रौतहट जिल्लाको १२ वटा स्थानीय तहमा मत गणना सुरु भएको छ । ३० गते सम्पन्न भएको स्थानीय तहको सदस्यको मतदानको क्रममा भएको विवादको कारण रद भएको ६ वटा स्थानीय तहको मत गणना स्थगित गरिएको छ ।
मत गणना स्थगित भएको स्थानीय तहहरु गरुडा नगरपालिका , फतुवा विजयपुर नगरपालिका , बौधीमाइ नगरपालिका , यमुनामाइ गाउँपालिका , गढि़माइ नगरपालिका र देवाही गोनाही नगरपालिका रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् । गौर नगरपालिका , राजदेवी नगरपालिका , इशनाथ नगरपालिका , राजपुर नगरपालिका , परोहा नगरपालिका , मौलापुर नगरपालिका , गुजारा नगरपालिका , चन्द्रपुर नगरपालिका , वृन्दावन नगरपालिका , माधव नारायण नगरपालिका , दुर्गा भगवती गाउँपालिकामा मत गणना जारी छ । रौतहटमा सत्ता गठवन्धन दलको अग्रता देखिएको छ । नेकपा एमाले , नेपाली कांग्रेस , नेकपा एस , जनता समाजवादी पार्टी , नेकपा माओवादी केन्द्रका उम्मेदवार अग्र स्थानमा देखिएका छन् । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अग्र स्थानमा रहेको छ भने वडा नम्बर १ मा लोसपाका तर्फबाट विगु साह बानिया वडा नम्बर ८ मा नेकपा एमालेका उम्मेदवार सेख खुसबुदीन वडा अध्यक्षमा विजयी भएका छन् ।
गौर नगरपालिकामा नेकपा एस का उम्मेदवार शम्भु साह कानु अग्र स्थानमा रहेका छन् भने लोसपाका मेयर उम्मेदवार अजय कुमार गुप्ता दोस्रो स्थानमा रहेका हुन् । गौर नगर पालिका– १ मा नेकपा एसका वडा अध्यक्ष लालबाबु चौधरी ८ सय ३२ , २ मा वडा अध्यक्ष विनोद साह कलवार ५ सय ९३ मत ल्याएर प्यानल सहित विजयी भएका छन् । राजदेवी नगरपालिका– १ मा नेकपा एसका उम्मेदवार रामनरेश यादव निर्वाचित भएका हुन् । मौलापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रका जयनाथ प्रसाद कुशवाहा , वडा नम्बर २ मा नेकपा एमालेका श्री भगवान पटेल निर्वाचित भएका छन् । चन्द्रपुर नगरपालिका– १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष बलराम रावत , वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष बुद्ध लामा निर्वाचित भएका हुन् ।
दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भु सिंह अग्रता कायम राखेको छ भने परोहा नगरपालिकामा नेपाली कांग्रेसका शेख वकिल अग्र स्थानमा रहेको छ ।