अपडेट 
२०७९ बैशाख २८, बुधबार ०७:३२

यहाँ चुनावको सीमित अर्थ हो । चुनावले अहिलेसम्म निकै विस्तृत अर्थ लिएको छ तर मतदान नै चुनावको वास्तविक अर्थ हो । यहाँ मतदानका लागि उत्प्रेरणा दिने र प्रभाव पार्ने सामग्रीहरु जुन रुपमा सामाजिक सञ्जालमा प्रविष्ट भएको पाइएका छन्, तिनको प्रवृत्तिगत विश्लेषण गर्ने प्रयास गरिएको छ । वास्तवमा जुन चुनाव त होइन तर चुनावभन्दा अलिकति पनि पृथक रहेको देखिँदैन । चुनावको सन्दर्भमा भने अवश्य हो । अहिलको चुनावको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा मुख्य गरी तिन प्रकृतिका प्रस्तुतिहरु देखिएका छन् । एक, आलोचना गर्ने, दुई आलोचना गर्ने र तिन तटस्थ रुपमा चुनाव र लोकतन्त्रको पक्षमा सकारात्मक सन्देश प्रवाह । आलोचना गर्ने प्रवृत्तिलाई पनि राम्रो मान्न सकिन्छ तर आलोचकको नियत कतैबाट प्रभावित नभई सफा हुनु पर्दछ । अहिलेको चुनावमा सामाजिक सञ्जालमा आलोचना निकै कडा रुपमा आएको देखिएको छ । मुख्य गरी पहिले चुनाव जितेका जनप्रतिनिधिहरुको विपक्षमा कडा आलोचना सामाजिक सञ्जालमा देखिएका हुन् । सामाजिक सञ्जालमा आलोचना नै आलोचना आउँदा कतिपय आलोचना त निकै तल्लोस्तरको पनि देखिएका छन् । व्यक्तिगत रुपमा गाली गर्ने वा घृणित आरोपहरु लगाउने काम भएको छ । विगतमा कार्यकारी पदमा रहुन्जेल कहिल्यै पनि आलोचना नगर्नेहरु चुनावको समयमा आलोचना गरेको देख्दा त उही पोस्टमा नै कपितयले अपेक्षाकृत नकारात्मक टिप्पणीहरु पनि गरेको पाएको छ । सामाजिक सञ्जालमा आएका आलोचनाहरुको नियत के हो भने अरुको आलोचना गरेर उनीप्रति नकारात्मक धारणाको विकास गर्नु । जब नकारात्मक धारणाको विकास हुन्छ तब उनीतिरबाट मनोबल वा समर्थन अन्यत्र जाने सम्भावना हुन्छ । यही नियतले अधिकांश आलोचना गरिएका छन् । हुन त आलोचनाले सर्वसाधारणलाई जानकारी गराउन सजिलो हुन्छ र केही हदसम्म आलोचकहरुले कतिपयको आलोचना गर्दा तथ्य र प्रमाणहरु पनि दिएका छन् । तथ्य र प्रमाण दिँदा सम्बन्धित व्यक्तिलाई त्यसबारे प्रश्न गर्ने आधार भएको छ ।

