राजविराजबाट तीन दिन अघि चोरी भएको एउटा बस प्रहरीले पत्ता लगाई मंगलबार सवारी धनीलाई बुझाएको छ ।
राजविराज–८का प्रदीप कुमार जैनको घर अगाडि पार्किंग गरी राखिएको ना ५ ख ४६८५ नम्बरको लक्ष्मी गणेश ट्राभल्स नामक बस शनिबार राति चोरी भएको थियो । जैनले बस चोरी भएको भोलिपल्टै बिहान आइतबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागि निवेदन दिएका थिए । उनले बस चोरी हुँदाका क्षणको सिसी क्यामेराको फुटेज पनि प्रहरीलाई उपलब्ध गराउँदै खोज तलासका लागि आग्रह गरेका थिए । लगत्तै प्रहरीले सिसी क्यामेराको पुृmटेजमा आँखा घुमाउँदै चोरी भएको बसको सम्पूर्ण विवरण मुलुकभरि तथा सीमाक्षेत्रका भारतीय प्रहरी इकाइसमेत फोटोसहितको विवरण पठाइ खोज तलास व्यापक बनाएको थियो । यसक्रममा उक्त बस राजविराजबाट करिब २ सय किलोमिटर टाढा महोत्तरी जिल्लाको लक्ष्मीनियाँ गाउँबाट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
‘खोज तलास जारी राखेकै बेला सोमबार मध्य राति लक्ष्मीनीया गाउँमा एउटा विद्युतको पोलमा उक्त बस ठोकिएको र चोरी गरी लाने व्यक्ति बस छाडेर भागेको लक्ष्मीनिया प्रहरी चौकीबाट खबर प्राप्त भयो, डिएसपी काफ्लेले भने ‘तत्कालै यहाँबाट प्रहरी टोलीसहित सवारी धनीलाई पनि त्यसतर्फ पठाउँदा चोरी भएको बस त्यही भएको पुष्टि भयो ।’ सिसी क्यामेराको फुटेजमा आँखा घुमाउदै सोको विवरणसहित चारै तीर खबर गरी निगरानी कडा पारिएपछि चोरी भएको बस पत्ता लगाउन सफलता मिलेको उनको भनाई छ । उनले चोरी गरी लाने व्यक्तिको खोजी कार्य जारी रहेको समेत बताए । चोरी भएको बस फेला परेपछि निकै खुशी देखिएका सवारी धनी जैनले प्रहरीको सक्रियता प्रशंसनीय रहेको बताए ।
please subscribe our official youtube channel below. and support us.
https://www.youtube.com/watch?v=UyvM6lebx7g&t=1s

