वि.सं.२०४६ सालको जनआन्दोलनदेखि सक्रिय राजनीति सुरु गरेका रामचन्द्र प्रसाद जयसवाल २०४९को निर्वाचनमा तत्कालीन सबैला गाविसको वडाअध्यक्षमा निर्वाचित भइ जनताको विश्वास हासिल गर्न सफल राजनीतिकर्मी मात्र नभइ असल समाजसेवीको रुपमा उनी परिचित छन् । समस्यामा परेका जो सुकै व्यक्ति उनको आँगनमा पुगेपछि पाँच लाखको आशमा पुग्ने व्यक्तिले पाँचै लाख नभए पनि पचास हजार अवश्य लिएर जाने गरेको दाबी उनी निकटका व्यक्तिहरुले गर्छन् । २०७४को निर्वाचनमा नेपाली कांग्रेसले उनलाई वडा अध्यक्षमा टिकट नदिए पछि उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।सो निर्वाचनमा उनले जित्न नसके पनि विगत चारवर्ष अघि राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेर अहिले लोकतान्त्रिक समाजवादी पार्टीबाट जयसवालले सबैला नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनीसंग टुडेकर्मी ध्रुबकुमार झाले गरेको कुराकानीको केही अंश ।
— तपाईको उम्मेदवारी किन ?
–ममाथि जनताको विश्वास छ । विगत २०४६ देखि अहिले सम्म निरन्तर रुपमा मैले सबैला नगरवासीको स्नेह मायाले मलाई यहाँ सम्म पु¥याएको छ र त्यहि विश्वासले मैले उम्मेदवारी दिएको छुँ । मेरो उम्मेदवारी भ्रष्टाचारमुक्त समाज निर्माणको लागि हो । मेरो उम्मेदवारी लामो ईतिहास बोकेको सबैला बजारको सुरक्षा व्यवस्थापनको लागि हो । मेरो उम्मेदवारी खस्किंदै गएको शिक्षाको स्तर बढाउनको लागि हो । म अहिले पनि उद्योग बाणिज्य संघ सबैलाको अध्यक्ष भएर काम गर्दैछुँ र आफूले अहिले सम्म जत्ति पनि पदमा बसेको छुँ कहिँ कत्तै पनि मेरोबारेमा दुई रुपियाँ पनि भ्रष्टाचार गरेको आरोप छैन । बरु मैले आफ्नो मिहिनेतले कमाएको धेरै नभए पनि दुई पैसा नै किन नहोस मैले खानु भन्दा पनि सहयोग गर्ने गरेको छुँ । मकहाँ आइ पुग्ने कोही पनि आज सम्म सहयोग नपाई खाली हात गएका छैनन मतदाताहरुलाई मेरो ईमान्दारिता ,लगनशीलता प्रति विश्वास छ त्यसैले मेरो उम्मेदवारी हो । मैले उम्मेदवारी दिएको होइन म त समर्थक मतदाताहरुकै सल्लाहले उत्रेको छुँ । विगत साढे चारवर्षको अवधिमा नगरपालिकामा देखिएको सवारीको दुरुपयोग होस या अन्य बेथीतिको मैले विरोध गर्दै आएको छुँ । जनता समक्ष सुसुचित गर्दै आएको छुँ संघर्षमा मलाई सबैले साथ दिएका छन् र जब सम्म राम्रो मान्छे मेयरमा जित्दैनन तब सम्म परिवर्तन गर्न कठिन छ । किनकी जता ततै आर्थिक चलखेलको बोलबाला छ । भ्रष्टाचार गर्न कै लागि उम्मेदवारी दिनेहरु छन् । पैसा बाँड्ेर मत माग्ने पनि देखिएका छन् । आज जसले निर्वाचनको बेला मत किन्ने प्रयास गर्छन् त्यसले भोली जितेपछि अवश्य भ्रष्टाचार गर्ने भन्ने कुरो अब जनताले बुझिसकेका छन् त्यसैले म जित्छुँ भन्नेमा मेरो विश्वास छ ।
– तपाई जिते पछि कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ ? के छ तपाईको योजनाहरु ?