सामाजिक सञ्जालमा तथ्यपूर्ण आलोचना हुँदा कतिपयले सफाइ पनि दिएका छन् । यसरी आलोचनाले पनि लोकतान्त्रिक वातावरण तयार पार्न र पारदर्शिताको पक्षमा केही हदसम्म काम नगरेको होइन तर अधिकांश आलोचनाहरु भने नकारात्मक सन्देश फैलाउनका लागि भएका छन् । यसरी आलोचना गर्नेहरुको नकारात्मक दृष्टिकोण सार्वजनिक हुने एउटा परिदृश्य सामाजिक सञ्जालमा भने पर्याप्त देख्न पाइएको छ । समर्थन गर्नुको पनि हद हुन्छ । जसरी आलोचना गर्नेले आफ्नो हद देखाएको छ, सामाजिक सञ्जालमा चुनावको समयमा कुनै वा आफूले मन पराउने वा आफन्त उम्मेदवार भएको हकमा कतिपय अवस्थामा समर्थनको पनि हद देखिएको छ । अहिलेको चुनावको सन्दर्भमा अनेक किसिमले आफ्नो उम्मेदवारको पक्षमा वातावरण बनाउने प्रयास गरिएको पाइएको छ । कतिपयले त सोझै फलानो जिन्दावाद सम्म भनी लेखेका छन् । यसरी लेख्ने वा कसैको पक्षमा मतदान गर्न, कसैको चुनाव चिन्हको प्रचार गर्ने तथा कसैको फोटो राखेर सामाजिक सञ्जालमा निकै सकारात्मक छवि देखाउने जस्ता काम भएका छन् । यी कामलाई खराब मान्न सकिँदैन तर आचार संहिताले नै रोकेको अवस्थामा कसरी राम्रो भन्ने ? फेरि सामाजिक सञ्जालमा कुन पार्टीको पल्ला भारी, कुन उम्मेदवारको पक्षमा जनमत भनेर प्रश्न सोध्ने गरेको पाइएको छ । यसै गरी आफूले मन पराउने उम्मेदवारको वा पार्टीको नाम लेखेर वा चुनाव चिन्हको नाम लेखेर कसको पक्षमा बढी जनमत छ भनेर जाँच्ने नाममा आफ्नो पार्टी वा उम्मेदवारको पक्षमा माहौल बनाउने प्रयास गरिएको देखिएको छ । यसरी उम्मेदवारको नाम वा पार्टीृको नाम पोस्ट गर्दा सबैभन्दा पहिले वा माथि आप्mनो समर्थन रहेको दल वा उम्मेदवारको नाम राखेर गरिएको पाइएको छ । समर्थनमा पोस्ट गर्नेहरुमध्य कतिपय यस्ता पनि छन् कि अवगुणलाई पनि गुण देखेका छन् र जुन पक्षमा सबैले आलोचना गरिरहेका छन्, सोही पक्षमा समर्थन पनि गरेका छन् । देख्दादेख्दै र बुझ् दाबुझ्दैको नकारात्मकतालाई सकारात्मकता बनाउने प्रयास गरिएका छन् । कतिपयले त आफ्नो धर्म नै सोझै समर्थन गर्नुलाई बनाइसकेका छन् । लोकतन्त्रमा चुनाव सबैभन्दा महत्वपूर्ण मानिन्छ । लोकतन्त्रको आधार नै चुनावलाई मान्ने गरिएको छ ।

यस अर्थमा स्थानीय तहको चुनाव भन्नु चाहिँ स्थानीय लोकतन्त्रको आधार पनि हो । लोकतन्त्रप्रति आस्था राख्नेहरुका लागि चुनाव एउटा आस्थाको केन्द्र हुने गरेको छ । लोकतन्त्रको सुन्दर गहना वा आधारको रुपमा स्थानीय तहको चुनाव भइरहँदा यसप्रति सकारात्मक सन्देश प्रवाह गरिनुलाई निकै उच्च मान्न सकिन्छ । अहिलेको चुनावलाई लक्ष्यित गरी धेरैले सकारात्मक सन्देश प्रवाह गर्ने सामग्रीहरु प्रस्तुत गरेका छन् । लोकतन्त्रमा कोही उम्मेदवार राम्रो वा नराम्रो हुन सक्छ । कुनै दलको तत्कालीन विचार वा कार्यक्रम वा घोषणापत्र पनि चित्त बुझ्न नसकेको हुन सक्छ तर यत्तिले मात्रै लोकतन्त्रको बारेमा नराम्रो धारणा बनाउनु हुँदैन । चुनावप्रति नराम्रो धारणा बनाउनु हुँदैन भन्ने भावका पोस्टहरुलाई साँचो अर्थमा राम्रो मान्नु पर्दछ । चुनावमा सम्भव भएसम्म सबैले भाग लिनु पर्छ । चुनावलाई सफल बनाउन आफ्नो भूमिकाको खोजी गर्नु पर्छ । जनतामा चुनावप्रति सकारात्मक धारणाको विस्तार गर्नु पर्छ । जनताले चुनावको सही अर्थमा आफ्नो प्रतिनिधि छनौट गर्ने पर्वका रुपमा लिन सक्ने वातावरण बनाउनु पनि पर्छ । मतदातालाई सचेत बनाउनु र मतदातालाई अभाव, प्रभाव तथा दबाबबाट होइन कि स्वेच्छाले मतदान गर्ने अवसर पनि प्रदान गर्नुपर्ने हुन्छ । स्वेच्छाले मतदान गर्ने वाचावरण बन्दा जनतामा लोकतन्त्रप्रति आस्था हुने हुन्छ । जो प्रतिनिधि चुनिएर आए पनि तिनप्रति सहानुभूति हुन्छ । जो प्रतिनिधि चुनिए पनि सबै नागरिकलाई आफ् नो मान्ने धारणाको विकास हुन्छ । यसरी लोकतन्त्रको बारेमा सकारात्मक सन्देश प्रवाह गर्नेहरुले चुनावलाई सकारात्मक र भयरहित वातावरणमा सफल बनाउन सहयोग गरेका हुन् जस्तो मलाई लागेको छ ।निष्पक्ष, भयरहित र पूर्णतया स्वच्छ वातावरणमा चुनाव हुनपर्ने पक्षमा आम बुद्धिजीवीहरु रहेका छन् । यस चुनावलाई कतिपयले जनमत संग्रह पनि भनेका छन् । यसभन्दा पहिले जितेका व्यक्तिहरु अधिकांश आफूलाई जनतामा प्रस्तुत गर्दै भनेका छन् कि आफूले सुरुआत गरेको अधुरो कामलाई पुरा गर्न पुनः मौका पाउनु पर्छ । यही सन्दर्भमा बौद्धिक व्यक्तिहरु के तर्क दिन्छन् भने यो पुरानो र नयाँ बिचको एक किसिमले जनमत संग्रह हो । पुरानोलाई अनुमोदन गर्नु पर्छ वा नयाँलाई मौका दिनु पर्छ भन्ने दुई पक्ष रहेका छन् ।

