केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टीको नाममा अर्को छुट्टै पार्टी बनिसकेकोले भ्रममा नपर्न एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।
अहिले पनि मधेशका जनताहरुमा पहिलेकै एमाले पार्टी र एकीकृत समाजवादी एउटै पार्टी भएको भ्रम रहेकोले यस्तो भ्रम मनबाट निकालेर फाल्न उनले आग्रह गरे । आसन्न स्थानीय तहको निर्वाचनको क्रममा मंगलबार मलंगवा नगरपालिका–६ खुटौनामा पार्टीले आयोजना गरेको चुनावी सभामा पूर्व प्रधानमन्त्री नेपालले बताए । अब ओलीले नेतृत्व गरेको नेकपाको सुर्यमा ग्रहण लागेर त्यसमा कलम उदाइसकेकोले कुनै पनि भ्रममा नपरी कलम छापमै मतदान गर्न राष्ट्रिय अध्यक्ष नेपालले चुनावी सभामा उपस्थित स्थानीय जनताहरु सँग आग्रह गरे । उनले रौतहटको गाउं गाउंमा कलम छापकै झण्डा फहराइरहेको र विजय उत्सव पनि मनाउन सुरु भइसकेकोले छिमेकी जिल्ला सर्लाहीमा पनि कलम छापकै झण्डा फहराउने दाबी गरे । नेता नेपालले सात कलम सात छाप नारासहित गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य रोजगारी र सुरक्षा यी सात महत्वपूर्ण एजेण्डाहरु लिएर चुनावी मैदानमा उत्रेका यस पार्टीका सबै प्रत्याशीहरुलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् । यसै कार्यक्रममा मलंगवा नगर कमिटीको अध्यक्ष तथा मेयर प्रत्याशी देवेन्द्र यादवले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई एउटा तानाशाह साशकको संज्ञा दिए । त्यहि तानाशाह प्रवृतिकै कारण ओलीसंग छुट्टिएर नेता नेपालले नयाँ पार्टी गठन गरेको उनले बताए ।
मधेशका जनताहरुलाई मधेशको विकास र मधेशीको अधिकारको नाममा ओली र यहाँका मधेशवादी दलहरुले पटक–पटक ठग्दै आएकोले सबैको साझा पार्टी एकीकृत समाजवादी पार्टीले अब यस्तो हुन नदिने रायले दाबी गरे ।