—सब भन्दा पहिले प्रत्येक वडामा हामीले नगर सिपाही(नगर प्रहरी) नियुक्त गर्छौ जसले समाजमा आई परेका समस्याहरु समाधानका लागि २४सौं घण्टा काम गर्नेछन् । १२ बजे राती होस या दिन होस् विरामी ,समाजमा हुने ठूलो सानो झै झगडा लगायतको समाजमा देखिएको विकृति र सबै भन्दा बढी घर–घरमा जुन लागुऔषध सेवन कर्ता बढेका छन् त्यसको नियन्त्रण पनि हामीले प्राथमिकतामा राख्ने छौं । अन्य कुनै पनि काम भन्दा पहिला घर घरमा लागुऔषध दुव्र्यसनीका कारण समाजमा दिनानुदिन अपराधिक क्रियाकलाप बढ्नुका साथै चेली बेटीहरु समेत असुरक्षित हुने गरेको घटनाहरुले प्रष्ट गरिसकेको छ तसर्थ सबभन्दा पहिला लागुऔषध नियन्त्रण गर्ने अनि शिक्षा,स्वास्थ्य लगायतको नागरिकको आधारभूत आवश्यकताहरुको स्तरोन्नति गर्नु त नियमित काम नै हुनेछ । त्यस्तै दीर्घकालीन विकासको लागि हामीले सडक नाला लगायतको विकासका पूर्वाधार विकासका लागि सोंच विकास गरिसकेका छौं ।
– लागुऔषध दुव्र्यसनीको मुद्दा उठाउनु भएको छ अहिले समाजमा खास गरेर युवा वर्ग नराम्ररी कूलतमा फँसेको अवस्था छ यसलाई नियन्त्रण गर्न के–के गर्ने योजना छ ?
—सब भन्दा पहिला गाउंपालिका भित्र एउटा ठूलो सुधार गृह निर्माण गर्नेछुँ र पैसाको खाँचोले गर्दा कूलतमा फँसेकाहरु जो कि सुधार गृहमा राख्न आर्थिक रुपमा असक्षम छन् तिनीहरुलाई त्यहाँ राखेर सुधार गर्ने र त्यस्तै विज्ञहरु संगको सल्लाह सुझावले उनीहरुको आगामी दिनमा समाजमा पुर्नस्थापना मात्र नभइ रोजगारको लागि सीप विकास तालिम दिने योजना छ । उनीहरुलाई समाजमा पुर्नस्थापना गरेर सके सम्म गाउंपालिकालाई नशामुक्ती गर्ने अभियान नै सञ्चालन गर्नेछुँ । मतदाताहरुले मलाई जिताए समाजमा रहेका कुरीतिहरुको अन्त्यका लागि हरदम प्रयासरत रहने मेरो प्रतिवद्धता छ । मैले आज सम्म ल अर्थात लिनु सिकेकै छैन द अर्थात दिनुमा विश्वास गर्ने मान्छे हो र जनताले मलाई रुचाएका पनि छन् । त्यसैले समाजमा रहेका कुरीति ,कुसंगतको अन्त्यका लागि मेरो उम्मेदवारी रहेको म पुनः दोहो¥याउन चाहन्छुँ ।
— अन्य उम्मेदवार र तपाईमा के भिन्नता छ ?
– म मा र अन्य उम्मेदवारहरुमा प्रष्ट भिन्नता छ मैले जहिले पनि यहाँको नागरिकहरुलाई मद्दत गर्ने गरेको छुँ अन्य उम्मेदवारहरुले निर्वाचनको बेलामा मात्रै सहयोग गर्ने गरेका छन् त्यो पनि व्यक्तिगत स्वार्थ पूर्तीका लागि । त्यति मात्र होइन मेरो राजनीतिमा लामो संघर्ष छ । अनुभव छ र जहाँ बसेपनि ईमान्दारीपूर्वक आफ्नो दायित्वको निवर्हन गरेको छुँ ।
— घरदैलोमा हुँदा मतदाताहरुले कस्तो आश्वासन दिइराख्नु भएको छ ?