जितेकाहरुले भनिरहेका छन् कि राम्रो काम गरेको छु र अरुले भनिरहेका छन् कि केही काम नै भएको छैन । एउटा तर्क वा तथ्य हो भने अर्को आरोप । यही तर्क र आरोप बिच जनमत संग्रह हुँदैछ । वास्तवमा जनताको नजरमा विकास भएको छ कि छैन । यदि जनताको नजरमा विकास भएको हो भने निसन्देह अनुमोदन हुन्छ र जनताको नजरमा विकास भएको छैन भने निसन्देह नयाँ अनुहार आउँछ । जनताको विश्वासको परीक्षणको अन्तिम समयमा दलहरु र उम्मेदवारहरुले आफूलाई प्रस्तुत गरिसकेका छन् । जनताले पनि अभिमतको तयारी गरिसकेका छन् । अब अन्तिममा आफ्नो मताधिकारलाई प्रयोग गर्नको लागि समय पर्खिरहेका छन् । मताधिकारको प्रयोगले आफूलाई तृप्त पार्दछन् । वास्तवमा मतदाता क्षणिक तृप्ति हासिल गर्दछन् कि दीर्घकालीन ? यो समयले बताउने कुरो हो । तत्काल त मतदाताहरुले निसन्देह प्राप्त गर्ने मताधिकार प्रयोगको सुख र सन्तोष महत्वपूर्ण हुन्छ । यस अर्थमा मतदाताले आफ्नो अधिकार उपयोगको सुख प्राप्त गर्न पाउने प्रतिक्षामा छन् । र अन्त्यमा, चुनावको पक्षमा वा चुनावको विपक्षमा वा मतदाताको विपक्षमा वा मतदाताको पक्षमा सामाजिक सञ्जालमा आफ्नो अभिमत जाहेर गर्ने दिन अब समाप्त भइसकेको छ । चुनावलाई केन्द्रित गरेर जसरी पनि विषयवस्तुहरु राखिएका छन्, ती सबैको अन्तर्य चुनावलाई सफल बनाउनु नै हो र रुपमा चाहिँ समर्थन वा विरोध हुन सक्छ ।

जब चुनावको लागि मौन अवधि सुरु भइसकेको छ तब अब सबैले यसको परिपालन गर्दै सुन्दर, शान्त, मर्यादित वातावरणमा आफूलाई सबैभन्दा सभ्य बनाउँदै आफ्नो सभ्यताको परिचय दिँदै लोकतन्त्रको यो एउटा महापर्वमा कसरी आफूलाई सहभागी बनाउन सकिन्छ भनेर शान्त रहने समय हो । धेरै दिनदेखिको सबैको प्रतीक्षा अब समाप्त भइसकेको छ र अब शान्त रहेर आफूलाई र आफ् नो घरपरिवारलाई चुनावमा मतदान गराउन तयारी गराउनु पर्ने छ । केही सानातिना अन्य तयारी गर्नुपर्ने बाँकी रहेको भए तिनलाई पूरा गरेर निर्वाचनमा भाग लिनको लागि सबैलाई प्रोत्साहित गर्न सकिन्छ । अझ गाउँ टोल र छिमेकमा वा परिवारमा नै कोही कुनै कारणले अशक्त छन् भने तिनलाई पनि मनोवैज्ञानिक शान्ति, खुसी दिन तथा देशको एउटा मतको उपयोग गर्ने वातावरण मिलाउन सकिन्छ । यद्यपि सामाजिक सञ्जालको धेरै दुरुपयोग भएको आरोप पनि लागेको छ । यसलाई जसले आफ्नो बौद्धिकता जति सकेको हो, त्यसै अनुसार उपयोग गरेको भन्ने आरोप पनि रहेको छ । जे होस्, नेपालको इतिहासमा सामाजिक सञ्जालको चुनावको लागि परिचालन यति धेरै कहिल्यै पनि भएको थिएन ।

Comment


Related News

Latest News

Trending News