रभावशाली नेता जसपाका प्रदीप यादव बनेका छन् । यसअघि २०७४ को निर्वाचनमा यादवकै सहयोगमा सरावगीको विजययात्रा सहज भएको थियो ।
राजेशमानको साथमा यतिबेला नेपाली कांग्रेसका अजय द्विवेदी पनि छन् जो अघिल्लो चुनावमा १७ हजार १ सय ९७ मत पाएर दोस्रो स्थान प्राप्त गरेका थिए । यो मत राजेशमानका लागि निर्णायक हुने अपेक्षा जसपाको छ, भने विजय सरावगी पनि कांग्रेसी मतलाई आफ्नो पक्षमा पार्न सबै प्रयोगमा लागेका छन् । परिणामस्वरूप निर्वाचनमा दुबै प्रतिस्पर्धीको भर कांग्रेस बनेको छ । सत्ताधारी गठबन्धनको तर्फबाट राजपाको भागबण्डामा परेको वीरगञ्ज महानगरमा कांग्रेसी नेताहरूलाई समेट्नमा राजपाको चुनावी रणनीति केन्द्रित छ र सहभागिता देखिए पनि कांग्रेसीजनको अत्मीयता राजपासँग खासै छैन । विगतका चुनावमा आफ्नैसँग अन्तरघातको खेलमा खप्पिस रहेका कांग्रेसीजनप्रति पनि पूर्व मेयर विजय सरावगी त्यति नै आशावादी भएको एमालेका कार्यकर्ताहरु बताउँछन् । चुनावको अन्तिम समयमा साम, दाम सबै प्रयोगका लागि सरावगीले १६ करोडको बजेट पहिला नै छुट्याइसकेको चर्चा छ । आचारसंहिताको व्यापक उल्लंघन भएको छ। कसैले प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेका छन् त कसैले भारतीय सवारी साधनको प्रयोग । राजनीतिक दलहरू सकेसम्म धेरै उल्लंघन गर्ने होडमा देखिन्छन्, निर्वाचन आयोग त झन् आँखा चिम्लिएर बसे झैं देखिन्छ । फलतः चर्को डिजे र भोजपुरी गीतको धुनमा बनाइएको प्रचार प्रसारले महानगरवासी आजित भएका छन् । स्थानीय चुनाव अगावै सम्पन्न भएको नेपाली कांग्रेसको जिल्ला सभापतिको चुनावमा देखिएको संस्थापन र इतर पक्षबीचको फाटो मिलाउन अझै सकिएको छैन । नेकां जिल्ला समितिको विस्तार, उपमेयर उम्मेदवारीदेखि जिल्लाभरिको टिकट वितरणमा संस्थापन पक्षले इतरपक्षलाई भित्तै सम्म पु¥याएको कारणले पनि मेयर सरावगीलाई बल पु¥याएको छ । वीरगञ्ज महानगरपालिकामा उपमेयरसहित प्रतिपक्षमा रहेको कांग्रेसको खासै प्रतिद्वन्द्वी भूमिका देखिएन ।
विगतका साढे चार वर्ष मेयर सरावगीको ‘मिलिजुली बसौं, बाँडिचुडी विकास गरौ’ नीतिलाई कांग्रेसले मलजल गर्दै आएको छ । नेपाली कांग्रेसका नेतासँग आफ्नो कुरा भइरहेको बताउँछन् मेयर सरावगी भन्छन् – ‘ वीरगञ्जको भविष्यको कुरा छ, म त यो चुनावसम्म मात्रै हो, गुण्डाराज भयो भने त्यसले आउने चुनावमा कांग्रेसलाई बिताउने छ ’। सरावगी स्वास्थ्य, शिक्षा, रोजगारी, पर्यटन विकास लगायतका मुद्दा पूरा गर्न बाँकी नै रहेकोले चुनावी परिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् । सरावगीलाई पूर्वमेयर विमल श्रीवास्तवको पनि साथ छ। श्रीवास्तव लोसपाको तर्फबाट क्षेत्र नम्बर २ का सांसद छन् । शनिबार वीरगञ्जमा गठबन्धनले पाँचै दलका वडा अध्यक्षहरूलाई साझा उम्मेदवार राजेशमान सिंह र ईम्तीयाज आलमलाई जिताउन संकल्प गराएको छ । गठबन्धन आवद्ध दलहरू एक अर्का प्रति इमान्दार नरहेको अरोपलाई चिर्न गठबन्धनले वडा अध्यक्षहरूलाई मित्रवत् प्रतिस्पर्धा गर्दै मेयर र उपमेयरमा साझा उम्मेदवारलाई जिताउने संकल्प गराएको छ । मेयर र उपमेयरमा गठबन्धनको साझा उम्मेदवारलाई मत माग्ने प्रतिवद्धता गराइएको नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले बताए । वडा अध्यक्षहरूलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गठबन्धनका कारण एमालेको हैकम प्रवृत्तिले घुँडा टेकेको र बहुमतको सरकार सहित प्रदेशको सरकारबाट पनि हात धुनु परेको बताए ।
नेता रमेश रिजालले भने– ‘ तपाईहरूलाई पार्टीले उम्मेदवार बनाएको हो, त्यही पार्टीको केन्द्रीय समितिले गठबन्धनलाई जिताउने निर्णय गरेको छ , दायाँबायाँ नगर्नुहोला ।’ ‘कांग्रेस बेइमान हो भन्ने आरोप नलागोस’। संघीय सांसद प्रदीप यादवले यो लडाईं विजय सरावगी र राजेशमान सिंह तथा इम्तीयाज आलमको नभइ अधिनायकवाद, शान्ति र संविधानबीचको लडाई भएको बताए । ‘गठबन्धन हार्नु भनेको शान्ति र संविधान पक्षधरहरू हार्नु हो’ सांसद यादवको तर्क छ । पर्सा कांग्रेसलाई केन्द्रले कुनै पनि हालतमा गठबन्धनको उम्मेदवारलाई जिताएर पठाउन निर्देश दिएका कारण राजेशमानलाई शत प्रतिशत सहयोग हुने आशामा जसपा छ । नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री गठबन्धनका दुबै मेयर र उपमेयरका उम्मेदवारको विजय निश्चित भएको दाबी गर्छन् । उनले पार्टी भित्र जति अन्तरद्वन्द्व भए पनि आफूहरूले मिलाइरहेको बताउँदै भन्छन्, ‘सबै वडाअध्यक्षका उम्मेदवारलाई मेयर र उपमेयरमा राजेशमानसिंह र इम्तियाज आलमलाई भोट दिन निर्देश गरिसकैका छौं, धेरै मतको अन्तर छ, दुइ चार प्रतिशत यताउति गए पनि खासै फरक पर्दैन।’ आउने समयमा सबै कांग्रेसी नेताहरू राजेशमान सहितका गठबन्धनका उम्मेदवारलाई जिताउन वडा वडामा लाग्ने सभापति सिंहले बताए । पार्टीको अन्तरिक विवाद उत्कर्षमा भए पनि आफूहरूले गठबन्धनकै उम्मेदवारलाई सहयोग गरिरहेको पूर्व सभापति अजय द्विवेदी दाबी गर्छन् ।
राजेशमानसिंहलाई जिताउन गठबन्धनको सबै कार्यक्रममा आफू गएको बताउँदै द्विवेदीले भने– गठबन्धनलाई अन्तरघातको कुरा मात्र हल्ला हो, हामी सबै चुनावमा होमिएका छौ’।