—मतदाताहरुमा म प्रतिको उत्साह देखेर हर्षित मात्र होइन उत्साहित छुँ र झन जिम्मेवार बन्दै गएको अनुभूति गर्दैछुँ । नागरिकहरुले मलाई सदैव असल र ईमान्दार समाजसेवीको रुपमा माया गर्दै आएका छन् । मेरो उम्मेदवारीले उहाँहरुमा उत्साह देखिएको छ । ईमान्दार व्यक्ति नै जित्नु प¥यो भन्दै अब मतदाताहरुले बुझिसकेको अवस्था छ त्यसैले मलाई थुप्रै समर्थकहरु दिन प्रति दिन बढिरहेको मेरो अनुभव छ ।
—निर्वाचनमा आर्थिक चलखेलको प्रवृति बढेर गएको छ तपाईहरुलाई कस्तो चुनौती छ ?
–हामीले त निर्वाचन आयोगले दिएको मापदण्ड अनुसार नै प्रचार प्रसार गरिरहेका छौं । हामीलाई चुनौती छैन किनकी चुनाव जित्न पैसा भन्दा पनि समर्पित कार्यकर्ताको लगन र मतदाताको स्नेह चाहिन्छ र हामी पनि सोही सिद्धान्तमा चुनाव लड्दैछौं । हो पैसा बाँड्ने कुरो हामी पनि सुनेकै छौं र म मतदाताहरुलाई के भन्न चाहन्छुँ भने एक पैसा छुँदैछुनु हुन्न यदि लिनै पर्ने त्यस्तो बाध्यात्मक परिस्थिति आउँछ भने पैसा लिएर पनि अयोग्यलाई होइन योग्यलाई नै मतदान गर्न सक्नु पर्छ ईमान्दारलाई निर्वाचित गर्नु पर्छ । पैसाको कारण एक पटक ठगिनु भयो भने पाँच वर्ष सम्म झेल्नु पर्ने हुन्छ ।
– शिक्षाको स्तर दिन प्रति दिन खस्किंदै गएको छ यसको लागि के योजना बनाउनु भएको छ ?
— सब भन्दा पहिला नगरपालिका भित्रको सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विज्ञको टोलीले सर्वेक्षण गरेर शिक्षाको स्तर उकास्न हामीले के गर्न सक्छौं त्यसको दीर्घकालीन योजना बनाएर अगाडि बढ्न म प्रतिवद्ध रहेको छुँ । सबै थोकको ज्ञान मलाई होला भन्ने पनि छैन तर मेयर भए पनि मैले सल्लाहकार तथा विज्ञहरुसंग छलफल गरी समग्र जनताको साथ लिएर काम गर्नेछुँ । त्यत्ति मात्र होइन मैले जिते भने मेरो तलब भत्ता समेतको रकम मैले शिक्षा क्षेत्रको विकासको लागि गरिब जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने म वचनवद्ध छुँ ।त्यस्तै विभिन्न संस्थाहरुको सहयोगमा घर घर सम्म कसरी शिक्षालाई पु¥याउन सकिन्छ त्यसमा काम गर्ने हो । त्यस्तै खेलकुद,शिक्षा,लगायतको हरेक क्षेत्रका विज्ञहरुसंग सुझाव संकलन गरी काम गर्नेछुँ ।
–पालिकाको चुनाव दलमुक्त हुनु पर्ने चर्चा चलिरहँदा पालिकाको चुनावमा पनि ठुल ठूला दलहरुले गठबन्धन गरेका छन् तपाईले यसलाई कसरी हेर्नुहुन्छ ?
– लोकतन्त्रमा कुनै दललाई गठबन्धन गर्ने अधिकार छ र उनीहरुले गरेका छन् तर पालिकाको चुनाव भनेकै स्थानीय तहको निर्वाचन हो र यसमा व्यक्तित्वलाई जिताउन सक्नु पर्छ । अन्यथा जनताले गाउँमा खोजेको सिंहदरबार पाउन गाह्रौ छ । तसर्थ मेरो नम्र निवेदन के छ भने मतदाताहरुले यस पटक पक्कै पनि योग्य मात्र होइन सक्षम र ईमान्दार नेतृत्व चयन गर्नेछन् र मलाई साइकल छापमा मत दिएर विजयी गराउनेमा म विश्वस्त छुँ ।
– तपाई उद्योग वाणिज्य संघको नेतृत्वमा पनि हुनुहुन्छ ? सबैला बजारको पुरानै ईतिहास छ तर सात बज्ने बित्तिक्कै जँड्याहाहरुको आतंकले बजार असुरक्षित मात्र होइन यथोचित विकास समेत हुन सकेको छैन यसको लागि के योजना छ तपाईको ?
