जनकपुरधामसहित देशभर मतदान सुरु भएको छ ।
देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि मतदान सुरु भएको छ । अहिले बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको घुइँचो लागेको छ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको सङ्ख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको सङ्ख्या भने ८७ लाख ४१ हजार ५३० छ ।
मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि मतदान हुन लागेको हो । चुनावमा कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवारको सङ्ख्या ८९ हजार ३१३ र महिला उम्मेदवारको सङ्ख्या ५५ हजार ६९८ छ । अहिलेसम्म ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।
पालिका चुनावका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएकोमा ६५ दलले मनोनयन दर्ता गराएका छन् भने १४ दलले एउटा पनि मनोनयन दर्ता गराएका छैनन् ।
प्रदेश-१ मा एक महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका तथा ८८ गाउँपालिका गरी जम्मा १३७ पालिका रहेका छन् । १३७ पालिकामा एक हजार १५७ वडा रहेका छन् । ३३ लाख ४७ हजार ३८४ मतदाता रहेको प्रदेश नं १ मा एक हजार ८७७ मतदान स्थल रहेका छन् भने ४ हजार ५१ कुल मतदान केन्द्र रहेका छन् ।
मधेस प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिका गरी कुल एक सय ३६ पालिका रहेका छन् । कुल वडा एक हजार २७१ वडा रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार एक सय ७० मतदाता रहेको मधेस प्रदेशमा २ हजार १६३ मतदान स्थल छन् भने ४ हजार १ सय ८९ कतदान केन्द्र रहेका छन् ।
वाग्मती प्रदेशमा एक सय १९ पालिका रहेकोमा ३ महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका तथा ७४ गाउँपालिका रहेका छन् । जसमा १ हजार १२१ वडा छन् । कुल मतदाता ३४ लाख १२ हजार ८६९ मतदाता रहेको वाग्मती प्रदेशमा १ हजार ७९२ मतदान केन्द्रमा ४ हजार ९५ मतदान केन्द्र रहेका छन् ।
गण्डकी प्रदेशमा ८५ पालिका रहेकोमा एक महानगरपालिका, २६ नगरपालिका, तथा ५८ गाउँपालिका रहेका छन् । कुल ७५९ वडा रहेको गण्डकी प्रदेशमा मतदाताको सङ्ख्या भने १७ लाख ८९ हजार ४११ रहेको छ । जसमा १ हजार २५३ मतदान स्थल छ भने २ हजार ३ सय मतदान केन्द्र रहेका छन् ।
लुम्बिनी प्रदेशमा १०९ पालिका रहेका छन् । जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका तथा ७३ गाउँपालिका रहेका छन् । त्यसमा ९८३ वडाहरु छन् भने कुल मतदाता ३२ लाख १९ हजार ४५७ छन् । १ हजार ६२९ मतदान स्थल रहेको लुम्बिनीमा ३ हजार ८ सय ३२ मतदान केन्द्र रहेका छन् ।
७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा २५ नगरपालिका, ५४ गाउँपालिका रहेका छन् । जसमा ७ सय १८ वडा छन् । कुल मतदाता भने १० लाख १ हजार २८२ जना रहेका छन् । ९०७ मतदान स्थल रहेको कर्णालीमा १ हजार ३८५ मतदान स्थल रहेका छन् ।
सुदूरपश्चिम प्रदेशमा कुल ८८ पालिका रहेका छन् । जसमा एक उपमहानगरपालिका, ३३ नगरपालिका तथा ५४ गाउँपालिका छन् । त्यसमा ७३४ वडा छन् भने कुल मतदाता १६ लाख ३२ हजार १५० जना छन् भने १ हजार १३५ मतदान स्थल छन् भने २ हजार १०३ मतदान केन्द्र रहेका छन् ।
यस पटक कुल १० हजार ७५६ मतदान स्थल रहेका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । चुनावमा खटिने कर्मचारी एक लाख ९ हजार ८८ छन् भने स्वयम्सेवकको सङ्ख्या ६५ हजार ८६५ रहेको छ । यस पटक चुनावमा ५ हजार पर्यवेक्षक खटिएका छन् ।
मतदाताले एक–एक मेयर या अध्यक्ष, उपमेयर या उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्ने हुन्छ । त्यसैले हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्ने हुन्छ ।
परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अरु परिचयपत्रका आधारमा मतदान गर्न पाइने तर मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न नपाइने आयोगले जनाएको छ ।
आज बेलुका ५ बजेसम्म अत्यावश्यक र पास भएका बोहक गाडी चलाउन गाडी चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
मतदान केन्द्रहरुमा मतदाता, सुरक्षाकर्मी, उम्मेदवार वा उम्मेदवारको एक जना प्रतिनिधि, निर्वाचन आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, निर्वाचन आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यहरु जान पाइन्छ । मतदान केन्द्रमा जाँदा जाँडरक्सी खाएर जान पाइँदैन ।
यस्तै मतदान केन्द्रमा जाँदा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात र कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनाउने कुनै वस्तु लैजान नपाउने निर्वाचन आयोगले जनाएको छ ।