२०७९ बैशाख ३०, शुक्रबार ०७:२७

सम्पूर्ण तयाारी पूरा भइ आज देशभर एकै पटक स्थानीय तहको निर्वाचन हुँदैछ । सोका लागि निर्वाचन आयोगले बिहान ७ देखि साँझ ५ बजेसम्म देशभरै मतदान गर्न समय निर्धारण गरेको छ। निर्वाचन सम्पन्न गराउनका लागि आयोगले १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र कायम गरेको छ।

आयोगले जेठ ५ गते भित्र मतगणना सक्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार मतदान सकिएसँगै बुथहरूबाट मतपेटिका संकलन गरी मतगणना सुरू हुनेछ । मतगणना गर्ने सबै अधिकार निर्वाचन अधिकृत कार्यालयलाई दिइएको छ । आयोगले मतगणना छिटोभन्दा छिटो सकाउने व्यवस्थापन गर्न निर्वाचन अधिकृतलाई आवश्यकताअनुसार टोली गठन गर्न पाउने व्यवस्था गरेको छ । मतगणना गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन अधिकृतको भएकाले यसको सबै व्यवस्थापन त्यहींबाट हुने आयोगले जनाएको छ । मतगणना गर्न विशेषगरी ६ वटा महानगरपालिकामा बढी समय लाग्छ । महानगरपालिका,उपमहानगरपालिकाहरूमा अरूको तुलनामा मतगणना गर्न धेरै समय लाग्ने अनुमान भए पनि यसपालि छिटो एक सातामै सक्ने गरी तयारी गर्न निर्देशन दिएको छ । ‘मतगणनाको लागि निर्वाचन अधिकृतहरूलाई एउटै मात्र निर्देशन छ। छिटोभन्दा छिटो मत गणना गरी सक्नु,’ प्रवक्ता पौडेलले भने, ‘विगतमा १२–१५ दिन नै लागेको अनुभव छ। त्यो नहोस् कम्तीमा पनि तपाईहरूले एक हप्ता भित्र टुंग्याउनु भन्ने हो।’ यसअघि २०७४ मा पहिलो चरणको स्थानीय तह निर्वाचनमा वैशाख ३१ गते भएको थियो। काठमाडौंको मतगणना भने जेठ १४ गतेमात्रै सकिएको थियो।

आयोगले स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिका, २०७८ समेत जारी गरेको छ। निर्देशिकाको धारा ४ मा मतगणनाको लागि टोली गठन गर्ने व्यवस्था छ । त्यसमा भनिएको छ, ‘निर्वाचन अधिकृतको मतगणना कार्यको लागि प्रति सिफ्टको लागि २२ लहर सम्मको मतपत्र दुई हजार थान, २२ देखि ३० हजारसम्मको मतपत्र एक हजार सात सय ५० थान, ३१ देखि ४० लहरसम्मको मतपत्र एक हजार पाँच सय थान र ४० भन्दा बढीको मतपत्र एक हजार दुई सय २५ थान गणना गर्ने गरी टोली गठन गर्नुपर्नेछ।’ काठमाडौंको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृह भवनमै गर्ने तयारी छ। शुक्रबार मतदान सकिएपछि मतपेटिका आएसँगै गणना गर्ने तयारी गरिएको छ। यस्तै भरतपुर महानगरपालिकाको मतगणना भने निर्वाचन आयोगले दिएको समयअनुसार नै सकाउने गरी तयारी रहेको छ । जेठ ५ गतेभित्र नै मतपरिणाम घोषणा गर्ने लक्ष्य राखिएको छ । ललितपुर महानगरपालिकाको पनि छिटै सक्ने गरी तयारी गरिएको छ । मतगणना पर्सिबाट मात्रै गन्ने तयारी रहेको बताइएको छ । विराटनगर महानगरपालिकाको मत पनि पर्सिबाट मात्रै गन्न सकिने मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिएका छन् । वीरगन्ज महानगरपालिकाका छिटो मतगणना सक्न कठिन हुने बताइएको छ । पोखरा महानगरपालिकाको मतगणना लम्बिने अनुमान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News