— हो ,एकदमै पुरानो छ सबैलाई बजार र तपाईले भनेको जस्तै त्यहाँको न त विकास हुन सकेको छ नत्र उचित व्यवस्थापन नै । हो असुरक्षाको गुनासो पनि पटक पटक सुनिएकै छ । यसको लागि नगर प्रहरी बनाएर हामीले यस्ता कुराहरुको समाधान गर्नेछौं । भने बजारको व्यवस्थापनको लागि जसरी भए पनि व्यवस्थित बनाउन र सबैला बजारलाई त्यो क्षेत्रकै उत्कृष्ट बजारको रुपमा विकास गर्ने योजनाहरु छ । विगतमा मैले उद्योग वाणिज्य संघको लागि डेढ कठ्ठा जग्गा दान दिएरै भवन निर्माण गरेँ अहिले त्यो व्यवस्थित हुँदै गएको छ । त्यस्तै मैले मेयरको जिम्मेवारी पाएँ भने बजारको विकासको लागि नगरपालिकाको लगानी मात्र नभइ व्यक्तिगत लगानी गर्नु परेपनि म पछि हट्ने छुइन। तपाईहरु जस्तै संचारकर्मी तथा अन्य सम्बन्धित विज्ञहरुको सल्लाहमा काम गर्ने मेरो प्रतिवद्धता छ ।
– तपाईलाई नै मत किन ?
–आफ्नो बारेमा आफैले बराई गरे भनेर भन्नु होला तर यहाँ एउटा सत्य के छ भने अन्य समाजसेवीहरुले अरु संग चन्दा पैसा मागेर काम गर्छन अनि ठूलो समाजसेवी कहलाउँछन् तर मैले त आफूले कमाएकै पैसाले सेवा गरेको छुँ कहिले पनि एक रुपियाँको लोभ नराखिकन काम गरेको छुँ । ममाथि कुनै आरोप छैन । त्यसैले एक पटक मलाई सबैला नगरवासीले मलाई पक्कै मतदान गरेर अत्यधिक मतले विजयी गराउने छन् भन्ने मेरो विश्वास छ । मलाई एक पटक मौका दिएर हेर्नुस आफ्नो तलब भत्ता समेत नलिईकन मैले सेवा दिनेछुँ । मैले मिहिनेत गरेर जीवनमा थुप्रै धन सम्पत्ति कमाईसकेको छुँ र कमाएको धन सम्पत्ति त मेरो छोराहरुको हुनेछ म मरेर जानेछुँ अनि त्यो सम्पत्तिको के महत्व त्यसैले मैले समाजसेवा गर्दै आएको छुँ मैले यहाँ केही गरेर सार्वजनिक रुपमा नगरवासीका लागि केही गर्ने अवसर पाएँ भने ईमान्दारीपूर्वक काम गरेर नाम कमाएर जाने ईच्छा मात्र हो मेरो ।
—अन्तमा मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
– अन्तमा म मतदाताहरुसंग के आग्रह गर्न चाहन्छु भने उहाँले उम्मेदवारहरुको चरित्र,व्यवहार ,सक्षम,ईमान्दारीबारे सोंचेर मतदान गर्नुस । यदि कुनै प्रकारको दवाव छ भने त्यो सूचना सार्वजनिक गर्नुस भ्रष्टाचार विरुद्ध मात्र होइन समाजिक कुनै पनि कुरीति विरुद्ध हामी लड्नेछौं । मेयरको निर्वाचन पटक–पटक हुने होइन पाँच वर्षमा एक पटक मात्रै हुने हो एक पटकको गल्तीले पाँच वर्ष सम्म समस्या झेल्नु पर्ने भएकोले योग्यलाई जिताएर सबैला नगरपालिकावासीले नगरको समग्र विकासका लागि उपयुक्त मेयर छनोट गर्नुस । अनि मात्र परिवर्तन सम्भव छ ।


